काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकको अभाव हुन नदिन सरकार गम्भीर भएको बताउनुभएको छ । उहाँले मंगलबार काठमाडौंमा २०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी उद्घाटन गर्दै यस्तो बताउनुभएको हो । स्वास्थ्यमन्त्री बस्नेतले जाजरकोट-रुकुम भूकम्प प्रभावित क्षेत्रका बासिन्दा सबैलाई दुई दिनभित्रमा अस्थायी बसोवासको व्यवस्था गर्ने दाबी पनि गर्नुभयो । उहाँले भूकम्प गएकै दिन तीनै तहका सरकार लागेर घाइतेको उपचार गर्न सफल भएको दाबी गर्दै बिहीबारसम्ममा प्रभावितलाई अस्थाई बसोबासको प्रबन्ध गर्नेदेखि खाद्यान्नको व्यवस्था गर्ने तथा राहतमा कमी हुन नदिने बताउनुभयो । ‘संघ, प्रदेश, स्थानीय सरकार, प्राथमिक स्वास्थ्य चौकीहरू सबैले झामझुम गरेर घाइतेको तुरुन्तै उद्धार र राम्रो उपचार गर्न सफल भयौँ । अब बिहीबारको दिनसम्ममा प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्नेदेखि खाद्यान्न सबैको व्यवस्था हुन्छ,’ उहाँले भन्नुभयो ।
मन्त्री बस्नेतले भूकम्प प्रभावित जनताका लागि आफूले प्रतिनिधित्व गरेको जिल्ला सिन्धुपाल्चोकबाट राहतको लागि स्थानीय सरकारलाई भनेर तीन स्थानीय तहबाट निर्णय गर्न पहल गरेको जिकिर गर्दै सबैलाई सकेको सहयोग गर्न आग्रह पनि गर्नुभयो । मन्त्री बस्नेतले जाजरकोट भूकम्पपछि घाइतेको उपचारमा कुनै कमी हुन नदिएको भन्दै अबको ध्यान राहत र पुनःस्थापनामा हुने बताउनुभयो ।
मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन नहुँदा धेरै समस्या आएको बताउनुभयो । उहाँले ऐन संशोधन नहुँदा धेरै समस्या आएको भन्दै अब कसैले विरोध गरेर वा सुतेर संशोधन नरोकिने स्पष्ट पार्नुभयो । निश्चित समूहले संशोधन रोक्न खोजे अब सम्भव नरहेको उहाँको भनाइ थियो । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा दरबन्दी बढ्न नसकेकाले चिकित्सकको अभाव देखिएको अवस्थालाई सरकारले गम्भीर रूपमा लिएको जिकिर गर्नुभयो । स्वास्थ्य क्षेत्रको पूर्वाधारहरू अघि बढाउन खोज्दा बजेटको समस्या देखिएको उहाँको गुनासो थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच