जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १२९ पुग्यो

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । पश्चिम नेपालको जाजरकोट जिल्लामा केन्द्रबिन्दु भए गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या जाजरकोट र रुकुम पश्चिम गरि १२९ पुगेको छ।

भूकम्पमा परी आज बिहानसम्म जाजरकोटमा ९२ जना र रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । त्यस्तै जाजरकोटमा ७० र रूकुम पश्चिममा ८५ जना घाइते भएका छन्। अहिलेसम्म १०८ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पताल लगिएको पनि एसएसपी भट्टरईले जानकारी दिनुभयो ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार र खोजी तीब्र पारिएको र तीन वटै सुरक्षा निकाय परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। जाजरकोट केन्द्रबिन्दु भए गएराति ११ः४६ बजे ६.४ रेक्टरको भूकम्प गएको थियो। भूकम्पले जाजरकोट र रूकुम पश्चिममा ठूलो क्षति पुगेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पनि भूकम्प प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न त्यसतर्फ गएका छन्।

भुकम्पबाट जुम्लामा समेत केही घरमा क्षति गरेको छ मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?