बागलुङको बेलढुङ्गामा पर्यटकको घुइँचो, चल्न थाले होम-स्टे

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । बेलढुङ्गा बागलुङ र म्याग्दीको सिमानामा पर्छ । उच्च पहाडी क्षेत्रमा रहेको बेलढुङ्गा सिमाना मात्रै नभएर पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । स्वच्छ हावापानी, मनोरम वातावरण र यहाँबाट देखिने अनगिन्ती हिमालले धेरैलाई आकर्षित गरि रहेको छ । बाह्रै महिना बेलुङ्गामा पर्यटक आए पनि यो सिजनमा अझ बढी आउने गरेका छन् । बागलुङको काठेखोला गाउँपालिका-३ धम्जा ओखलेको र म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको शिरमा रहेको यस क्षेत्रमा मोटरबाटो तथा पदमार्गमार्फत सहजै पुग्न सकिने हुँदा पर्यटकको भिडनै लाग्ने गरेको छ ।

एक दशक अगाडिसम्म सुनसान रहेको बेलढुङ्गा अहिले चर्चित बन्दै गएको छ । हरेक वर्ष हजारौँ पर्यटक पुग्ने यस ठाउँमा काठेखोला गाउँपालिकाले पनि वर्षेनी लगानी गर्दै आएको छ । पर्यटन पूर्वाधार निर्माणपछि पर्यटक बढ्ने क्रम जारी छ । समुद्री सतहदेखि दुई हजार ६ सय १४ मिटर उचाइको बेलढुङ्गामा दसैँ र तिहार बीचमा बढी पर्यटक आउने गरेको पाइन्छ । विद्यार्थी, प्राध्यापक तथा अन्य सरकारी तथा गैरसरकारी संस्थामा काम गर्ने कर्मचारी बढी आउने गरेको स्थानीयको भनाइ छ । मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वर धाम र बागलुङको कालिका मन्दिर, पञ्चकोट तथा सालिग्राम संग्राहलय नजिकै रहेको हुँदा पर्यटक दैनिय बेलढुङ्गा पुग्ने गरेका छन् । आधा दशक अगाडिसम्म यहाँ पुग्ने सडक सहज नहुँदा यो ठाउँमा ओझेलमा थियो ।

जब सडक संजालले बेलढुङ्गा जोडिँदै गयो, तब धेरैको रोजाइमा यो ठाउँ पर्‍यो । हिउँदमा हिउँ खेल्न र गर्मीमा जाडो छल्न जानेहरुले बेलढुङ्गामा चहलपहल निकै हुने गर्छ । अहिले पदमार्ग र साइकल लेन निर्माणपछि हाइकिङ गर्नेको संख्य अझ बढ्दो छ । बेलढुङ्गा नजिकै ओखले गाउँमा सामुदायिक होम-स्टे छ । जसले गर्दा यहाँ पुग्ने पर्यटकका लागि खाना, बस्न र बासको व्यवस्थापन गर्ने गरेको छ । हरेक दिन पर्यटक बेलढुङ्गा आउने गरे पनि असोज अन्तिम सातादेखि भीडनै लाग्ने गरेको स्थानीय गोपाल श्रीसले बताउनुभयो । पछिल्लो केही दिन यता दैनिक २०० बढी पर्यटक बेलढुङ्गा आउने गरेको उहाँको भनाइ छ । अधिकांश पर्यटक दिउसो आउने र साँझ फर्कने हुँदा ओखले गाउँमा रहेको सामुदायिक घरबास (होम-स्टे) मा कम पाहुना मात्रै बस्ने गरेको उहाँ बताउनुहुन्छ ।

“पहिले-पहिले बेलढुङ्गामा यस्तो चहलपहल हुँदैनथ्यो, अहिले त विकास भएर पनि होला, प्रचार पनि धेरै भएर होला, घुम्न आउनेको संख्या प्रत्येक वर्ष बढि राखेको छ, यस वर्ष निकै बढी आएको पाएका छौँ” श्रीसले भन्नुभयो - “अहिले यो ठाउँ निकै व्यवस्थित पनि भएको छ, बागलुङ र म्याग्दी दुई तिरबाट मान्छेहरु आउने गर्छन्, दुई जिल्लाबाहेक पोखरा, काठमाडौंलगायतका ठाउँबाट पनि यहाँ घुन् आउँछन्, यो ठाउँ निकै सुन्दर रहेको हुँदा कहिलेकाहीँ विदेशी पर्यटक पनि फाट्ट फुट् आउने गरेका छन्, केही दिनभयो दैनिक दुई सय बढी पर्यटक यहाँ आइरहेका छन् ।”

स्थानीय घरबास संचालक मायाकुमारी छन्त्याल श्रीसले दसैँदेखि पाहुनको चाप पनि बढ्न थालेको बताउनुभयो । पाहुनलाई स्थानीय उत्पादन कोदोको सेलरोटी, लोकल कुखुराको मासु, आलु, ढिलोलगायतका परिकार खुवाउने गरेको श्रीसको भनाइ छ । घरबास संचालनमा आएपछि बेल ढुङ्गा आउने पर्यटकलाई निकै सहज भएको उहाँ बताउनुहुन्छ । पछिल्लो केही दिन यता पाहुन नभएको रातनै नभएको श्रीसको भनाइ छ ।

उहाँ भन्नुहुन्छ-“बेलढुङ्गामा पर्यटक बढेपछि हाम्रो होम-स्टे पनि राम्रो चलेको छ, पहिले कम मात्रै पर्यटक आउँदा हामीहरुलाई होम-स्टे चलाउन गाह्रो थियो, यहाँ आउने पाहुनाले स्थानीय उत्पादनका परिकारको माग गर्नु हुन्छ, यहाँ उपलब्ध परिकार उहाँहरुलाई दिने गरेका छौँ, दिनदिनै पर्यटक आउने क्रम जारी छ, हरके दिन पर्यटकको संख्या बढ्दै गएको छ ।”

दसैँ तिहारका लागि क्याम्पस बिदा भएको हुँदा बेलढुङ्गा घुम्न आएको पर्वतका निशान कार्कीले बताउनुभयो । सामाजिक सञ्जालमा बेलढुङ्गाको फोटो र भिडियोहरु निकै भइरल भएको हुँदा १३ जनाको समूह बनाएर यहाँ घुम्न आएको उहाँले बताउनुभयो । बेलढुङ्गादेखि सूर्योदय पनि देखिने हुँदा एक दिन बागलुङ र अर्को दिन म्याग्दीमा बास बसेर अवलोकन गर्ने कार्कीको भनाइ छ । बेलढुङ्गाको अवलोकनपछि ढोरपाटन पुग्ने योजना रहेको उहाँ बताउनुहुन्छ ।

“बिदाको समय घुमौँ भनेर एक हप्ताको यात्रा तय गरेका छौँ, यसपाली बागलुङ, म्याग्दी र पर्वतका पर्यटकीय ठाउँ घुमौँ भन्ने छ, दोस्रो दिन बेलढुङ्गा पुगेकोको निकै रमाइलो रहेछ, हिमालहरु नजिकैबाट देख्न पाइँदो रैछ, वातावरण पनि शान्त,” कार्कीले भन्नुभयो-“पहिले पनि यहाँ आउने चाहना थियो तर समय नमिलेको हुँदा आउन सकेको थिएन, यसपाली चैँ मज्जाले घुमियो, ठाउँ हेरियो ।”

बेलढुङ्गाबाट, धौलागिरी, माछापुच्छ्रे अनगिन्ती हिमश्रृङ्खला आँखै अगाडि देख्न सकिन्छ । बागलुङ, पर्वत, कास्की, गुल्मीलगायतका ठाउँहरु पनि सहज रुपमा देख्न सकिन्छ । काठेखोला गाउँपालिकाले पनि बेलढुङ्गाको प्रवर्द्धन गर्न थालि रहेको छ । गत वर्ष विनियोजन गरेको दुई लाख ५९ हजार रुपैयाँबाट बेलढुङ्गालाई फराकिलो र व्यवस्थित बनाइएको छ भने गण्डकी प्रदेश सरकारको २० लाख बजेटमा देउराली डाँडादेखि यहाँसम्म जोड्ने २६० मिटर स्लेट ढुङ्गा बिच्छ्याएर पदमार्ग निर्माण गरिएको छ । बागलुङ नगरपालिका-६ पञ्चकोट तर्फ २५० मिटर साइकल ल्याण्डसमेत बनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?