हराए कुटानी पिसानी गर्ने ढिकी र जाँताे

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । गाउँघरमा कुटानी पिसानीका लागि कुनै बेला अनिवार्य बनेका ढिकी र जाँतो अहिले भने देखिन छाडेका छन् । पेट्रोल, डिजेल र विद्युत्बाट चल्ने आधुनिक मिलहरु भित्रन थालेपछि ढिकी, जाँतो गाउँघरमा देखिनै छाडेका हुन् ।
पाल्पा र गुल्मीका गाउँघरमा विद्युत् र डिजेलबाट चल्ने मिल चल्न थालेपछि परम्परागत ढिकी–जाँतो र पानी घट्टको प्रयोग घटेको हो । अहिले गाउँ–गाउँमा धमाधम आधुनिक विद्युतीय र डिजेलबाट चल्ने मिल सञ्चालन भइरहेका छन् । जसले गर्दा परम्परागत साधन विस्थापित हुँदै गएका हुन् । गाउँघरमा बिहान सबेरै उठेर महिलाहरुको काम ढिकी र जाँतोमा धान कुट्ने, गहुँ फल्ने, गहुँ, कोदो, मकै, फापर र दाल पिस्ने हुन्थ्यो । गाउँमा सबैका घर ढिकी वा जाँतो हुन्थ्यो । भालेको डाकोसँगै उठेर कुटानी–पिसानी गर्नुपर्ने बाध्यता सबैलाई थियो, तर कुटानी–पिसानीका आधुनिक मिलहरुले आजभोलि सबैलाई सजिलो बनाएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका कोल्डडाँडाकी २९ वर्षीया शान्ति सारुले दशक अघि आमा भाउजुले ढिकी र जाँतोमा अन्न कुटानी पिसानी गरेको देख्नुभयो । बिहानै भालेको डाकोसँगै अन्न कुटानी पिसानीका लागि आमा–भाउजु ढिकी र जाँतोमा नारिएको देख्दा आफु पनि अघि पछि गरेको अहिले उहाँ सम्झनुहुन्छ । जाँतो र ढिकीमा अन्न पिस्नु र कुट्नु उहाँको आमा र भाउजुको दिनचर्या नै थियो । अन्न कुट्न तथा फल्नको लागि उहाँको घरमै ढिकी र जाँतो थियो । तर अहिले आएर अवस्था फेरिएको छ । कुटानी पिसनीका लागि उहाँको आमाभाउजुले अहिले ढिकी जाँतो प्रयोग गर्नु परेको छैन । गाउँमै मिल भएपछि अहिले सारुको घरमा ढिकीबाट कुटेको चामल उपयोग गर्नु परेको छैन । गा्रमीण भेगमै आधुनिक मिल सञ्चालन भएपछि आम सर्वसाधारणले अहिले सहज महसुस गरेका छन् ।

केही बर्षअघि पाल्पाको माथागढी–४ झडेवाकी मनिषा पराजुलीले ढिकीमा धानदेखि गहुँ,बेसार कुट्नेदेखि जाँतोमा चामल, मकैलगायतको पिठो पिस्ने काम गर्नुहुन्थयो । तर, पछिल्लो समय गाउँमा ढिकी तथा जाँतोको विकल्पमा विद्युतबाट चल्ने मिलहरु खुलेपछि भने ढिकी तथा जाँतो प्रयोग गर्नै छोडेको उहाँको बताउनुहुन्छ । ‘बिहान उज्यालो नहुँदै ढिकी, जाँतोको काम गर्थो, साँझको खाना खाएर पनि राति अबेरसम्म कुट्न, पिस्न पथ्र्यो’, गुल्मी इस्मा गाउँपालिका– २ की कमला मल्लले भन्नुभयो ‘ अहिले जताततै विजुलीबाट चल्ने मिल आएपछि भने सुविस्ता भएको छ ।’ आफ्नो घरसँगै गाउँका प्रत्येक जसो घरहरुमा देखिने ढिकी तथा जाँतो पछिल्लो समय लोप हुँदै गएको उहाँले बतउनुभयो । तानसेन छ्र्लुङ्गकी मीना भट्टराईले कुटानी–पिसानीका आधुनिक उपकरणको प्रयोगले आफूहरुलाई समयको बचत गराएको बताउनुभयो । आधुनिक मेसिनले समयको बचत भए पनि अन्नको स्वाद भने नरहेको उहाँको भनाई छ । ‘परम्परागत साधनबाट पिसेको अन्नबाट पकाएका परिकार स्वादिला हुन्थ्यो,’ भट्टराईले भन्नुभयो, ‘अहिलेका मेसिनले पिस्न, कुट्न सजिलो बनाएको छ तर जुन मिठोपन थियो त्यो हराएको छ ।’

दशकअघि पाल्पा र गुल्मीका विभिन्न ठाउँहरुमा ढिकी, जाँतो र ओखल भेटिने गरे पनि अहिले प्रायः ठाउँहरुमा देखिदैनन् । गाउँ–गाउँमा विद्युत विस्तार र सडक पुगेपछि आधुनिक मेसिनहरू गाउँमा पुगेसँगै ग्रामीण भेगका परम्परागत कुटानी पिसानीको प्रयोग घट्दै गएको छ । पिठो पिस्न गाउँ–गाउँमा जाँतो र पानी घट्टको प्रयोग गरिन्थ्यो । तर अहिले आधुनिक मिलले विस्थापित गरेको छ । पिठो पिस्ने घट्ट, धान कुट्ने ढिकी, तोरी पेल्ने कोललाई अहिलेका विद्युतीय उपकरणबाट चल्ने मिलहरूले विस्थापित गरेका छन् अहिलेसम्मको पुस्ताले जसोतसो ढिकी जाँतो देखे पनि अब नयाँ पुुस्ताका लागि भने यी साधन इतिहास बन्ने गुल्मी मुसिकोटका इतिहासका जानकार चामबहादुर थापाले बताउनुभयो ।

पहिला विवाह व्रतबन्ध र चाडपर्वमा दिन तथा रातभरि ढिकी जाँतोमा धान कुट्ने, पिठो पिस्ने हुन्थ्यो, तर अहिले त्यो हराएको छ । आधुनिक मेसिनमा कुटनी पिसानी गरेको भन्दा परम्परागत ढिकी, जाँतो र पानी घट्टामा पिसेको सस्तो र पोसिलो हुने भए पनि गाउँमा छिटो छरितो र सहजका लागि अहिले आधुनिक मेसिनमा आकर्षण बढेको छ । विशेष गरी हिउँदको समयमा महिलाहरु एकै ठाउँमा भेला भएर पालैपालो एउटै ढिकी–जाँतोमा अन्न कुट्ने र पिस्ने गर्दथे तर अहिले मिलमा अन्न लगेर कुटानी पिसानी गर्न थालेपछि हिउँदभरी चल्ने ढिकी जाँतो पूर्ण रुपमा बन्द भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?