काठमाडौं । बैंक तथा वित्तीय संस्थाले एकै प्रकारका कर्जा खातामा ऋणीबीचको ब्याजदर अन्तर दुई प्रतिशतभन्दा बढीले फरक पार्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले वित्तीय सचेतनाका लागि सूचना जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने एकै प्रकारका कर्जामा समेत ग्राहकबीच अत्यधिक असमानता देखिएको भन्दै यस्ता कर्जा प्रदान गर्दा ग्राहकको जोखिम विश्लेषण गरी दुई प्रतिशतभन्दा बढीले फरक नपर्ने गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
साथै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा आफूले लिने कर्जासम्बन्धी नियामकीय प्रावधान तथा कर्जा प्रदान गर्ने संस्थाले लागू गर्ने शर्त बुझेरमात्र कर्जा लिन पनि राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थाले अबदेखि आफ्ना एटिएम मेसिनमा अनिवार्यरूपमा सिसिटिभी क्यामेरा राख्नुपर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो निर्देशन दिएको हो । एकीकृत निर्देशनअनुसार सबै मेसिनमा सिसिटिभी राख्नुपर्ने र उक्त सिसिटिभीको रेकर्ड कम्तीमा ९० दिनसम्म रहनुपर्नेछ । सिसिटिभीमा एटिएमबाट पैसा निकाल्ने व्यक्तिको अनुहार स्पष्ट देखिनुपर्ने छ तर सिसिटिभी राख्दा एटिएम प्रयोगकर्ताको पिन देख्नमात्रै नभई अनुमान गर्नसमेत नसक्ने गरी राख्नुपर्नेछ ।
विद्युतीय कारोबारमा आउने जोखिम पहिचान, विश्लेषण र व्यवस्थापन प्रभावकारी र व्यवस्थित बनाउन नीति तथा कार्यविधि तर्जुमा गर्दा राष्ट्र बैंकले जारी गरेको ‘साइबर रेसिलेन्स गाइडलाइन्स’ लाई मार्गदर्शनका रूपमा लिनुपर्ने व्यवस्था संशोधन गरिएको छ । त्यस्तै राष्ट्र बैंकबाट इजाजत पत्रप्राप्त बैंक तथा वित्तीय संस्था, मनिचेन्जर, विप्रेषण कम्पनी, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणालीको सञ्चालकमा बहाल रहेको व्यक्ति एकैपटक अन्य भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थामा प्रतिनिधित्व गर्न वा कुनै पनि पदमा बहाल रहन नपाउने व्यवस्थासमेत गरिएको छ ।
कर्जाको म्याद थप्न हानको माग
होटल संघ नेपाल(हान)ले कोरोना, रुस-युक्रेन युद्ध र मध्यपूर्वी मुलुकमा भएका युद्धबाट धरासायी बन्दै गएको पर्यटन तथा होटल उद्योगलाई राष्ट्रिय बजेट र मौद्रिक नीतिबाट सम्बोधन हुन नसकी बैंकलाई बुझाउनुपर्ने साँवाब्याज समयमा बुझाउन नसकेको भन्दै साँवाब्याज बुझाउने समयावधि थप गर्न माग गरेको छ । हाल पदाधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग भेटेर यस्तो माग गरेका हुन् । अध्यक्ष विनायक शाहले उक्त अवसरमा मुलुकमा पर्यटन आगमन वृद्धि भए पनि पछिल्लो समयमा धेरै ठूला होटल संरचना सञ्चालनमा आउने क्रम बढेकाले मागभन्दा आपूर्ति बढी भई क्षमताको एक तिहाइ अकुपेन्सीमा होटल सञ्चालन भएको र घाटामा रहेको गुनासो गर्नुभएको थियो ।
विदेशी पर्यटक नेपाल भ्रमणका लागि लालायित र सोधपुछ बढ्दै गएको अवस्थामा पूर्वाधार जस्तै सडक, हवाई सञ्जाल र यातायातमा रहेको कठिनाइका कारण नेपाल आउने पर्यटक अन्यत्रै जाने गरेको उहाँको भनाइ थियो । शाहले मुलुकको नयाँ क्षेत्रीय विमानस्थल पोखरा र भैरहवालाई पूर्णरूपमा सञ्चालनमा ल्याउन सके मुलुक पर्यटनबाट छिट्टै फड्को मार्न सक्ने, छिमेकी मुलुक चीन र भारत जोड्ने सडक सञ्जालमात्र तयार गर्न सके पनि मुलुकमा पर्यटन आगमनको चाप बढ्ने बताउनुभयो ।
साथै उहाँले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवालाई सशक्त र प्रभावकारी ढंगबाट अन्तर्राष्ट्रिय जगत्मा मुलुकको पर्यटन प्रवद्र्धनमा सक्रिय रहन जोड दिँदै पर्यटन बोर्ड सम्बन्धमा सार्वजनिक निजी साझेदारीको संरचनाका लागि गठित कार्यदलले प्रतिवेदनसमेत बुझाएकाले कार्यान्वयनका लागि आग्रह गर्नुभयो । सो अवसरमा हानका निवर्तमान अध्यक्ष सिर्जना राणा, वरिष्ठ उपाध्यक्ष प्रवीणबहादुर पाण्डे, उपाध्यक्ष दिनेश तुलाधर र महासचिव साजन शाक्यको उपस्थिति रहेको थियो ।
ऋण तिर्न मिर्गाैला बिक्रीमा
एकजना व्यक्तिले ऋण तिर्नका लागि भन्दै मिर्गाैला बिक्रीमा राखेका छन् । सामाजिक सञ्जालमा राखिएको उक्त पोष्टमा व्यवहार धान्न गाह्रो भएकाले मिर्गाैला बिक्रीमा राखिएको उल्लेख छ । मिर्गाैला बिक्री गर्न लागेको र सरकारले पनि त्यसमा कुनै अवरोध नगरिदियोस् भन्ने आशय व्यक्त गरिएको छ भने आवश्यक पर्ने व्यक्तिले सम्पर्क गर्न सक्ने भन्दै नम्बरसमेत उल्लेख गरिएको छ । नवलपुर कावासोती नगरपालिका १३ का टंकबहादुर परियारले उक्त पोष्ट राख्नुभएको खुल्न आएको छ । कुनै पनि विकल्प नभएपछि आफूले मिर्गाैला बिक्रीमा राखेको उहाँले बताउनुभएको छ । जागिर पनि नपाएको र ऋणको साँवा र ब्याज तिर्न गाह्रो भएकाले मिर्गाैला बिक्रीमा राख्नुपरेको उहाँको भनाइ छ ।
गाडी किन्न बैंकबाट ऋण लिएको तर त्यसको साँवा र ब्याज तिर्न नसकेकाले समस्या आएको परियारले बताउनुभएको छ । आफ्नो छ लाख रुपैयाँ ऋण रहेको र आमा, बुबा र छोराछोरीको पालनपोषणका लागि पनि समस्या भइरहेको उहाँले बताउनुभएको छ । १२ लाख रुपैयाँ खातामा आएको खण्डमा र आउनेजाने र उपचारको खर्च बेहोरेको खण्डमा एउटा मिर्गाैला दिन तयार रहेको परियारको भनाइ छ ।
मिर्गाैला बिक्री गरेर आएको रकमले ऋण तिरेर बाँकी रकमले व्यवसाय गरेर बस्ने योजना रहेको उहाँले बताउनुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएकालाई बिनाधितो ऋण दिने कुरा सुनेको भए कुनै सहयोग नपाएको र उमेरले पनि विदेश जान सक्ने अवस्था नरहेको परियारले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच