काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६ दशमलब तीन ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले अर्धशतक प्रहार गर्नुभयो । ओपनर भुर्तेलले ४८ बलमा आठ चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ७४ रनको योगदान दिनुभयो ।
त्यस्तै रोहित पौडेलले अविजित ३५ रन बनाउनुभयो । उहाँले २४ बलमा दुई चौका र दुई छक्कासहित ३५ रन बनाउनुभएको हो । नेपालका अर्का ओपनर आसिफ शेख र कुशल भुर्तेलले नौ दशमलब एक ओभरमा ८४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात गर्नुभएको थियो । आसिफले २७ रन बनाउनुभयो । उहाँले २६ बलमा दुई चौका र एक छक्कासहित २७ रन बनाउनुभएको हो । सिंगापुरका लागि अनन्त कृष्ण र अक्षय पुरीले समान एक-एक विकेट लिनुभयो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको थियो । सिंगापुरका लागि युवा ओपनर रोहन रंगराजनले सर्वाधिक ४६ रनको योगदान दिनुभयो । उहाँले ३० बलमा नौ चौका र एक छक्कासहित ४६ रन बनाउनुभएको हो ।
त्यस्तै आर्यवीर चौधरीले ३७ रन बनाउनुभयो । उहाँले २६ बलमा पाँच चौकासहित ३७ रन बनाउनुभएको हो । मनप्रित सिंहले २४ तथा अक्षय पुरीले १३ रन जोड्नुभयो । नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिनुभयो भने सन्दीप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई-दुई विकेट लिनुभयो ।
खेलपछि अर्धशतकीय पारी खेल्नुभएका नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले प्रतियोगिताको पहिलो खेलमा टिम लयमा देखिनु सुखद भएको प्रतिक्रिया दिनुभयो । उहाँले हरेक खेललाई फाइनलसरह खेलिरहेको बताउनुभयो ।
यसअघि भएको त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा उहाँले युएईविरुद्ध ५० रन बनाउनुभएको थियो । त्यसअघि भने उहाँको प्रदर्शन आशातित गतिलो रहेन । ‘फाइनलमा युएईविरुद्ध रन लागेको थियो । आज पनि लाग्यो । खुसी छु । ब्याटरका रूपमा खेलेपछि रन नबन्दा दबाब हुन्छ नै । टिममा मलाई सबैको विश्वास थियो । मोन्टी सर र रोहितले साथ दिइराख्नुभएको थियो । उनीहरूलाई म चलेमा राम्रो हुन्छ भन्ने थाहा थियो । यसको श्रेय रोहित र मोन्टी सरलाई दिन चाहन्छु,’ कुशलले भन्नुभयो ।
अलराउण्डर दीपेन्द्रसिंह ऐरी घाइते
यस्तै खेलअघि नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी भने घाइते हुनुभएको छ । सिंगापुरविरुद्ध खेल्नुअघि अभ्यासका क्रममा फिल्डिङ गर्नेक्रममा उहाँको बायाँ खुट्टाको एंकलमा चोट लागेको थियो । चोट लागेपछि दीपेन्द्रको स्थानमा विवेक यादवलाई मैदान उतारिएको थियो । दीपेन्द्र उपचारपछि बैसाखीको सहारामा मैदानबाट फर्कनुभएको थियो । उहाँले प्रतियोगिता गुमाउने सम्भावना एकदमै ज्यादा छ ।
दीपेन्द्र टी-२० आईमा नेपालका तर्फबाट सर्वाधिक रन बनाउने ब्याटरसमेत हुनुहुन्छ । उहाँले ५२ टी-२० आई खेलमा एक शतक र सात अर्धशतकसहित कुल एक हजार ३४४ रन बनाउनुभएको छ । उहाँ नेपालबाट टी-२० आईमा एक हजार रन पूरा गर्ने एक्लो खेलाडीसमेत हुनुहुन्छ ।
नेपालले दोस्रोपटक ट्वान्टी-२० विश्वकपमा छनोट हुने लक्ष्यसहित प्रतियोगितामा सहभागिता जनाइरहेको छ । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा टी-ट्वान्टी विश्वकप खेलेको थियो । अब नेपालले आफ्नो दोस्रो खेल मंगलबार मलेसियासँग खेल्नेछ । विभिन्न आठ टोली सहभागी उक्त प्रतियोगितामा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले आगामी सन् २०२४ मा अमेरिका र वेस्टइण्डिजमा संयुक्तरूपमा आयोजना हुने टी-२० विश्वकप खेल्न पाउनेछन् ।
विश्वकपको एसिया छनोटअन्तर्गत समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, सिंगापुर र ओमान छन् । त्यस्तै समूह ‘बी’ मा युएई, हङकङ, बहराइन र कुवेत छन् ।
युएई विजयी
यस्तै छनोट समूह ‘बी’ को पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले बहराइनलाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईले बहराइनलाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । बहराइनले दिएको १३६ रनको लक्ष्य युएईले १८ दशमलब दुई ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो । यस जितसँगै युएईले प्रतियोगितामा दुई अंक जोडेको छ ।
युएईका लागि अलि नासिरले सर्वाधिक ४८ रन बनाउनुभएको थियो । उहाँले २६ बलमा चार चौका र तीन छक्काको मद्दतमा अविजित ४८ रन बनाउनुभएको हो । त्यस्तै आशिफ खानले २३ रनको योगदान दिनुभयो भने कप्तान मोहम्मद वसिमले ११ रन बनाउनुभयो । बसिल अहम्मदले ११ जोड्नुभयो । बहराइनका लागि रिजवान बुट्टले दुई विकेट लिनुभयो भने साथिया विरापाथिरन, अब्दुल मजिद र सचिन कुमारले समान एक–एक विकेट झार्नुभयो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रनको योगफल बनाएको थियो । बहराइनका लागि हैदर बुट्टले सर्वाधिक ५९ रन बनाउनुभयो । उहाँले ४३ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५९ रन बनाउनुभएको हो । त्यस्तै, जुनेद अजिजले २५ रन जोड्नुभयो भने सोहिल अहम्मदले २८ रन बनाउनुभयो ।
युएईका लागि जुनेद सिद्दिगी र आयान अफजल खानले समान दुई-दुई विकेट लिनुभयो भने अलि नासिर र कार्तिक मैइएप्पनले समान एक–एक विकेट झार्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच