पाल्पा । पछिल्लो समय प्लाष्टिकका कृत्रिम मालाको प्रयोग बढ्दै गएका बेला पाल्पाका केही स्थानीय सरकारले भने त्यसको प्रयोग नगर्न सबैमा आग्रह गरेका छन् । तिहार पर्व नजिकिएसँगै बजारमा प्लाष्टिकका मालाले बजार लिन थालेपछि स्थानीयस्तरमा उत्पादित फूलहरूले ठाउँ नपाउने भन्दै कृत्रिम माला निरुत्साहित गर्न स्थानीय सरकारले सूचना नै प्रकाशन गरेर प्लाष्टिकका माला प्रयोग नगर्न, नगराउन आग्रह गरेका हुन् ।
जिल्लाको तानसेन नगरपालिका र माथागढी गाउँपालिकाले प्राकृतिक फूलका माला प्रयोग गर्न तथा प्लाष्टिकजन्य माला प्रयोग नगर्न आग्रह गरेका छन् । तानसेन सयपत्री फूलमा आत्मनिर्भर भएकाले फूल कृषकलाई प्रोत्साहित गर्न तथा प्लाष्टिकजन्य फूलमालाले वातावरणमा पार्न सक्ने नकारात्मक प्रभावसमेत मध्यनजर गर्दै प्लाष्टिकजन्य माला प्रयोग नगर्न नगरले आग्रह गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीद्वारा जारी सूचनामा प्लाष्टिकजन्य माला प्रयोग नगर्न र प्राकृतिक फूलका मालामात्रै भाइटीकामा प्रयोग गर्न भनिएको छ । नगरपालिकाले नगरभित्र प्रशस्तमात्रामा सयपत्री फूल भएकाले चाडपर्व, बिहे, व्रतबन्ध तथा अन्य समारोहमा सयपत्री फूल तथा माला थोक तथा खुद्रामा आवश्यक परेमा स्थानीय कृषकलाई सम्पर्क गर्नसमेत आग्रह गरेको छ । त्यस्तै माथागढी गाउँपालिकाले पनि प्लाष्टिकजन्य फूलमाला प्रयोग नगरी प्राकृतिक फूलमाला प्रयोग गर्न भनेको छ । पालिकाहरूले प्लाष्टिकजन्य फूलमालाको प्रयोग नगर्न, नगराउन आग्रह गरेसँगै यहाँका व्यावसायिक फूलखेती गर्दै आएका किसान हौसिएका छन् ।
तानसेन नगरपालिका– १४ का कृषक कमल रानाले आफूजस्ता कृषक नगर सरकारको निर्णयले उत्साहित बनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्तै निर्णय जिल्लाका सबै पालिकाले गर्नुपर्ने हो, सरकारले पनि नाकाबाट यस्ता सामग्री भित्रन प्रतिबन्ध लगाउन सक्नुपर्छ ।’ पछिल्लो समय तानसेनसहित जिल्लाका अधिकांश पालिकामा व्यावसायिक फूलखेती हुँदै आएको छ ।
प्राकृतिक फूलको प्रयोग हराउँदै
पछिल्लो समय प्लाष्टिकका कृत्रिम मालाको प्रयोग बढेपछि सयपत्री, मखमली र गुर्धौली फूल लोपोन्मुख भइसकेका छन् । पहिलाको तुलनामा सयपत्री फूल पनि कम पाइन्छ । प्राकृतिक फूलको महत्वलाई बिर्सँदै गएकाले गाउँघरमा ढकमक्क फूल फुले पनि देखाउनकै लागि प्लाष्टिकको माला प्रयोग गर्ने संस्कार बस्न थालेको छ । हिन्दू धार्मिक परम्पराअनुसार चाडपर्वमा सोहीअनुसारका फूल र माला प्रयोग गर्नुपर्ने भए पनि विश्वकर्मा बाबाको पूजादेखि तिहारसम्म पनि कतिपयले प्लाष्टिकका माला प्रयोग गर्ने गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच