सरकारले सामाजिक सञ्जाल नियन्त्रण तथा प्रतिबन्ध लगाउन कानुन बनाएको छ जस अनुसार टिकटकमाथि प्रतिबन्ध लगाएको छ । राणा शासनकालमा जनतालाई रेडियो सुन्न प्रतिबन्ध थियो । केवल राणा शासकलाई मात्र रेडियो सुन्ने अधिकार थियो, पञ्चायत कालमा रेडियो राख्न लाइसेन्स लिनुपर्ने नियम थियो र अहिले गणतन्त्रमा सामाजिक सञ्जालमाथि नियन्त्रण र प्रतिबन्ध लगाउने कानुन बनाएको छ । यहाँ आमा मरी भन्ने पीर होइन कि काल पल्क्यो भन्ने पीर हो । सरकारले टिकटकबाट समाजमा विकृति, विसंगति फैलिएको, धर्म, जातजातिमाथि आक्रमण गरेको आदि आरोप लगाएको छ ।
सबै सामाजिक सञ्जालहरूमा केही न केही विकृति, विसंगति छन् तर यसको राम्रा पक्षहरू पनि प्रशस्तै छन् । राम्रा पक्षहरूलाई नदेख्ने तर विकृतिमात्र देख्ने सरकारको आँखा कस्तो ? कृष्णबहादुर महराको रोशनी काण्ड के थियो, राज्यको ढुकुटी मासेर आफ्नो छोरा प्रकाश दाहाललाई बीना मगरसँग सगरमाथा चढ्न पठाउँदाको कार्य के हो ? अर्बौं खर्बौंको भ्रष्टाचार गरेर हुण्डीमार्फत विदेशी बैंकहरूमा पैसा पठाउने कहाँको सदाचार हो ? नेताहरूले हुण्डी कारोबार गर्दा कानुनसम्मत हुन्छ र ? नीतिगत भ्रष्टाचारलाई दिने प्रोत्साहन के हो ? सरकारमा बसेर अन्तर्राष्ट्रिय तस्करको भरिया बनेर क्वीन्टलका क्वीन्टल सुन भित्र्के काण्ड के हो ?
नागरिकहरूको सामान्य कमजोरीलाई कमजोरी देख्ने तर आफूहरूले मुलुकलाई समाप्त पार्नेगरी काम गर्दै जाने ? आफ्नो कुकर्ममाथि कहिले प्रतिबन्ध लगाउने ? सामाजिक सञ्जाललाई नियमन गर्ने हो न कि नियन्त्रण र प्रतिबन्ध ?
दैवी प्रकोप पीडितको उद्धारका सामान हीनामिना गर्ने के हो ? अर्बौंको विदेशी ऋण लिएर भ्रष्टाचार गरेको के जनता हो ? संवैधानिक अंगहरूको लिलामबिक्री, सरुवा बढुवामा कमिसन, तस्कर, माफिया र विदेशीको स्वार्थमा विधेयक ल्याएर, कानुन बनाएर देशलाई आर्थिक रूपमा कमजोर बनाउने र विदेशीको गुलाम बनाउने कार्य के हो ? विदेशीले नागरिकता पाउने गरी कानुन बनाउने कार्य के हो ?
आइएनजिओले बनाइदिएको संविधानलाई जनताले बनाएको भनेर सेतो झूठ बोल्ने को हो, पुष्पकमल परिवारसहित आफ्नो घरमा जुवा खेलेको फोटो सामाजिक सञ्जालमा अपलोड गर्नु के विकृति होइन ? सरकार बनाउन र बचाउन सांसद किनमेल र प्रलोभन दिनु के असल काम हो ? चुनावमा पैसा, रक्सीमासु, मोबाइल, लुगा बाँड्नु कुन नैतिकताभित्र पर्छ ?
नागरिकहरूको सामान्य कमजोरीलाई कमजोरी देख्ने तर आफूहरूले मुलुकलाई समाप्त पार्ने गरी कामहरू गर्दै जाने ? आफ्नो कुकर्ममाथि कहिले प्रतिबन्ध लगाउने ? सामाजिक सञ्जाललाई नियमन गर्ने हो न कि नियन्त्रण र प्रतिबन्ध । टिकटक नेपाली जनताको कारणले सरकारले बन्द गरेको हुँदै होइन । एक त सामाजिक सञ्जालहरूबाट सरकार तथा नेताहरूमा रहेको बेथिति, विकृति, विसंगति र राष्ट्रघाती चरित्रको उजागर भइरहेकोले शासकवर्ग आत्तिएका हुन् र अर्को मुख्य रूपमा अमेरिका, इण्डिया र युरोपका केही मुलुकहरू टिकटक चीनको एप्स भएकोले बन्द गरेको र नेपाललाई पनि चीनविरोधी आफ्नो सिन्डिकेटमा ल्याउन बन्द गराइएको हो ।
शासकवर्गले चीनविरोधी आफ्ना मालिकहरूको स्वार्थ पूरा गर्न नै टिकटक बन्द गरेको हो । आफ्नो निकटतम छिमेकी जो नेपालको सधैं हित चाहिरहन्छ त्यसको विरुद्धमा उत्रँदा नेपाल र नेपालीलाई हुन सक्ने हानीका बारेमा शासकवर्गले सोच्न सकेनन् । सबैलाई थाहा छ यो व्यवस्थाका चौकीदारहरू इन्डो पश्चिमा शक्ति विशेषगरी इण्डिया, अमेरिका र भेटिकनका आज्ञापालक हुन् । यिनीहरूलाई न त नेपालको माया छ न त नेपालीको । केवल आफ्नो र मालिकको हित पूरा गर्न यिनीहरूलाई सत्ता चाहिएको हो ।
हामी नेपालीहरूको शत्रु यी विदेशी शक्तिराष्ट्रका अनुचर हुन् र यिनीहरूलाई प्रत्यक्ष र परोक्षसाथ दिने केही थान मिडिया, कथित बुद्धिजीवी, अधिकारवादी, धर्मको आवरणमा भएका विदेशीका चाकरहरू, नक्कली राष्ट्रवादी र निर्मल निवासभित्र रहेका विदेशीका आज्ञाकारी कार्यकर्ता । राजा ज्ञानेन्द्रसमेत यी भाडाका चौकीदारहरूको चक्रव्यूहमा फसिसकेका छन् । कुनै शास्त्रमा नभएको लिंग भैरवीको मूर्ति इण्डियाबाट ल्याएर यहाँ स्थापना गर्ने जग्गु वासुदेव उर्फ सत्गुरु जो उक्त मूर्तिबाट तान्त्रिक उपचार गरी नेपालको अहित गर्न चाहन्छन् उनको जन्मदिनमा उनलाई भेट्न होटलमा राजा जान्छन् । जग्गु दादा कुनै सिद्ध महात्मा होइनन्, उनी त आध्यात्मको आधुनिक व्यापारी हुन् । राजा एकजना बौद्ध भिक्षुलाई भेट्न जान्छन् पुत्रसहित । राजा, युवराज र भिक्षुको पछाडि दलाई लामाको फोटो झुण्ड्याइएको हुन्छ । यसको प्रतीकात्मक कारण राजाले बुझेनन् वा बुझ्न दिइएन ?
एउटा शक्ति छ जो राजालाई दलाई लामा बनाउन चाहन्छ र राजा उनीहरूको पैतला पच्छाइरहेका छन् । पर्दापछाडिको शत्रु गौण हो तर पर्दाअगाडिको शत्रु मुख्य हो । जबसम्म पर्दा अगाडिको शत्रुलाई नाश गर्न सकिँदैन तबसम्म नेपाली जनताको न त सपना पूरा हुनेछ न त गन्तव्य नै प्राप्त हुनेछ । सन् २००१ मा रिलिज भएको सत्य घटनामा आधारित फिल्म ‘एनिमी एट द गेट’ मा आफ्नो ढोकामा उँभिएको शत्रुलाई कसरी समाप्त पार्न सकिन्छ भनेर देखाएको छ । कुनै बेला रुस र जर्मनी, हिटलर र स्टालिन मिल्ने साथी थिए तर समय परिस्थिति र सत्तालिप्सा र साम्राज्यवादी नीतिले दुवै देश एकअर्काको शत्रु बने ।
यो फिल्ममा १९४२ देखि ४३ सम्मको कालखण्ड देखाइएको छ । जर्मनी सेना सोवियत संघमाथि आक्रमण गर्छ र ऊ भोल्गा किनारसम्म आइपुग्छ स्टालिनगार्ड कब्जा गर्न । फिल्ममा जर्मनीविरुद्ध आफ्नो सेनालाई लड्न पठाउने बेला उसको कमान्डरले जित कि मर, युद्धबाट भागेमा मृत्युको सजाय सुनाउँछन् । जो सेनाहरू भाग्न खोज्छज् उसलाई गोली हानी मारिन्छ । यही कुरा ख्रुस्चेब पनि भन्छन् । हतियारको कमीका कारण रेड आर्मीलाई दुईजनामा एकजनालाई मात्र बन्दुक दिइन्छ, आफ्नो साथी मरेपछि उसको बन्दुकले लड्न आदेश दिइन्छ । यसमा कम्युनिष्टहरू राष्ट्रको रक्षाका लागि आफ्नो सेनासँग कति क्रूर हुन्छन् भन्ने देखाएको छ । तर, नेपालका कथित कम्युनिष्टहरू राष्ट्रको विनाशका लागि कति क्रूर हुन्छन् हामीले देखिरहेका छौँ ।
सोभियत संघमाथि त्यसबेला उसको शत्रु जर्मनीले प्रत्यक्ष सैन्य आक्रमण गरेको थियो तर नेपालमा विदेशी शत्रुुहरूले आफ्ना समर्थकमार्फत बारम्बार आक्रमण गरिरहेका छन् र प्रत्येक आक्रमणमा नेपाल र नेपाली पराजित भइरहेका छन् । हामीले पहिले हाम्रो प्रत्यक्ष तथा देशभित्रका मकुण्डोधारी शत्रुहरूलाई चिनौं ।
बैसिली जेत्सेव एउटा गोठालो थियो, ऊ सोवियत सेनामा अग्र सैनिक अचुक स्नाइपर अर्थात् निशानाबाज हुन्छ । उसले आफ्नो अचुक निशानाले आफू र कमिसार दानिलोवको ज्यान जोगाउँछ । निकिता ख्रुस्चेव सैन्य संयोजनका लागि स्टालिनगार्ड आइपुग्छन् । सोवियत संघ हारिरहेको थियो । युद्ध कसरी जित्ने भन्नेबारे उनी सेनाका कमाण्डरलाई प्रश्न गर्छन् । दानिलोवले कमान्डरहरूले आफ्नो सेना तथा जनताको मनोबल बढाउन एउटा आदर्श खोज्ने र मिडियाबाट उसको प्रचार गर्न जोड दिनुपर्ने भन्छन् । ख्रुस्चेवले को छ त्यस्तो आदर्श पुरुषभन्दा दानिदोव बेसिलीको नाम लिन्छन् र उनको बहादुरीको कथा सुनाउँछन् । त्यसपछि प्रत्येक दिन बेसिलीको वीरताका कथाहरू मिडियामा आउन थाल्दा सेना तथा देशवासीको मनोबल बढ्छ ।
अहिले नेपालमा दुर्गा प्रसाईलाई बेसिलीको रूपमा अगाडि सारिएको छ । उनको अतीत हेर्ने हो भने झट्ट उनलाई विश्वास गर्ने ठाउँ छैन । एउटा व्यक्तिले एक्लैको भरमा यति ठूलो जनसमर्थन कहाँबाट पाउँछ ? कुनै शक्तिको आडमा उनी घमण्डले मात्तिएका पनि छन् । आफूलाई पृथ्वीनारायण शाहसंँग तुलना गर्छन् । यो आत्मविश्वास उनमा कसले जगायो ? त्यसमाथि उनले आफूहरूले आन्दोलन सुरु गरे विदेशी शक्तिले पनि साथ दिनेछ भनेर आत्मविश्वासका साथ कसरी भन्न सके ? यद्यपि उनले करिब करिब जायज मुद्दा उठाएका छन्, उनका तर्कहरू सत्यको नजिक छन् ।
नेताहरूको पोल उनी खोलिरहेका छन् तर के उनी बेसिली बन्न सक्लान् ? यहाँ को नक्कली र को सक्कली देशभक्त चिन्न गाह्रो छ । सक्कली देशभक्तहरूमा एकता होइन कि विभाजन छ । यस्तो अवस्थामा दुबैले बोकेको मुद्दाले के गन्तव्य पाउला ? सबै बेसिली बन्न सक्दैनन् । बेसिलीले उनको निशानाबाजीबाट दशजनाभन्दा बढी जर्मन कमान्डरहरूलाई मारेपछि जर्मनीहरू चकित हुन्छन् । उनलाई समाप्त पार्नर सोवियत सेना र जनताको मनोबल गिराउन जर्मनबाट कुशन निशानेबाज मेजर कोनिङलाई स्टालिनग्राड पठाइन्छ । कोलिनले कैयौं पटक प्रयास गर्दा पनि बेसिलीलाई मार्न सक्दैनन् ।
अन्त्यमा कोनिङको जासुसी गर्न दानिलोवले बाह्र वर्षीय किशोर सासा फिलिपोवलाई पठाउँछन् । सासाले उसलाई बेसिलीको बारेमा केही सत्य केही झूठो कुरा बताएर उसको विश्वास आर्जन गर्छन् । कोलिनले बेसिलीलाई मार्न जाल फ्याक्छ । पहिलो पटक बेसिलीले कोनिङमाथि गोली चलाउँदा उसको हात घाइते हुन्छ । बेसिली थकाईका कारण मृत सैनिकहरूको बीचमा निदाउँछन् । त्यसै बेला एउटा जर्मन सैनिक मृत सेनाहरूको सामान चोर्न आउँछ र उसलाई त्यहाँ बेसिलीको स्नाइपर लगबुक भेटाउँछ र त्यो लगेर आफ्नो कमाण्डरलाई दिन्छ ।
कमान्डरले कोनिङलाई बेसिली मरिसकेकोले जर्मन फर्कन आदेश दिन्छ तर कोनिङले भन्छ बेसिली ज्यूँदो छ । अन्तिम धराप थाप्न उसले सासालाई कसैलाई न भन्ने शर्तमा अब आफू कहाँ लुक्ने त्यो ठाउँ बताउँछ । यो उसको चाल थियो । सासाले यो कुरा बेसिली र दानालोवलाई बताउँछ । बेसिली र दानालोवलाई आफू लुकेको ठाउँ नजिक उसले देख्छ । उसलाई शंका सासामाथि हुन्छ र उसलाई मारेर झुण्डाउँछ ।
आफ्नो मुलुकको रक्षाका लागि एउटा बालकले पनि आफ्नो ज्यानको बलि दिन सक्छ भन्ने सन्देश यो फिल्मले दिएको छ । दानालोवले तानियाले वेसिलिलाई माया गरेको देखेपछि उनी दुःखी हुन्छन् र आफूप्रति घृणा भाव उत्पन्न हुन्छ । किनकि उनी पनि तानियालाई चाहन्थे । उनी कोनिङलाई मार्न लुकेको ठाउँबाट बाहिर प्रत्यक्ष हुन्छन् र कोनिङले उनलाई बेसिली सम्झेर गोली हान्छ, उनी मरेको देखेपछि कोलिङ बाहिर आउँछन् र बेसिलीले कोनिङको टाउकोमा गोली हानेर मार्छ । कोनिङको मृत्युपछि जर्मनीको हार हुन्छ, जर्मन सेना घर फर्किन्छन् ।
सोभियत संघमाथि उसको शत्रु जर्मनीले प्रत्यक्ष सैन्य आक्रमण गरेको थियो तर यहाँ विदेशी शत्रुुहरूले आफ्ना समर्थकमार्फत बारम्बार आक्रमण गरिरहेका छन् र प्रत्येक आक्रमणमा नेपाल र नेपाली पराजित भइरहेका छन् । हामीले पहिलो हाम्रो प्रत्यक्ष तथा देशभित्रका मकुण्डोधारी शत्रुलाई चिनौं । राजा निर्मल निवासभित्र रहेका विदेशीका चौकीदारहरूलाई चिनेर उनीहरूको चक्रव्यूहबाट बाहिर आऊन् तब मात्र यो देश विदेशी हस्तक्षेपबाट मुक्त हुनेछ । नत्र असम्भव छ । पहिला हाम्रो ढोका अगाडि उभिएका देशी शत्रुहरूलाई चिनेर हाम्रा देशी शत्रुहरूलाई समाप्त पारौं अनि विदेशी बैरीहरू आफ से आफ पछि हट्नेछन् । बाहृय शत्रुभन्दा हाम्रा ढोकामा उभिएका शत्रुहरू हाम्रा लागि अत्यन्त घातक हुन् । नेपाल र नेपालीको शत्रु बाहिर होइन यहीँ छन्, एनिमि एट द गेट ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच