ललितपुर । उपसभामुख इन्दिरा रानाले ठूला-ठूला भवन बनाउँदा खेती गर्न जमिन बाँकी नरहने भन्दै ठूला भवन बनाउन दिन नहुने बताउनुभएको छ । विश्व शौचालय दिवसका अवसरमा विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा स्मार्ट वास सोलुसन्स नेपालद्वारा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
राम्रो काम आफैंबाट सुरु गरिनुपर्ने र अरूलाई पनि प्रोत्साहित गर्नुपर्नेमा जोड दिँदै उपसभामुख रानाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयर बनेलगत्तै काठमाडौंका शौचालय व्यवस्थापनका लागि गरेको पहलमा होटल व्यवसायीले नै असहयोग गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । नेपालमा सार्वजनिक शौचालयको अवस्था दयनीय रहेको उल्लेख गर्दै संघीय संसद् भवनका शौचालयसमेत फोहोर तथा दुर्गन्धित रहेको उहाँले बताउनुभयो ।
संघीय संसद् भवनका शौचालयको अवस्था बुझ्न रातीको समयमा अनुगमन गर्दा पुरुषको शौचालय दुर्गन्धित भएको र महिलाको शौचालयमा स्यानिटरी प्याडको सही व्यवस्थापन नभएको पाइएकोे उहाँको भनाइ थियो । वाटर एड नेपाल र एसएनभी नेपालको आर्थिक सहयोगमा स्मार्ट वास सोलुसन्सद्वारा आयोजित सार्वजनिक शौचालयको व्यवस्थापन गोष्ठीमा उपसभामुख रानाले भन्नुभयो, ‘मर्यादा पालकहरू साक्षी हुनुहुन्छ, हतार छ भन्दैमा प्याडसमेत बकेटमा नहाली बाहिरै छर्न त मिलेन नि, बाहिर छरिएका स्यानिटरी प्याड सफाइ कर्मचारीले हातैले टिप्नुपर्ने अवस्था रहेछ, यस्तो अवस्था अन्त्यका लागि मैले सांसदहरूसँग छलफल पनि चलाएको छु ।’ सिंहदरबारभित्रको आफ्नो सचिवालयको शौचालय सफा गर्न सफाइ कर्मचारीलाई पर्खेर बस्ने चलन नरहेको र शौचालय सफाइ आफैंले गर्दै आएको पनि उहाँले बताउनुभयो । उपसभामुख रानाले भन्नुभयो, ‘हामीले आफूले प्रयोग गर्ने शौचालय आफैं सफा गर्ने संस्कार बसाल्यौँ भने शौचालयहरू फोहोर हुँदैनन् ।’ कोरोना महामारीका बेला हनुमानढोका दरबार स्क्वायर क्षेत्रमा आफूले बाहिरी मानिसहरूले गरेको दिसा खुर्केर सरसफाइ गरेको समेत स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘कोरोनाका बेला हामीले खाना खुवायौँ, मानिसहरूले सार्वजनिक शौचालय अभावमा बाहिरै दिसापिसाब गरेछन्, तपाईंले खाना खुवाएर बाहिरै दिसापिसाब गरे भन्ने गुनासो आएपछि मैले मन्दिर आसपासको दिसापिसाब साबेलले खुर्केर सरसफाइ गरेँ, पानीले पखालेँ ।’ काठमाडौं उपत्यकाका तीनवटै दरबार स्क्वायर क्षेत्रमा सार्वजनिक शौचालय नरहेको र मानव आवागमन हुने ठाउँमा शौचालय हुनुपर्ने र त्यसलाई ढलमा जडान गर्नुपर्ने बहस चलाउँदै आएको उहाँको भनाइ थियो । पूर्वमन्त्री गणेश शाहले त अस्पतालका शौचालयहरूको अवस्था झनै दयनीय रहेको बताउनुभयो । शौचालयको फोहोर तथा दुर्गन्धका कारण बिरामीमात्र नभई बिरामी हेर्ने कुरुवा र बिरामी हेर्न जानेहरूसमेत बिरामी पर्ने गरेको उहाँको भनाइ थियो ।
त्यसो त नेपालमा ५० वटा सार्वजनिक शौचालयको सर्वेक्षणमा तीनवटामात्रै प्रयोग गर्न उपयुक्त रहेको देखिएको छ । स्मार्ट वास सोलुसनले नेपालमा ५० वटा शौचालयको सर्वेक्षणमा तीनवटामात्रै प्रयोग गर्न उपयुक्त रहेको जनाएको हो । स्मार्ट वास सोलुसनका अध्यक्ष ई. रामदीप साहले सार्वजनिक शौचालयको प्रवद्र्धन तथा सुधारका लागि तीन तहकै सरकार लाग्नुपर्ने बताउनुभएको छ ।
दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बनेर नेपालले शौचालय निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको भए पनि पूर्ण सरसफाइको लक्ष्य हासिल गर्ने विषयमा अझै धेरै काम गर्न बाँकी रहेको उहाँको भनाइ थियो । गोष्ठीमा विभिन्न विज्ञहरूले शौचालय र सरसफाइसम्बन्धी झण्डै आधा दर्जन कार्यपत्र प्रस्तुत गरेका थिए । जिपिएफ नेपालका अध्यक्ष डा. चिरञ्जीवी भट्टराई, एरोजन सस्टेनेबल स्यानिटेसनकी अर्चना श्रेष्ठ, विश्व स्वास्थ्य संगठन नेपाल र युनिसेफका प्रतिनिधि क्रमशः डा. सुदन पन्थी र सिद्धि श्रेष्ठ, वाटर एड नेपालका सिनियर वाड एडभाइजर गोविन्द श्रेष्ठलगायतले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव राम आधार साह, एसएनभी नेपाल वाटर सेक्टर लिडर नारिदा खावाजा, काठमाडौं महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विमलकुमार हाडा र स्मार्ट वास सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद शर्मालगायतले पनि सार्वजनिक शौचालयका बारेमा चर्चा गरेका थिए ।
युएन वाटरले सार्वजनिक गरेको विवरणअनुसार नेपालको ५१ प्रतिशत जनसंख्याले मात्र सुरक्षित सरसफाइ सेवा उपयोग गर्ने गरेको पाइएको पनि उहाँले जानकारी दिनुभयो । नेपालका ६४ प्रतिशत जनसंख्यामा साबुनपानीले हात धुने सुविधा रहेकोमा शतप्रतिशत हुनुपर्ने अध्यक्ष साहले बताउनुभएको छ । नेपाल २०७६ असोज १९ मा खुला दिसामुक्त र पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा भएको थियोे । हरेक वर्ष नोभेम्बर १९ तारिखका दिन विश्व शौचालय दिवस मनाउने गरिन्छ । यस वर्ष दिवसको नारा ‘परिवर्तनका लागि तीव्रता’ रहेको छ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वमा साढे तीन अर्ब मानिस अझै पनि शौचालय सुविधाबाट वञ्चित रहेका छन् । त्यसमध्ये ४१ करोड ९० लाख मानिस अझै पनि खुला स्थानमा शौच गर्छन् । खुला दिसापिसाबका कारण फैलिने रोगले दैनिक एक हजार बालबालिकाको मृत्यु हुने गरेको छ । जसले प्रकृति, महिला र अन्य संकटापन्न समूहको स्वास्थ्यमा जोखिम बढाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच