अहिले आगामी मंसिर ७ र ९ गतेको दुर्गा प्रसाईको एक्लो अभियानको किन अत्यधिक चर्चा र चासो सार्वजनिक भएको छ ? प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता खड्गप्रसाद ओली विरोधको नाममा प्रसाईको अभियानलाई किन प्रचारप्रसार गर्दै छन् ? भनिन्छ यी दुबै दिन राजतन्त्र पुनःस्थापनासँग सम्बन्धित विषय हुन् । प्रसाईको एकल अभियानलाई राष्ट्रिय विषयवस्तु बनाउन एमाले र माओवादी किन लागिपरेका छन् ? २०४६ सालमा फागुन ७ को प्रस्तावित जनआन्दोलनको पनि यस्तै चासो, चर्चा पञ्चायत र पञ्चहरूले गरेका थिए ।
त्यसैको झल्को दिने चर्चा किन सार्वजनिक हुँदैछ ? यो अहिले आमनेपालीबीच चासो, चिन्ता, छलफल र बहसको विषय बनाउन सरकार–प्रतिपक्षी दलले किन आवश्यकता देख्यो ? एमाले र माओवादीले विरोधको नाममा यो अभियानको प्रचारप्रसार किन गर्दैछ । यी दुबै नेता अहिले उत्तरी र दक्षिणी ध्रुव जस्तै छन् तर दुर्गाको विरोधमा एकरूपता किन ? यो वास्तवमा रहस्यमय भएको छ । हुन त नेपालका आन्दोलन सबै बाहृयशक्तिद्वारा सञ्चालित, परिचालित, निर्देशित र पोषित हुने विषय घाम जस्तै छर्लंग छ ।
आन्दोलन गर्नेहरूले जनताका आँखामा कतिसम्म छारो हाल्छन् भन्ने कुरा माओवादीले भारतमा बसेर भारतकै नुनपानी खाँदै उसकै सहयोगमा देशमा आतंक र हुण्डरी मच्चाउँदै गर्दा भारतसँग सुरङ युद्ध गर्ने जस्ता बकम्फुसे कुरा गरेर जनतालाई गुमराहमा पार्यो । जनतालाई इमोसनल ब्याल्कमेलिङ गर्ने काम गरेर सत्तामा आएको कुरा सबै नेपालीलाई कण्ठै छ । २०४६ सालमा कांग्रेस र कम्युनिष्टहरूले गर्ने आन्दोलनको भव्य प्रचार विरोधका नाममा तत्कालीन सरकार र पञ्चहरूले गरेका थिए । त्यस बखतको आन्दोलन संगठित थियो । आन्दोलनको नेतृत्व लामो राजनीतिक संघर्षले उत्पादन गरेको त्यागी व्यक्तित्वका रूपमा देशवासीले चिनेका, सबैले विश्वास गरेका मनमोहन अधिकारी र कांग्रेसका ख्यातिप्राप्त नेता गणेशमान सिंह थिए ।
सरकारले कुनै विषयलाई अत्यधिक विरोध गर्दा त्यो विरोध नभएर अन्ततः समर्थन हुन्छ भन्ने अनुभव हामीले २०४६ मा गरेको विषय हो । दुर्गा प्रसाईंको यो कार्यक्रम संगठित नभएकाले यसलाई आन्दोलन नै भन्न सकिँदैन ।
