ललितपुर । रोपेर फूल गोदावरी, सजाऔँ घर आँगनवरिपरि भन्ने नाराका साथ १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी मंगलबार ललितपुरको जावलाखेल खेल मैदानमा सुरु भएको छ । पुष्पमेला उद्घाटन गर्दै कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालमा अवैधरूपमा आयात हुने फूल रोक्न सरकारले पहल गर्दै आएकोे बताउनुभएको छ । स्वदेशी उत्पादन प्रवद्र्धन गर्दै आयात निरुत्साहित अहिलेको आवश्यकता रहेको उहाँको भनाइ थियो ।
मन्त्री भुसालले बिउबिजनसम्बन्धी नयाँ नियमावली नबनेसम्म फुकाइएको बाधा अड्चनबाट काम गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिउबिजनसम्बन्धी नियमावली बन्नुपर्ने थियो । जबसम्म नियमावली बन्दैन, तबसम्म फुकाइएको बाधा अड्चनबाट काम गर्न पाउनुहुनेछ । त्यसकारण केही दिनका लागि भनेर चिन्ता गर्नुपर्दैन ।’ ३३ करोडको आयात र ६८ लाखको निर्यातको सन्तुलन नमिलेको भन्दै मन्त्री भुसालले आगामी दिनमा पुष्प व्यवसायलाई वृद्धि गर्दै निर्यात बढाउन व्यवसायीलाई सुझावसमेत दिनुभयो ।
आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फयान)का अध्यक्ष मीनबहादुर तामाङले सरकारले बजारमा प्लास्टिकजन्य फूल आयातमा प्रतिबन्ध लगाए पनि प्रतिबन्ध नभएको भन्दै अनुगमनमा थप कडाइ गर्न माग गर्नुभयो । सरकारकै नीतिका कारण पुष्प व्यवसाय फस्टाउन नसकेको उहाँको आरोप थियो । अध्यक्ष तामाङले भन्नुभयो, ‘सरकारले लगानीको वातावरणको सिर्जना गर्नुपर्छ र अवैधरूपमा आयात रोक्नुपर्छ, बिउबिजनसम्बन्धी नयाँ ऐनअनुसारको नयाँ नियमावली छिटो बन्नुपर्छ ।’ कृषि क्षेत्रको एक उद्योगकै रूपमा अगाडि बढिरहेको पुष्प व्यवसायको दिगो विकास, गुणस्तरीय उत्पादन, आन्तरिक बजार व्यवस्थापन, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनका लागि सरकार र व्यवसायीबीच सहकार्यमा पनि उहाँले जोड दिनुभयो । पुष्प विकास केन्द्र सहआयोजक रहेको उक्त प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको सहयोग रहेको छ भने सेवा कोकोपिटले प्रायोजन गरेको छ । त्यस्तै कृषि विकास बैंक बैंकिङ साझेदार रहेको छ । आयोजकका अनुसार मेलामा व्यावसायिक स्टल ५५, प्रतियोगितात्मक स्टल र सूचनामूलक पाँच गरी ६२ प्रदर्शनी कक्ष रहेका छन् ।
मेलाका थप आकर्षणमा यस वर्ष सेवा कोकोपिटद्वारा प्रायोजित हरेक दिन बिक्री हुने गेट टिकट नम्बरका आधारमा लक्की ड्र गरी विजेता एकजना अवलोकनकर्तालाई गमलासहितका पाँचवटा आकर्षक गोदावरी फूलका बिरुवा र पाँच केजीको सेवा कोकोपिट उपहार प्रदान गरिने आयोजकले जनाएको छ । विगतमा चारदिने मेला हुने गरेकोमा यस वर्ष एक दिन थप गरी पाँचदिने मेला आयोजना हुने भएको छ । हाल नेपालमा ४८ जिल्लाको करिब दुई सय २१ हेक्टरमा पुष्प खेती हुँदै आएको छ भने पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ४४ हजारभन्दा बढी जनशक्ति संलग्न रहेको फयानले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच