बागलुङमा एक्ली महिला प्रमुख

Read Time = 9 mins

-डम्मर बुढा मगर

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन्। पाँच दलीय गठबन्धनबाट प्रतिनिधित्व गर्दै अध्यक्षकी उम्मेदवार गण्डकी थापा अधिकारीले एमालेबाट उम्मेदवार बनेका राजन पाईजालाई पछि पार्दै गाउँपालिका अध्यक्ष जित्नुभएको हो ।

उहाँले एक हजार ५७२ मतान्तरले पाईजालाई पराजित गर्नुभएको छ। थापाले सात हजार ३८६ मत ल्याउँदा पाईजाले पाँच हजार ८१४ मत पाउनुभएको थियो । गत स्थानीय तहमा निर्वाचनमा अधिकारी राजनका बुबा मेहरसिंह पाईजासँग पराजित हुनुभएको थियो । त्यतिबेला नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर निर्वाचनमा गएका थिए।

नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चा भिन्दाभिन्दै चुनावी प्रतिस्पर्धामा थिए। गत निर्वाचनमा मेहरसिंह पाईजासँग ५२२ मतान्तरले पराजित हुनुभएकी अधिकारीले यो पटक उहाँकै छोरालाई त्यसको तीन गुणा मतान्तरले पराजित गरेर हिसाब किताब चुक्ता गर्नुभएको हो। विगतमा खेलकुदमा लाग्नुभएका पाईजा आफ्नै बाबु गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सामाजिक राजनीतिक रुपमा सक्रिय हुनुभएको थियो। कोभिड संक्रमणका बेला उहाँले कमाएको लोकप्रियता देखेर नेकपा एमालेले गाउँपालिका अध्यक्षको टिकट दिए पनि पाँच दलीय गठबन्धनले उहाँको लोकप्रियतालाई माथ दियो। बडिगाड गाउँपालिका अध्यक्षमा निर्वाचित गण्डकी थापा अधिकारी नेपाली कांग्रेस बागलुङकी जिल्ला सचिव हुनुहुन्छ ।

उहाँ गण्डकी बागलुङको १० पालिकामध्ये एक्ली महिला प्रमुख हो। पाँच दलीय गठबन्धनबाट उहाँले बडिगाड गाउँपालिकामा टिकट पाउनुभएको थियो । गण्डकी निर्वाचन जितेपछि बागलुङ जिल्ला महिला बिहीन प्रमुख हुनबाट जोगिएको छ। नेकपा एमालेले कुनै पनि पालिका प्रमुखमा महिला उम्मेदवार बनाएन। गठबन्धनका कारण बागलुङका १० स्थानीय तहको उपप्रमुखमा सबै पुरुष नै पुरुष भएका छन्। गठबन्धनले बडिगाड गाउँपालिका अध्यक्षममा गण्डकीलाई उम्मेदवार बनाउनुबाहेक अन्यत्र सबै ठाउँमा पुरुष नै पुरुष उम्मेदवार बनाएको छ।

स्थानीय निर्वाचन २०७९ मा बागलुङका पाँच दलीय गठबन्धन हाबी हुँदा बागलुङका पालिकाको नेतृत्व तहमा महिलाको संख्या न्यून भएको छ। जिल्लाको तमानखोला गाउँपालिकामा गठबन्धन भाँडिएका कारण उपाध्यक्षमा नेपाली कांग्रेसकी हिराकुमारी छन्त्याल विजयी हुनुभएको छ ।

यहाँ कांग्रेस, एमाले, माओवादी केन्द्र एक्ला एक्लै निर्वाचनमा गएका थिए। जिल्लामा सहमति गर्दा गठबन्धनबाट तमानखोला गाउँपालिका कांग्रेस र उपाध्यक्ष नेकपा एकीकृत समाजवादी पार्टीलाई दिने सहमति भए पनि उम्मेदवारी दर्ताको समयमा भाँडिएको थियो। त्यसको फाईदा कांग्रेसलाई पुग्यो र अध्यक्ष उपाध्यक्ष दुबै पद जित्यो।

स्थानीय निर्वाचन २०७४ मा स्थायी शिक्षकबाट राजिनामा दिएर उहाँ निर्वाचनमा होमिनुभएको उहाँलाई पराजय व्यहोर्नुपर्यो। भर्खर ८/१० वर्ष पुगेको स्थायी शिक्षकको जागिर छोडेर गाउँपालिका अध्यक्षमा उठेर पराजित भए पनि अहिले उहाँले त्यसको भर्पाई गर्नुभएको छ । गाउँपापालिका उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट राष्ट्रिय जनेमार्चाका भीमसेन वन विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेकी मिनकुमारी माझीलाई एक हजार ४३१ मतले पछि पार्नुभयो। वनले कुल सात हजार २१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी माझीले ५८ सय मत पाउनुभयो ।

भीमसेन वन पनि गत स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट अध्यक्षका प्रत्यासी हुनुहुन्छ। त्यो बेला उहाँले एक हजार २५८ मत पाउनुभएको थियो। अहिले गठबन्धनबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो। गत निर्वाचनमा बडिगाड गाउँपालिका अध्यक्षमा एमालेका मेहरसिंह पाईजा निर्वाचित हुँदा उपाध्यक्षमा नेपाली कांग्रेसका अमरबहादुर श्रीस विजयी हुनुभएको थियो। त्यो बेला एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरे पनि एमालेको भोट माओवादी केन्द्रका नेता राजिव घिमिरेमा ट्रान्सफर नहुँदा उपाध्यक्षमा पराजित हुनुभएको थियो ।

पार्टी फेरेर टिकट, निर्वाचनमा विजयी

बडिगाड गाउँपालिका-५ ग्वालीचौर पालिकामै सबैभन्दा बढि मतदाता भएको वडा हो। गत स्थानीय निर्वाचनमा यहाँ नेपाली कांग्रेसका अर्जुनप्रसाद खरेल विजयी हुनुभएको थियो। यस पटक भने नेकपा एमालेले बाजी मारेको छ। नेपाली कांग्रेस भित्रको टिकट वितरणको किचलोको मौका छोपेर एमालेले निर्वाचन जितेको हो।

उम्मेदवारी दर्ताकै दिन कांग्रेस छाडेर एमाले प्रवेश गर्नुभएका विष्णुप्रसाद आचार्य एमालेबाट वडाध्यक्ष निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसबाट वडाध्यक्ष उम्मेदवारको रुपमा हेरिउनुभएका उहाँ अन्तिम समयमा पार्टीले टिकट नदिएपछि उही दिन एमाले प्रवेश गरेर एमालेबाट वडाध्यक्षको उम्मेदवार बन्नुभएको थियो ।

उहाँले पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका रमेशबहादुर घिमिरलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित हुनुभएको हो। आचार्यले एक हजार १२ मत ल्याउँदा घिमिरेले ७९० मत मात्रै प्राप्त गर्नुभयो। वडा सदस्यहररूमा भने सबै गबठन्धनका उम्मेदवार निर्वाचित भएका छन्। पार्टीबाट वडाध्यक्षको टिकट नपाएपछि एमाले प्रवेश गरेर उम्मेदवार विष्णुप्रसाद आचार्यलाई कांग्रेसकै माथिल्लो तहका नेताहररूको साथ रहेको चर्चा हुने गरेको थियो।

बडिगाड गाउँपालिकाका १० वडामध्ये वडा नम्बर १ र ४ गरी दुई वटा राष्ट्रिय जनमोर्चा, वडा नम्बर २, ३ र ५ गरी तीन वटा नेकपा एमाले र वडा नम्बर ४ र १० गरी दुई वटा नेकपा माओवादी केन्द्र र वडा नम्बर ६, ७ र ९ गरी तीन वटा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?