
हिजो राजधानीका सडकमा दुई पक्षको प्रदर्शन भयो । यी प्रदर्शनहरू कुनै एजेण्डा लिएर भएका होइनन्, प्रतिस्पर्धा र जुँगाको लडाइँमा केन्द्रित गरेर भएका हुन् । यसले कुनै उपलब्धि हात पर्दैन बरू यसको सट्टामा देशले केही क्षति व्यहोरेको छ र अरू थप क्षति व्यहोर्नुपर्ने निश्चित छ । आन्दोलनको बृहत् लक्ष हुन्छ । प्रदर्शन भने कुनै सरकार वा शासकको कार्यको विरोधका लागि गरिन्छ । २००७ सालको क्रान्ति राणा शासन फाल्नका लागि थियो भने २०१८/०१९ सालको क्रान्ति चाहिँ राजाले लागू गरेको निरंकुश पञ्चायती व्यवस्थाको विरोधमा थियो । सबै क्रान्तिले सफलता हात पार्छन् भन्ने छैन । आवश्यकता, औचित्य, क्रान्तिको सशक्तता, सरकारको नीति, अन्तर्राष्ट्रिय दबाब आदिमा पनि क्रान्तिहरूको सफलता निर्भर गर्छ ।
पञ्चयतका विरुद्धमा धेरै आन्दोलन भए तर २०४६ सालको आन्दोलन चाहिँ सफल बन्यो । यसका लागि माथि भनिएकै कुराहरू कारक बन्न पुगेका थिए । २०४६ साल र २०६२/०६३ सालका आन्दोलनलाई जनआन्दोलन भनियो । जनताको व्यापक रूपमा संलग्नता भएकाले यिनलाई जनआन्दोलन भनिएको थियो र यो ‘जन’ शब्द थपिनासाथ आन्दोलनको गरिमा बढ्ने र सफलताका लागि सहयोग पुग्ने देखियो । राजा विनारक्तपात गद्दी छाडेर नागार्जुन जानुभयो । त्यसबेला पनि दुःखी हुने जनताको संख्या ठूलो थियो । जनता दलको सिद्धान्तका पछिमात्रै लागेका हुन्छन् भन्ने होइन । मतदाताका रूपमा जनताले कुनै एउटा दललाई मत दिँदैमा तिनीहरू त्यही दलका कार्यकर्ता हुन्छन् भन्ने छैन ।
समय र परिस्थितिनुसार जनताले कसैलाई मत दिए तर त्यस दलका सिद्धान्तको विरोध गर्न पनि नसक्ने होइन । गत आमनिर्वाचनमा केही दलहरूको गठबन्धन थियो । सिद्धान्तै नमिल्ने दललाई पनि गठबन्धनका आधारमा जनताले मत दिए तर नेपाली कांग्रेसलाई मत दिने माओवादी समर्थक पनि थिए र माओवादीलाई मत दिने नेपाली कांग्रेसका शुभचिन्तक पनि थिए भन्ने बिर्सिनु हुँदैन । तर, तीनको आफ्नो एउटा नीति त जीवित रहिरहने कुरा निर्विवाद हो । हालको प्रदर्शन किन र केका लागि भन्ने नै प्रष्ट छैन । वर्तमान पद्धति, नेता र नेतृत्वप्रति जनता त्यति आशावादी छैनन् । दलका नेताहरूको रवैया र तिनको कार्यशैली जनताले आशा गर्ने खालका पाइएका छैनन् ।
तर, यसो भन्दैमा तत्काल प्रणालीकै विरुद्धमा जनता सडकमा आइहाल्लान् भन्ने पनि होइन र राम्रो खालको नेतृत्व पाएनन् भने नआउलान् भन्ने पनि छैन । हालको अवस्था यही दोसाँधको अवस्था हो । नेकपा एमाले निकटको युवासंघको हाल सडकमा ओर्लिनुपर्ने कुनै कारण देखिएको छैन । एकजना दुर्गा प्रसाई नामका व्यक्तिको प्रदर्शनको प्रतिकारकै लागि मात्र एउटा ठूलो राष्ट्रिय पार्टीको भ्रातृ संगठन सडकमा आउनु हाँस्यास्पदमात्र हो । बरू युवा संघप्रतिभन्दा त प्रसाई पक्षतर्फ मानिसको सहानुभूति बढ्दै गएको छ । एकजना व्यक्तिलाई कालो लाउँदैमा र राति महिलाहरू सुतेको ठाउँमा गएर उनीहरूलाई मध्यरातमा त्यहाँबाट भगाउने कार्यले युवासंघकै उचाइ घटाएको छ ।
प्रसाईप्रति मानिसको त्यति भरोसा छैन । नत्र एउटा कुनै बलियो राष्ट्रिय व्यक्तित्वको नेतृत्व पाउने हो भने जनता निश्चिय पनि अहिलेको परिस्थितिमा त्यसका पछि लाग्नसक्ने सम्भावना प्रबल छ । यसको कारण यस व्यवस्थाले जनहितका काम गर्न नसक्नु, नेताहरूको ऐसआराम, भोगविलास र अकर्मन्यता हो । नेपाली जनता नेतृत्व र प्रणाली परिवर्तनको माध्यम बन्दै आइरहेका छन् तर परिवर्तनपछि नेतृत्वले जनतालाई बिर्सिने गरेको छ । मुख्य समस्या भनेकै यही हो । दुर्गा प्रसाईबाटै यो प्रणाली हटेर अर्को कुनै प्रणाली स्थापित होला भन्ने होइन । उहाँको स्वाभाव, अराजक अभिव्यक्ति, छाडा र स्तरहीन शब्द प्रयोगजस्ता कुराले सबै मानिसले उहाँलाई झट्ट विश्वास गरिहाल्ने अवस्था छैन तर यही प्रदर्शनबाट कुशल नेतृत्व निस्किएका खण्डमा जनताले त्यसलाई पछ्याउन पनि सक्लान् भन्ने सम्भावनालाई नकार्न मिल्दैन ।
गत सोमबार राति महिलाहरू सुतेका ठाउँमा प्रवेश गरी उनीहरूप्रति अमार्यादित व्यवार गर्ने व्यक्तिहरू र हिजो बल्खुमा प्रसाईको प्रदर्शनमा अक्रमण गर्न जानेहरूले आफ्ना त्यस्ता कार्यको औचित्य पुष्टि गर्न सक्नु पर्दैन ? प्रसाईको प्रदर्शन विनाएजेण्डाको र प्रतिशोधपूर्ण नै किन नहोस् त्यस प्रदर्शनमा सहभागी बन्नेहरू सबैले नेपाली राष्ट्रिय झण्डा बोकेका कारणले मात्र पनि नेपालीहरूको मन संवेदनशील बन्नसक्छ ।
आन्दोलनलाई अरिंगालको गोलामा ढुंगा हानेर बिथोल्नुभन्दा उक्त आन्दोलनको अवतरणको उपाय खोज्नु बुद्धिमानी हुनसक्छ । तिनलाई लाठी र अश्रुग्यास प्रहार गरेमात्र तिनको भावना मर्दैन । आफ्नै पार्टीको सदस्य बनेर अहिले बाहिरिएका एकजना साधारण व्यक्ति दुर्गा प्रसाईबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका शक्तिशाली अध्यक्ष केपी शर्मा ओली हाल यति भयभीत बन्नु चाहिँ निकै नै रहस्यमय विषय हो । त्यसैले पनि जनता हालको प्रदर्शनलाई विशेष रुचिका साथ नियालिरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच