संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको भ्रमण फलदायी बनाउन कस्सियो लुम्बिनी

महासचिवसंगै प्रधानमन्त्री प्रचन्ड पनि आउने

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 7 mins

रुपन्देही । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस भोली मंगलबार बिहान लुम्बिनी आउने कार्यक्रम तय भएको छ । महासचिव गुटेरेस मंगलबार बिहान साढे ८ बजे लुम्बिनी आईपुग्ने कार्यक्रम तय भएको लुम्बिनी बिकास कोषले जनाएको छ ।

लुम्बिनी विकास कोषले महासचिव गुटेरेस हिड्ने सडकलाई कालोपत्रे गर्नेदेखि सरसफाईलाई विशेष ध्यान दिएको छ । विश्वमा शान्ति स्थापनामा विशेष भूमिका खेल्दै आएको विश्व संस्था संयुक्त राष्ट्र संघका महासचिवले शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएपछि लुम्बिनी क्षेत्रका बासिन्दाहरु पनि उत्साहित बनेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित लुम्बिनी आउन लागेका महासचिव गुटेरेसको स्वागतका लागि सरसफाई, सौन्दर्यीकरणदेखि सुरक्षासम्मको तयारी थालिएको हो । महासचिव गुटेरेसको भ्रमणलाई स्मरणीय बनाउन लुम्बिनी विकास कोषसहित रुपन्देहीका सुरक्षा निकाय, स्थानीय प्रशासन तथा स्थानीय तहका पदाधिकारीहरुले आपसी समन्वयमा तयारी गरिरहेका छन् । महासचिव गुटेरेसको स्वागतका लागि सरसफाईदेखि सुरक्षासम्मको तयारी गरिएको छ ।

लुम्बिनी विकास कोषले महासचिव गुटेरेसले प्रयोग गर्ने सडकलाई कालोपत्रे गरिरहेको छ । लुम्बिनीको ४ नम्बर गेटदेखि शान्तिदीपसम्म ६ सय ५० मिटर बाटो कालोपत्र गरिएको छ भने अन्य बाटोका खाल्टाखुल्टी पुरिएको छ ।

महासचिव गुटेरेसको भ्रमणलाई सफल बनाउन सम्पूर्ण तयारी गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले जानकारी दिनुभयो । उपाध्यक्ष लामाले महासचिव गुटेरेसको स्वागत र सम्मानमा कुनै कमी नआउने बताउनु भयो । ‘संयुक्त राष्ट्र संघका महासचिव नियुक्त भएपछि सबै महासचिव लुम्बिनी आउने प्रचलन रहदै आएको छ, तर नेपालका प्रधानमन्त्रीले लुम्बिनीमा आएर महासचिवलाई स्वागत गर्न लागेको यो पहिलो हो । त्यसैले पनि यो भ्रमणलाई बिशेष महत्व दिएर हामीले हाम्रो तर्फबाट सबै तयारी गरिरहेका छौं, ’उपाध्यक्ष लामाले भन्नु भयो।

महासचिवको सुरक्षका लागि सुरक्षा समितिको बैठक बसेर आवश्यक सुरक्षा रणनीतिहरु तय गरिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका जिल्ला प्रमुखसहित कोषका पदाधिकारीको उपस्थितिमा सुरक्षा रणनीति बनाइएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले महासचिव गुटेरेसको सुरक्षाका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि लुम्बिनीसम्मको आवश्यक सुरक्षा व्यवस्था बलियो बनाइएको बताउनु भयो।

महासचिव गुटेरेसले करिव डेढ घण्टा लुम्बिनीमा बिताउने कार्यक्रम तय गरिएको छ । डेढ घण्टाको अवधिमा उहाँले लुम्बिनी स्थित मायादेवी मन्दिरमा विशेष पूजाआजा गर्नुका साथै अशोक स्तम्भ अघिबाट सम्बोधनगर्ने कार्यक्रम रहेको छ ।

महासचिव गुटेरेसलाई लुम्बिनी विकास गुरुयोजना, उत्खनन, अन्वेषण, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक महत्वका विषयमा वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले जानकारी दिनुहुने कार्यक्रम तय भएको लुम्बिनी बिकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो ।

गुटेरेस लुम्बिनी भ्रमण गर्ने संयुक्त राष्ट्रसंघका छैटौं महासचिव हुनुहुन्छ । सन् १९५५ ड्याग ह्यामसोल्ड महासचिव भएको बेला नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो । ड्यागले सन् १९५९ मा लुम्बिनी भ्रमण गरेको कोषले जनाएको छ ।

यद्यपि महासचिवका रुपमा भने भ्रमण भएको थिएन । तर, पनि उहाँसहित गुटरेससम्म आइपुग्दा ६ जना महासचिवले बुद्ध जन्मस्थल लुम्बिनीमा पाइला टेक्नेछन । सन् १९६७ मा ऊ थान्त, सन् १९८१ मा कर्ट वाल्डहिमले सन् १९८१, ह्याभियर पेरिज द कोयरले सन् १९८९ र बान कि मुनले सन् २००८ मा लुम्बिनीको भ्रमण गरेका थिए । संयुक्त राष्ट्रसंघका महासचिवका रुपमा ऊ थान्तको लुम्बिनी भ्रमणपछि नै लुम्बिनीको विश्वव्यापी प्रचार भएको थियो ।

यस्तो छ डेढ घन्टाको कार्यतालिका

लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यकाअनुसार महासचिव गुटेरेस पोखराबाट मंगलबार बिहान गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र भैरहवाबाट हेलिकप्टरमा विहान ९ बजे लुम्बिनी आइपुग्नेछन् । लुम्बिनीको शान्तिदीप भएर मायादेवी मन्दिरमा पुग्ने र मायादेवी मन्दिर दर्शन गरेपछि यहाँ परिसरमै ब्रिफिङ गर्ने कार्यक्रम छ ।

उहाँले दीप प्रज्वलन गरेपछि पत्रकारसँग केही समय बोल्ने, वृक्षरोपण गर्ने र काठमाडौं फर्किनेगरी लुम्बिनीमा उहाँ करिब डेढ घण्टा जति बस्नुहुनेछ । गुटेरेस शान्ति दीपबाट मायादेवी मन्दिरसम्म पैदलै जाने र त्यस क्रममा स्थानीय आमा समूह, लुम्बिनी स्थित विभिन्न भिक्षु भिक्षुणीले स्थानीय कला संस्कृतिसहित स्वागत गर्ने कार्यक्रम छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?