इमानदार र त्यागी नेतृत्वहरूको व्यक्तित्वबाट तत्कालीन सरकार र पञ्चहरू आत्तिएका थिए । त्यस बखतसम्म त आन्दोलनकारीसँग बीपी कोइरालाद्वारा प्रतिपादित प्रजातान्त्रिक समाजवाद नामक जनतालाई स्पर्श गर्ने राजनीतिक सिद्धान्त थियो । तसर्थ सरकार यो आन्दोलनबारे सामान्य जानकारी हुनासाथ छट्पटीन सुरु गरेकाले २०४६ फागुन ७ को संयुक्त आन्दोलनको विरोधको नाममा प्रचारप्रसार नै तत्कालीन शासक र पञ्चहरूको मुख्य कमजोरी थियोे । त्यो कमजोरीलाई नै दाहाल-ओलीले विरोधको नाममा पुनरावृत्ति गर्दैछन् । त्यसैको परिणाम हो कि बहुदलीय व्यवस्थामा सूर्यबहादुर र लोकेन्द्रबहादुरहरू प्रधानमन्त्री पनि बने ।
त्यस आन्दोलनलाई सफल गर्न तत्कालीन सरकार र पञ्चहरूको ठूलो भूमिका थियो । पञ्चायतले त्यस आन्दोलनको विरोध र त्यसलाई परास्त गर्ने रणनीति सार्वजनिक गर्दै गर्दा आन्दोलनको देशव्यापी प्रचारप्रसार गर्ने काम तत्कालीन शासक र पञ्चहरूले गरेका थिए । आन्दोलन सफल हुने समयसम्म पनि आन्दोलनकारीले प्रचारप्रसार गर्नु नपरेको आन्दोलन थियोे २०४६ को, तत्कालीन संयुक्त जनआन्दोलन । सरकारले कुनै विषयलाई अत्यधिक विरोध गर्दा त्यो विरोध नभएर अन्ततः समर्थन हुन्छ भन्ने अनुभव हामीले २०४६ मा अनुभव गरेको विषय हो । दुर्गा प्रसाईको यो कार्यक्रम संगठित नभएकाले यसलाई आन्दोलन नै भन्न सकिँदैन ।
तथापि यसलाई अभियान त भन्नु नै पर्छ । कतै माओवादी एमाले र दुर्गा प्रसाईबीच तालमेल त छैन भनेर आशंका गर्नेलाई बेठीक हुन् भनेर किटानीसाथ भन्न सकिने अवस्था छैन । किनकि भारतसँग सुरङ युद्ध भारतमै बसेर भारतकै आटोपिठोमा बाँच्दाका बखत घोषणा गर्नेहरूले अब नयाँ सम्भावित व्यवस्थामा आफ्नो भूमिका बर्करार हुने निश्चित भएकाले भित्री समर्थन नहोला भन्न सकिन्न । त्यसैले अहिले विरोधको नाममा एमाले र माओवादीले दुर्गाको अभियानको प्रचारप्रसार त गर्दै छैनन् ? यस्ता आशंका गर्ने ठाउँ विगतका यिनीहरूकै क्रियाकलापले दिएको छ । पञ्चाय कालमा पञ्चायको उग्र विरोध गर्ने वामपन्थी नेताहरू समयक्रममा मन्त्री, अञ्चलाधीश भएको घटनाक्रमले यो कोणबाट विरोध कतै प्रचारप्रसारको अभियान त होइन भन्ने आशंका गर्न सकिन्छ ।
२०४६ सालको जनआन्दोलनपछि कांग्रेस र कम्युनिष्टपार्टीका नेताहरूले त्यस आन्दोलनलाई नेताहरूको मात्रै समृद्धिको धनआन्दोलन बनाए । सुरुवातमा उनीहरूले बाख्रालाई खोरमा हुल्न हरियो घाँसको डालो देखाए । त्यो हरियो घाँस थियो निमुखालाई न्याय र गरिबलाई आय भन्ने नारा । त्यो जनतामाथि भ्रमको खेती रहेछ भन्ने विषय समयक्रममा प्रमाणित भएका कारण ती दुबै पार्टीका नेताहरू अहिले सुनबाट पित्तलभन्दा तल झरेका छन् । त्यसको एकमात्र कारण हो भ्रष्टाचार, अनियमितता, कुशासन, भाइभतिजावाद, स्वास्नी, सालासाली र गर्लफ्रेण्डवाद ।
अहिले पुष्पकमल दाहाल देशको प्रधानमन्त्री हुन् । उनी राज्यशक्तिलाई परिचालन गर्ने आधिकारिक व्यक्तिभन्दा पनि संस्था हुन् । संसदीय व्यवस्थामा सम्भावित र अब हुने प्रधानमन्त्री भनेको संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता हो । संसदीय व्यवस्थामा प्रतिपक्षी दलको नेतालाई शासनको वैकल्पिक शक्ति र दोस्रो शक्तिशाली नेता मानिन्छ । त्यो गरिमामय पदमा छन् खड्गप्रसाद ओली । यता अर्को आन्दोलनकारी पक्षको नेतृत्व गर्ने व्यक्ति अनुभव, योग्यता, विश्वसनीयता नभएका र छरछिमेकी समेतले नचिनेका उमेर र व्यवहारले अपरिपक्व दुर्गा प्रसाई ।
यो त हात्ती र मुसाको लडाइँ जस्तो देखिन्छ तर हात्तीमा नैतिक, चारित्रिक, शासकीय, जनबल नभएपछि मुसासँग पनि हात्ती लत्रदो रहेछ भन्ने कुरा दाहाल र ओलीको गालीगलौज र आलोचनाले प्रमाणित गर्यो । बुद्धि भ्रष्ट भएपछि विद्वानलाई मुर्खले पनि खेद्छ भन्ने कुरा अहिले नेपाली जनता पत्याउन बाध्य भएका छन् । राजनीतिको लामो इतिहास भएका विगतमा त्याग पनि भएकाहरूले शासकीय हैसियतमा रहँदा अनैतिकता र अनियमितताका माध्यमले भ्रष्टाचारमा डुब्दा सत्तामा रहनेहरू कति कमजोर हुँदा रहेछन् भन्ने तुलना गर्ने अवसर दुर्गा प्रसाईको आन्दोलनका सम्बन्धमा पुष्पकमल दाहाल र खड्गप्रसाद ओलीका आलोचनात्मक विचारले प्रष्टै पारेको छ ।
जुन व्यवस्थाले जनताको अवस्थामा तात्विक सुधार गर्दैन अन्तत्वगत्वा त्यो व्यवस्था किमार्थ टिक्दैन । व्यवस्थाबाट अवैधानिक लाभ लिनेहरूले जति छट्पटाए पनि लाख कोसिस गरे पनि आमजनतलाई दुःखी बनाउने व्यवस्था अन्ततः ढल्छ । व्यक्तिको फाइदाका लागि कुनै व्यवस्था ल्याउनु हुँदैन । व्यक्ति र समूहको फाइदाका लागि मात्रै फेरि कुनै व्यवस्थालाई बचाउन हुँदैन । जनताको अवस्था फेर्ने व्यवस्थालाई जनता आफैंले स्वतः बचाउँछन्, कसैले बचाउन जरुरी हुँदैन । जनताको अवस्थालाई सकारात्मक परिवर्तन गर्न नसक्ने व्यवस्थालाई व्यक्ति होइन ईश्वरले पनि जोगाउन सक्दैनन् ।
जुन शासक अनैतिकता र गैरकानुनी बाटो हिँड्छ उसले ठुटोलाई पनि बाघ देख्छ । अहिले दुर्गा प्रसाईं एउटा ठुटो हुन तर यिनीहरूका लागि बाघ जस्तै भएका छन् । राज्य शक्तिको हालिमुहाली लिएर बसेकाहरू एउटा व्यक्तिसँग किन छट्पटिन्छन् ?
व्यवस्था जान्छ कि भन्ने डर हुनेहरूले समयम जनताको अवस्था फेर्न सक्नुपर्दथ्यो । फाटेको लुगाले लाज किमार्थ छेकिँदैन किनकि अब लुगा यति फाटिसक्यो कि अब टाल्ने टालोसम्म बाँकी छैन । अत्याचारको पराकाष्ठाले जनता अब भित्रभित्रै जुर्मुराएका छन् । जस्तो सुकेको खरमा एक काँटी सलाई कोर्दा सानो आगोले अलिकति ठाउँ पाउने बित्तिकै हवाले थप डढाउन मद्दत गरेजस्तै शासकहरूले अत्याचार गरे भने त्यसको विरोधमा जनमत बन्ने विषय प्रकृतिको नियम जस्तै हो । कतै प्रसाई यो व्यवस्था खरानी पार्ने सलाईको काँटीको काम त गर्दै छैनन् ? यदि यस्तो भयो भने पनि अनौठो मान्नुपर्ने छैन । अन्याय गर्नेहरूको दिन धेरै लामो हुँदैन । जसरी खहरे एकछिन उफ्रन्छ र पछि सुक्छ त्यस्तै अत्याचारीहरूको पनि अवसान अवश्यम्भावी छ ।
अब नेपाली राजनीतिको परिस्थिति पनि त्यतै निर्देशित हुँदैछ । परिवर्तनका लागि नेता चाहिँदैन । परिवर्तनको आन्दोलनले नै नेता जन्माउँछ । परिपक्वसमेत बनाउँछ । अहिलेको अभियानमा पनि परिपक्व नेतृत्व छैन । जनता एकैठाउँमा जम्मा हुन्छन् रे भन्दैमा आत्तिनु भनेको शासकहरूमा नैतिक, चारित्रिक बल नहुनु हो । नैतिक र चारित्रिक बल नभएको शासक शासनमा लामो समयसम्म किमार्थ टिक्दैन । अहिलको परिस्थिति पनि शासकहरूमा नैतिक र चारित्रिक बल नहुँदा दुर्गा प्रसाई जस्तो नेतृत्व क्षमता नभएको, पूर्वानुभव नभएको, स्थिरता र गाम्भीरतासमेत नभएको व्यक्तिसँग दाहाल र ओली किन तर्सन्छन् ? कारण स्पष्ट छ भ्रष्टाचार अनियमितता र कुशासन ।
खास गरी एमाले र माओवादी नेताहरूका कमजोरी दुर्गा प्रसाईलाई पूरै थाहा भएकाले यहाँ परिस्थिति जोगीदेखि भैंसी डराको भैंसीदेखि जोगी डराको भन्ने उखान ठ्याक्कै चरितार्थ भएको त होइन ? जनतालाई बेवास्ता गर्ने र भ्रष्टाचार, अनियमितता गर्ने शासकसँग मनोबल हुँदैन । अहिलेका शासकहरूको मुख्य कमजोरी र समस्या भनेको भ्रष्टाचारले कमजोर बनाएको आत्मबल हो । कारण हो भ्रष्टाचार, अनियमिता र कुशासनका कारण जनताको छट्पटीले अब हाम्रो दिनगन्ती सुरु भएको हो भन्ने बुझाइको छट्पटी जस्तै छट्पटी उत्पन्न हुँदा आन्दोलनको पूर्वाधार नभएको, अनुभव नभएको र नेतृत्व पनि नभएको नेतृत्वको आन्दोलनबाट यिनीहरू किन आत्तालिएका छन् भने आफ्नो कुशासन, भ्रष्टाचार, अनियमितता अब टिक्दैन भन्ने निष्कर्षमा यिनीहरू पुगेका छन् ।
कुकुरले जुठो खानेलाई टोक्न सक्दैन भन्छन् । दुर्गा प्रसाईको हिजो रहलपहलमा आशा गर्नेहरू उसको पछाडि कुर्लिए पनि अगाडि लज्जावती देखिए । जुन शासक अनैतिकता र गैरकानुनी बाटो हिँड्छ उसले ठुटोलाई पनि बाघ देख्छ । अहिले दुर्गा प्रसाई एउटा ठुटो हुन तर यिनीहरूका लागि बाघ जस्तै भएका छन् । राज्य शक्तिको हालिमुहाली लिएर बसेकाहरू एउटा व्यक्तिसँग किन छट्पटिन्छन् भन्दा सत्य डग्दैन र झुटो टिक्दैन भनेको यही हो ।
यो सन्दर्भमा अलबर्ट आइन्सटाइनका विचार सान्दर्भिक लाग्यो त्यसैले उनका विचार सापटी लिने अनुमति माग्छु । उनका अनुसार कमजोर मानिसले बदला लिन्छ, बलियोले माफी दिन्छ र बुद्धिमानले भुलिदिन्छ । अहिले एमालेले र माओवादीले बदलाको भावना सार्वजनिक गर्नु भनेको उनीहरू गलत छन् । त्यसैले, उनीहरू कमजोर छन् भन्ने प्रमाणित भएको छ । जसको साथमा खोटो मोहर छ उसको मन धुरमुर हुन्छ भन्ने बुढापाकाको भनाइ जस्तै अवस्था अहिले दाहल-ओलीको मनोविज्ञानमा देखिएको छ । हुन त राजनीतिमा कुरो र कुलो जता पनि जान्छ भनिन्छ तर यथार्थमा पानी बग्न भिरालो हुनैपर्छ र कुरो पनि तथ्य र सत्य हुनैपर्छ । दुर्गा प्रसाईं राजनीतिका खेलाडी नभए पनि उनले जुन अन्याय र अत्याचारको प्रतिनिधित्व गरेका छन् त्यो उनको एक्लो अनुभूति नभएर जनताको साझा अनुभूति हो ।
तसर्थ जनताको समर्थन उनतिर भएको सत्यलाई एमाले र माओवादीको विरोधको भाषा स्वीकारोक्ति हो भनियो भने के अत्युक्ति हुन्छ ? अभियान कर्ता अपरिपक्व र सरकार र प्रतिपक्षले यदि संयमता गुमायो भने परिस्थिति हिंसात्मक पनि बन्न सक्छ । यहाँ सधैं आन्दोलन हुने । आन्दोलनले परिवर्तन हुने । यस्तो अवस्थामा जनताको अवस्थामा परिवर्तन नहुने रोग यथावत् रहने दरो सम्भावनालाई नकार्न सकिँदैन । जनतालाई परिवर्तनका लागि परिवर्तन चाहिएको छैन । अब परिवर्तनको नेतृत्व गर्नेहरूसँग जनताको उत्थानका स्पष्ट खाका हुनुपर्छ । अहिले सत्ताधारी र अभियानका अभियन्ता दुर्गासँग पनि प्रष्ट खाका छैन । तसर्थ यस्ता अभियानले र यसलाई प्रतिकार गर्नेहरूले फेरि देशलाई द्वन्द्वमा होम्ने मात्रै काम भयो भने देशका लागि यसभन्दा अर्को दुर्भाग्य कुनै हुने छैन । अब परिवर्तनको नेतृत्व गर्नेसँग सुशासनको, विकासको र समृद्धिको स्पष्ट खाकाविना जनताले साथ दिँदैनन् । यसलाई सत्ता सञ्चालन गर्ने दाहाल, प्रतिपक्षमा बस्ने ओली, परिवर्तनको नेतृत्वको अभियानमा संलग्न दुर्गा र रवि लामिछानेसमेत सबैले बुझ्नुपर्छ ।
यस्ता पाङ्दुरे कुरालाई तपाईंजस्ताे परिपक्व र प्कृष्ट बाैद्धिक व्यकतिले छानेर,समातेर गिजाेलेर कतै ओली र पुकदा कै सेवा गरेकाे त हाेईन ? म शङ्का गराैं न गराैं तपाईं नै भनिदिनाेस् ।दुर्गा त पीडाबाैलाहा भएकाे मान्छे हाे जेगराे सहीगरेकाेछ ।पुकदा र ओजी स्वार्थ,दम्भ,सत्तसयर आदि बाैलनहा हुन ।