स्वास्थ्यको जिल्लास्तरीय वार्षिक कार्य प्रगतिमा दिक्तेल प्रथम, खोटेहाङ पुछारमा

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । जिल्ला स्वास्थ्य कार्यालय खोटाङले गरेको जिल्ला स्तरीय वार्षिक कार्य प्रगति समिक्षामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रथम भएको छ । आर्थिक वर्ष २०७९/२०८० मा दश स्थानीय तहद्धारा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको कामका आधारमा ७७.६१ नम्बर ल्याएर दिक्तेल प्रथम हुँदा हलेसी तुवाचुङ नगरपालिका दोश्रो भएको छ ।

हलेसीले ७५.४३ नम्बर ल्याएको छ । केपिलासगढी गाउँपालिका ७१.५६ नम्बरसहित तेश्रो भएको स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत राजु राउतले जानकारी दिनुभयो ।समिक्षा कार्यक्रममा सार्वजनिक गरिएको नतिजा अनुसार खोटेहाङ गाउँपालिका स्वास्थ्यमा सबैभन्दा कमजोर देखिएको छ । ६३.११ नम्बरसहित खोटेहाङ गाउँपालिका सबैभन्दा पुछार दस नम्बरमा छ ।

जिल्ला स्वास्थ्य कार्यालयले सोमबार कार्यालयमा आव २०७९/२०८० मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक कार्य प्रगति समिक्षा गर्दै रावाबेशी गाउँपालिका(७१.१४)चौथो, वराहापोखरी गाउँपालिका‐६९.९२) पाँचौ, जन्तेढुंगा गाउँपालिका‐६७.२२)छैटौ, दिप्रुङ चुईचुम्मा गाउँपालिका‐६५.६६) सातौ, साकेला गाउँपालिका‐६५.४७) आठौ र ऐसेलुखर्क गाउँपालिका(६४.७४) नवौं भएको जानकारी दिएको हो ।

जिल्ला स्तरीय वार्षिक कार्य प्रगति समिक्षामा प्रथम, दोश्रो र तेश्रो हुने पालिकालाई जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुन्यप्रसाद सिग्देल, कार्यक्रम अधिकृत जीवन चौलागाँईले सम्बन्धित पालिकाका स्वास्थ्य संयोजक तथा प्रतिनिधिलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

स्वास्थ्य कार्यालयले पालिकाको स्वास्थ्य शाखाले गरेको कामहरुलाई ७० र ती कामको प्रस्तुतिलाई ३० नम्बर राखेर छनौट समिति बनाई छनौट गरेको हो । छनौट भएका तथा नम्बरका हिसाबले पछाडी परेका गाउँपालिकाका स्वास्थ्य शाखाहरुलाई काममा अझै खटेर लाग्न र नम्बर सुधार्न स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख सिग्देलले सुझाव दिनुभयो ।

दुई नगरपालिका, आठ गाउँपालिकाका स्वास्थ्य संयोजक तथा प्रतिनिधिले गत आर्थिक वर्षभरी गरेका कामको समिक्षा गरेको थियो । स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत चौलागाँईले भने जिल्ला भरीको स्वास्थ्य स्थितीको समिक्षा गर्नुभएको थियो । यसैविच, १५ कार्तिकबाट अनिवार्य अवकास लिन लाग्नुभएका स्वास्थ्य कार्यालय खोटाङका प्रमुख सिग्देललाई दुई नगरपालिका र आठ गाउँपालिकाका स्वास्थ्य संयोजक तथा प्रतिनिधिले बिदाई समेत गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?