
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को तीन महिना अर्थात् असोजसम्म विप्रेषण आप्रवाह ३०.० प्रतिशतले बढेर तीन खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले बढेर दुर्ई अर्ब ७६ करोड पुगेको नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांंकमा उल्लेख छ । केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख १३ हजार तीन सय ९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार दुई सय ९७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ४७ हजार नौ सय ३२ र ५७ हजार आठ सय ६१ रहेको थियो ।
शोधनान्तर बचत एक खर्बनजिक
समीक्षा अवधिमा चालु खाता ५९ अर्ब नौ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब २४ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६७ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४४ करोड ५२ लाखले बचतमा रहेको छ । त्यस्तै शोधनान्तर स्थिति ९९ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर १२ अर्ब ४३ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा नौ करोड १८ लाखले बचतमा रहेको शोधनान्तर समीक्षा अवधिमा ७४ करोड ७२ लाखले बचतमा रहेको छ ।
२०८० असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशतले बढेर २०८० असोजमा १६ खर्ब ४३ अर्ब नौ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० असोजमा ६.५ प्रतिशतले बढेर १४ खर्ब ३३ अर्ब ३६ करोड पुगेको छ । आर्थिक वर्ष २०८०/०८१ को तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
मूल्यवृद्धि ७.५० प्रतिशत
२०८० असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको छ । असोजमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १०.२३, तराईको ५.६६, पहाडको ७.३८ र हिमालको १०.२४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति क्रमशः ६.९३,, ९.४२, ८.८४ र ७.०७ प्रतिशत रहेको थियो ।
निर्यात घट्दोक्रममा
आर्थिक वर्ष २०८०/०८१ को तीन महिनामा कुल वस्तु निर्यात २.३ प्रतिशतले घटेर ४० अर्ब ८७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३५.७ प्रतिशतले घटेको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात ९.४ प्रतिशतले घटेको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३४५.९ प्रतिशत र ९.५ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, जुस, अलैंची, पोलिस्टर धागोलगायतको निर्यात बढेको छ भने पाम तेल, सोयाबिन तेल, जुटका सामान, ऊनी गलैंचा, रोजिनलगायतको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को तीन महिनामा कुल वस्तु आयात १.७ प्रतिशतले बढेर चार खर्ब सात अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६.२ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र चीनबाट भएको आयात क्रमशः २.४ र ४२.४ प्रतिशतले बढेको छ भने अन्य मुलुकतर्फको आयात २२.८ प्रतिशतले घटेको छ ।
वस्तुगत आधारमा तयारी पोशाक, एमएस तार, छड, बार तथा क्वाइल, रासायनिक मल, विद्युतीय उपकरण, लत्ताकपडालगायतको आयात बढेको छ भने कच्चा सोयाबिन तेल, कच्चा पाम तेल, पेट्रोलियम, सुन, एमएस बिलेटको आयात घटेको छ । तीन महिनामा कुल वस्तु व्यापारघाटा २.१ प्रतिशतले बढेर तीन खर्ब ६६ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १३.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १०.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.४ प्रतिशत थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच