काठमाडौं । नेपालले दिगो र उत्तरदायी ढंगले जलस्रोतको उपयोग गर्नुपर्ने विज्ञहरूले बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित जलविद्युत्को दिगो विकाससम्बन्धी क्षेत्रीय सम्मेलनमा उनीहरूले यस्तो बताएका हुन् । सम्मेलनमा हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्स (एचएसए)का उपकार्यकारी निर्देशक एलेन किलाजियानले ‘हाइड्रोपावर सस्टेनेबिलिटी स्ट्याण्डर्ड’ लागू हुनुपर्ने बताउनुभयो । नेपालले दिगो र उत्तरदायी ढंंगले जलस्रोत उपयोग गर्न र अन्ततः दक्षिण एसियाको पानीको ब्याट्री बन्ने आफ्नो जलवायु दायित्व पूरा गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।
किलाजियानले इण्डोनेसियाको बालीमा ३१ अक्टोबरदेखि २ नोभेम्बर २०२३ सम्म आयोजित विश्व जलविद्युत् कंग्रेसबारेमा जानकारी दिँदै विश्वव्यापी मापदण्डको पालना गर्दै नेपालको जलविद्युत् विकास पहलमा सहयोग पुर्याउन एचएसए नेपाल आएको बताउनुभयो । शून्य उत्सर्जन लक्ष्य हासिल गर्दै जलविद्युत् विकासमा ध्यान केन्द्रित गर्नु महत्वपूर्ण पक्ष रहेको भन्दै उहाँले जलविद्युत्को विकासले मात्र पुग्दैन भन्ने विश्वव्यापी सहमति रहेको र यसलाई दीर्घकालीन रूपमा पनि दिगो बनाउन आवश्यक रहेको बताउनुभयो ।
स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत् विकासका लागि सार्वजनिक-निजी साझेदारीका लागि सरकार थप खुला हुनुपर्ने बताउनुभयो । उहाँले ऊर्जामन्त्रीले संसद्को तल्लो सदनमा पेश गरेको विद्युत् विधेयक, २०२३ को मस्यौदा कार्यान्वयन हुनुअघि संशोधन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा जलविद्युत् विकासका क्षेत्रमा धेरै उपलब्धि हासिल भएको र यसमा सार्वजनिक निकाय र निजी क्षेत्र दुवैले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । बजार खोजी गर्दा सरोकारवालाले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै बजारमा समानरूपमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । ऊर्जामन्त्री शक्ति बस्नेतले मुलुकको जलविद्युत् सम्भाव्यताको अध्ययन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै ऊर्जामन्त्रीको हैसियतले नेपालको दिगो विकासका लागि जलविद्युत्ले निर्वाह गर्ने महत्वपूर्ण भूमिकालाई आफूले बुझेको बताउनुभयो । आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको योजना रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले केही प्राथमिकता प्राप्त आयोजनामा दिगो लगानी आकर्षित गर्न सरकारले सक्दो प्रयास गरिरहेको जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय जलविद्युत् संघका उपाध्यक्ष सुशील पोखरेलले इण्डोनेसियाको बालीमा सम्पन्न विश्व जलविद्युत् सम्मेलनले नेपाललाई आफ्नो उपलब्धि विश्वस्तरमा प्रदर्शन गर्ने अवसर प्रदान गरेको बताउनुभयो । अन्तर्राष्ट्रिय सेमिनार र सम्मेलनमा नेपाली प्रतिनिधिले लगानी आकर्षित गर्ने गरी सफलताका कथा सुनाउनुपर्ने पोखरेलको भनाइ थियो ।
विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले अहिले प्रचलित आमधारणाविपरीत नेपालमा बढी परिमाणमा विद्युत् उत्पादन गर्न सक्ने सम्भावना रहेको दाबी गर्नुभयो । २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसमध्ये १५ हजार मेगावाट निर्यात गर्ने योजना रहेको तर सबै सरोकारवालाले सोध्नुपर्ने प्रश्न नेपालले त्यो विद्युत् कहाँ निर्यात गर्ने र कसरी गर्ने भन्ने रहेको उहाँको भनाइ थियो । नेपाल हाइड्रोपावर एसोसिएसनका अध्यक्ष अरुण रजौरियाले जलवायु-लचिलो पूर्वाधार विकास र दिगो ऊर्जा समाधान दिगो विकासका लागि समग्ररूपमा आधारभूत आवश्यकता रहेको बताउनुभयो । सम्मेलन उद्घाटन सत्रमा इप्पान, एचएसए र आइएचएबीच सहकार्यका लागि त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा टिम भेन्चरका संस्थापक तेन्जिन गोन्सार र इन्टरनेसनल हाइड्रोपावर एसोसिएसनका उपाध्यक्ष सुशील पोखरेलले हस्ताक्षर गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच