महोत्तरी । एक वर्षअगाडि मात्र फर्केर हेर्ने हो भने कर्जन्हा नगरपालिकाको वडा नं. ६ स्थित कमला नदीको किनारमा रहेको बगरमा कासघारी र बालुवामात्र थियो । बगर नै बगर रहेको बरहरा मिर्चैया भन्ने यस ठाउँमा दिउँसै मानिसहरू आवतजावत गर्न डराउँथे । तर, वर्ष दिनको छोटो अवधिमा यही बालुवाघारी हरियालीमात्र हैन, गरिब र भूमिहीनका लागि सबथोक बनेको छ ।
लटरम्म फलेको खुर्सानी देखाउँदै स्थानीय रामेश्वर सिंहले भन्नुभयो, ‘यदि यो बगर नगरले गरिखान दिएर सहयोग नगरेको भए त हामी निकै समस्यामा हुन्थ्यौँ ।’ ‘पहिले बनिबुतो गरेर खान पनि खान धौ-धौ हुन्थ्यो,’ एक वर्षअगाडिको स्मरण गर्दै सिंहले भन्नुभयो, ‘अर्काको ज्यालादारी गरेर आएको पैसाले जीविकोपार्जन गथ्र्यौँ अहिले त यही बगरबाट त्यसको दोब्बर आम्दानी हुन्छ ।’
सुरुमा त सिंहले बगरमा खेती गरेर आयआर्जन होला भन्ने पत्याउन नै सक्नुभएको थिएन । ‘माटो नभएको, बालुवा नै बालुवा भएको उक्त ठाउँमा नगर र गैरसरकारी संस्थाहरूले अन्यत्र ठाउँबाट माटोमात्र ल्याएनन्, प्रांगारिक मलसमेत ल्याएर बगरलाई उर्वरायुक्त बनाए,’ सिंहले भन्नुभयो, ‘अनि हामीलाई सुखका दिन आए जस्तो लाग्यो ।’
रामेश्वर सिंहजस्तै अहिले २४३ भूमिहीन, गरिब र विपन्न समुदायका परिवार आजकाल यही बगरमा आश्रित बनेका छन् । नगरपालिका र युएनडिपीको आर्थिक सहयोग अनि सामुदायिक विकास तथा पैरवी मञ्चको प्राविधिक सहयोगमा झण्डै ११६ बिगाह जमिनमा पूर्ण भूमिहीन, गरिब तथा विपन्नहरूका लागि जीविकोपार्जनको माध्यममात्र बनेको छैन, नगरको नै समृद्धिको आधारसमेत तयार भएको छ ।
बगरहरू मधेशमा क्रसर माफिया र भू-माफियाहरूको निशाना बनिरहेका बेला नगर तथा गैरसरकारी संस्थाहरूले गरिबी उन्मूलनका लागि गरेको प्रयास उदाहरणीय बनेको भन्दै युएनडिपी मधेश प्रदेश प्रमुख धनबहादुर चनले यो नेपालको नौलो कृषि क्रान्ति भएको बताउनुभयो । नगरको अधिनमा रहेको क्षतिग्रस्त भू-भागमा सामूहिक खेती गर्नु समाजवादको अभ्याससमेत भएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवको बुझाइ छ ।
अहिले यहाँ ११ हजारभन्दा बढी फलफूलका बिरुवा हुर्कंदै छन् भने ७० बिगाह क्षेत्रफलमा तरकारी खेती गरिएको छ । सिँचाइका लागि भूमिगत पानीलाई उत्खनन् गरेर चारवटा इनार बनाइएको छ । उत्पादित वस्तुहरूलाई बजारसम्म पुर्याउन यो ११६ बिगाह जग्गालाई दुई भागमा विभाजन गरेर कृषि सडक विस्तार गरिएको छ । आफ्नो कार्यकालभरि नै गरिबहरूका लागि यो काम महत्वपूर्ण हुने बताउँदै जनप्रतिनिधिहरूले समेत यही बगरलाई जस लिने ठूलो माध्यम बनाएका छन् ।
वडाध्यक्ष प्रकाश श्रेष्ठ भन्नुहुन्छ, ‘हामीले यो कार्यकालको महत्वपूर्ण काम भएको अनुभूति गरेका छौँ । गरिबहरूमा देखिएको खुसीले नै यो हाम्रो सफलता हो भन्ने ठानेका छौँ ।’ स्थायी तटबन्धनको अभावमा नदीले कटान गरेर बगर बनाएका हजारौँ हेक्टर जमिन अहिले पनि मधेशमा क्रसर माफियाहरूको बालुवा उत्खनन् गर्ने अखडा बनेको छ भने भू-माफियाहरूले अतिक्रमण गरेर रातारात आफ्नै अधिनमा बनाएका धेरै दृष्टान्तहरू छन् । तर, यस्ता जग्गाहरूलाई पहिचान गरी कर्जन्हाको जस्तै पूर्ण भूमिहीन, गरिब र विपन्नका लागि उपभोग गर्ने हो भने गरिबी उन्मूलनको माध्यममात्र हैन, समृद्धिको आधारसमेत तयार गर्न सकिने यो बगरले सन्देशसमेत दिएको छ ।
हुर्कंदै गरेका सयौँ जातका आँपका बिरुवाहरू, परवल, खुर्सानी, भण्टा आदिले हराभरा बनाएको बालुवाघारीलाई कसरी उर्वर बनाउन सकिन्छ भन्ने कर्जन्हा गतिलो उदाहरण बनेको अनुगमनका क्रममा त्यहाँ पुग्नुभएका बर्दिवास नगरपालिकाका पूर्व वडाध्यक्ष चुडामणि पोखरेलले बताउनुभयो । फ्रान्सबाट आउनुभएका युएनडिपीका डिपुटी रेजिडेन्ट रिप्रिजेन्टिभ हेड जुलियनले पनि बगरमा फस्टाउँदै गरेको किसानहरूको मिहिनेत देखेर निकै खुसी हुनुभयो । बगरमा सुन फलाइरहेका किसानहरूलाई देखेपछि थप सहयोगका लागि पनि गृहकार्य गर्ने उहाँले आश्वासन दिनुभएको छ । त्यस्तै वातावरण विज्ञ प्रज्ञ जन एलम्बरले कमला नदीले क्षतविक्षत बनाएको भू–भागमा यति ठूलो परिवर्तन हुनु वास्तवमै कृषि क्रान्ति भएको धारणा राख्नुभयो ।
युएनडिपीद्वारा एक करोड १४ लाख २२ हजार ६ सय र नगरपालिकाद्वारा एक करोड ३६ लाख २५ हजार लगानीमा हराभरा बनिरहेको बालुवाघारी नगरले भूमिहीन, गरिब र विपन्नहरूलाई २५ वर्षका लागि हस्तान्तरण गरेको छ । कृषि पर्यटनका रूपमा विकास भइरहेको यो बालुवाघारी कृषिप्रति चासो राख्ने जोकोहीका लागि महत्वपूर्ण अध्ययन केन्द्र बन्न सक्ने कृषि विज्ञहरू बताउँछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच