काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार सुरु भएको हो । यस्तै, आज धनवन्तरी जयन्ती पनि मनाइँदै छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म मनाइने तिहार पर्वको आरम्भ भएको हो ।
काग तिहारमा कागलाई यमराजको सन्देश बाहकका रूपमा पूजा गरिन्छ । काग तिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खाने कुरा दिने चलन रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मिठो मिठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल्, शुभ बोल् भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।
यसवर्ष भाइटीकाको साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा तय भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा तय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हिन्दु धर्मावलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ । टीका लगाउन साइत हेर्ने चलन रहेको छ । तर, साइतमा टीका लगाउन नभ्याउनेहरूले साँझसम्म लगाउने प्रचलन पनि रहेको छ ।
यस वर्ष कात्तिक २४ गते शुक्रबार धन त्रयोदशी व्रत (धन तेरस) रहेको छ । यस्तै, २५ गते शनिबार काग तिहार/धनवन्तरी जयन्ती रहेको छ । २६ गते आइतबार लक्ष्मी पूजा÷महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती/नरक चतुर्दशी/सुखरात्रि र कुकुर तिहार रहेको छ । २७ गते सोमबार गाई तिहार र २८ गते मंगलबार गोवर्धन पूजा/म्हः पूजा रहेको छ । यस दिनदेखि नेपाल सम्वत् ११४४ प्रारम्भ हुन्छ ।
फूलैफूल, रङ, उमंग र उज्यालै उज्यालोको पर्वका रूपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनी बीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रूपमा लिइन्छ । टाढा भएका दिदीभाइ, दाजुबहिनीलाई नजिक बनाउने, उनीहरूबीचको सम्बन्ध प्रगाढ बनाउने पर्व उत्साह र उमंगका साथ भाइटीका मनाइन्छ ।
आयुर्वेदका प्रवर्तक धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाइँदै छ । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिनुभएका धनवन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । विक्रम संवत् १९७४ मा काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत रूपमा धनवन्तरी जयन्ती मनाउन थालिएको हो । आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा २०५६ सालदेखि धनवन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रूपमा पनि मनाउन थालिएको छ । आज देशभरका आयुर्वेद अस्पताल तथा क्याम्पस र वैद्यखानामा धनवन्तरी जयन्ती विविध कार्यक्रम गरी मनाउने गरिन्छ । झिलीमिली उज्यालोको चाड तिहारका अवसरमा राजधानीलगायत प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेको छ ।
यस्तै, आज राष्ट्रिय विभूति महापुरुष गुरु फाल्गुनन्द जयन्ती रहेको छ । १९४२ सालमा पूर्व नेपालको इलाममा जन्मनुभएका गुरु फाल्गुननन्दसँग अद्भुत तथा चामत्कारिक गुण रहेको विश्वास गरिन्छ । पूर्वी नेपालका विभिन्न ठाउँमा किराँतहरूको मग हिम मन्दिरको स्थापना गर्न उहाँको विशेष र महत्वपूर्ण योगदान र सहभागिता रहेको मानिन्छ ।
नेपाल सरकारले विसं. २०६६ साल मंसिर १६ गते फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । प्रेम र अहिंसाका अनुयायी तथा प्रतीकका रूपमा पनि चिनिने गुरु फाल्गुननन्दको तस्बिर प्रयोग गरेर नेपाल सरकारले हुलाक टिकट पनि जारी गरेको छ । फाल्गुनन्दको दिव्य वचन तथा ज्ञानलाई आत्मसाथ गर्दै २०७० सालमा पहिलोपटक नेपालमा लिम्बू सम्मेलन पनि आयोजना गरिएको थियो । गुरु फाल्गुनन्दका अहिंसाका सिद्धान्तहरू उदाहरणीय भएको पनि मानिन्छ ।
काठमाडौंमा मध्यराति १ बजेसम्म देउसीभैलो खेल्न पाइने
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा मध्यराति १ बजेसम्म मर्यादित भएर देउसीभैलो खेल्न सकिने गरी व्यवस्था गरेको छ । काठमाडौं महानगरपालिकाभित्र मध्यराति १ बजेसम्म मर्यादित भएर देउसीभैलो खेल्न सकिने गरी सुरक्षा व्यवस्था गरेको महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको हो ।
महानगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका निम्ति ‘पेट्रोलिङ’को व्यवस्था मिलाएको जानकारी दिँदै उहाँले आवश्यक सुरक्षाका लागि प्रहरी र जिल्ला प्रशासन कार्यालयसँग पनि आग्रह गरेको बताउनुभएको छ । ‘विगतको वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसीभैलो खेल्ने समय काठमाडौं महानगरभित्र राति ९ बजेसम्म मात्र अनुमति दिइएको थियो’, मेयर बालेनले लेख्नुभएको छ, ‘यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौँ र सोही समयसम्म मर्यादित भएर देउसीभैलो खेलिदिनु हार्दिक अनुरोध गर्दछौँ । सोहीअनुरूप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौँ ।’
आतसबाजी र तास जुवा नखेल्न प्रहरीको अनुरोध
नेपाल प्रहरीले तिहारमा पटका, भूइँचम्पा, आतसबाजी जस्ता विस्फोटक पदार्थ नपड्काउन अनुरोध गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले पटका, भूइँचम्पा, आतसबाजीजस्ता कार्यहरू कानुनद्वारा बर्जित गरिएकाले त्यस्ता कार्यहरू नगर्न अनुरोध गरेको हो । तिहार, नेपाल सम्वत, छठ पर्वका अवसरमा सुरक्षाका लागि आकस्मिक रूपमा चेक प्वाइन्ट खडा गर्ने र भिडभाड हुने स्थानमा ड्रोनमार्फत निगरानी गरिने कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । लंगुरबुर्जा, जुवा र तासलगायत हारजित हुने खेल खेल्ने वा खेलाउने कार्य नगर्न र नगराउनसमेत अपिल गरिएको उहाँले बताउनुभयो । नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भिडभाडमा सकेसम्म नजानसमेत कार्यालयले अपिल गरेको छ । त्यस्तै, सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकको ओटिपी कोड सुरक्षित राख्न पनि अनुरोध गरिएको प्रवक्ता मैनालीले जानकारी दिनुभयो । त्यस्तै, चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले धान्ने अंकको मात्र चेक जारी गर्न पनि अनुरोध गरिएको उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच