
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुर र भक्तपुर प्रहरीले नजरबन्दमा राखेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो । ‘उहाँलाई मंसिर ८ गते बिहानदेखि नजरबन्दमा राखेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले भक्तपुर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट दिनुभएको छ,’ उहाँले भन्नुभयो, ‘रिट दर्ता भएको छ ।’ रिटको सुनुवाइका लागि आइतबारलाई पेसी तोकिएको छ ।
प्रसाईंले आज (शनिबार) पनि काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने बताउनुभएको छ । शुक्रबार ठिमीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उहाँले शनिबार तीनकुनेमा प्रदर्शन हुने र त्यहाँ आफू पनि सहभागी हुने बताउनुभयो । उहाँले आफ्नो सुरक्षाका नाममा आफूलाई घरभित्र थुनेर बेवकुफ बनाउन खोजेको आरोप लगाउनुभयो । उहाँले आफू गोली खान वा जेल जान तयार रहेको बताउँदै आफू आन्दोलन छोडेर नभाग्ने उल्लेख गर्नुभयोे । उहाँले आफूलाई नजरबन्दमा राखिएको बताउँदै राजनीतिक दलहरू एकातिर आफू र आफ्नो पक्षमा रहेका जनताहरू प्रतिपक्ष रहेको दाबी गर्नुभयो ।
प्रसाईंले आफ्ना मान्छेलाई समेत सरकारले पार्टी प्यालेसमा लगेर नजरबन्दमा राखेको र कैयनलाई पक्राउ गरेको दाबी गर्नुभयो । पहिलो दिनको गणतन्त्रविरोधी आन्दोलनपछि पत्रकार सम्मेलन गर्दै प्रसाईंले अर्को दिनको आन्दोलनमा श्रीलंका मोडेलमा नेताका घरघरमा जाने बताएपछि शुक्रबार प्रहरीले उहाँलाई घरबाट निस्कन दिएको थिएन । यता, शुक्रबार तीनकुनेमा प्रदर्शनका लागि आएका उहाँका केही समर्थकहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।
नजरबन्दमा राखेको छैन, उहाँले अफवाह फैलाइरहनु भएको छ : सिडिओ बस्नेत
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जितेन्द्र बस्नेतले दुर्गा प्रसाईंलाई नजरबन्दमा नराखिएको बताउनुभयो । प्रसाईं काठमाडौं छिरेदेखि नै उहाँलाई सुरक्षा दिइराखिएको बस्नेतले बताउनुभयो । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी बोलाएको सुरक्षा निकायको बैठकपछि उहाँले सो कुरा बताउनुभयो । ‘उहाँहरूले कार्यक्रमलाई शान्तिपूर्ण बनाउनुपर्ने ठाउँमा बिहीबार बेलुका कानुनलाई चुनौती दिने र गैरकानुनी हर्कत गर्ने काम गर्नुभयो । यस्ता गैरकानुनी हर्कत काठमाडौंमा चल्दैन । उहाँलाई हामीले नजरबन्दमा राखेको छैन । उहाँ काठमाडौं छिरेदेखि सुरक्षा प्रबन्ध गर्दै आएका छौँ,’ बस्नेतले भन्नुभयो । जारी विरोध प्रदर्शनलाई सुरक्षित र व्यवस्थित बनाउन उपत्यकामा सुरक्षा व्यवस्था मजबुत बनाएको उहाँको भनाइ छ । बैठकमा काठमाडौंको सुरक्षा चुनौती विश्लेषण गरिएको र यथोचित सुरक्षा प्रबन्ध मिलाउने बारेमा सम्बन्धित निकायहरूसँग छलफल गरेको पनि उहाँले बताउनुभयो ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक समूहले काठमाडौंमा कार्यक्रम गर्ने भन्ने सन्दर्भमा स्थानीय प्रशासनसँग कुनै पनि अनुमति नलिईकन शुक्रबार तीनकुनेमा कार्यक्रम गर्ने र त्यहाँ भेला भई निषेधित क्षेत्र तोड्ने, सार्वजनिक सम्पत्तिमाथि क्षति पु¥याउने, विशिष्ट पदाधिकारीको निवासमा घेराउ गर्ने, उहाँहरूमाथि आक्रमण गर्ने भन्ने अराजक शैलीको कार्यक्रम सार्वजनिक गरेकाले सो कार्यक्रमको सन्दर्भमा तीनकुने क्षेत्रमा अनुमति नलिईकन पाइँदैन भनेका थियौँ, बल्खुमा गर्नुभन्दा उहाँहरू आजसम्म अनुमति लिन आउनुभएको छैन,’ उहाँले भन्नुभयो । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने, सार्वजनिक सम्पत्तिमाथि क्षति पु¥याउने, विशिष्ट पदाधिकारीको निवासमा घेराउ गर्ने उनीहरूमाथि आक्रमण गर्ने कार्यक्रम सार्वजनिक गरेकाले तीनकुने क्षेत्रमा कार्यक्रम गर्न नदिइएको स्पष्ट पार्नुभयो ।
‘काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाएका छौँ । काठमाडौं उपत्यकाका तीन जिल्लाकै सुरक्षा व्यवस्था कडा छ । संविधानमा प्रदत्त नागरिकको अभिव्यक्ति, स्वतन्त्रता हक र बिना हातहतियार भेला जम्मा भई शान्तिपूर्ण रूपमा कार्यक्रम गर्न पाउने हकको सम्मान गर्दै यस्ता अराजक भिड जसले कानुन हातमा लिन खोजेको छ, त्यस्ता समूह र व्यक्तिलाई चेतावनीस्वरूप अनुमतिबिना कार्यक्रम गर्न पाइँदैन भनेका छौँ,’ उहाँले भन्नुभयो ।
चेतना नै नभएका मूर्खले राजतन्त्र मान्छन् : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले हेर्दाहेर्दै वाक्क भएर राजतन्त्र अन्त्य गरेको भन्दै अब राजतन्त्र फर्किने कल्पना गर्न नहुने बताउनुभएको छ । शुक्रबार भ्रातृ संगठन युवा संघको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले चेतना नभएका मूर्खहरूले मात्रै राजतन्त्रको कुरा गर्ने बताउनुभएको हो । ‘हेर्दाहेर्दा वाक्क दिक्क भएर जनताले यो काम लाग्ने चिज रहेनछ भनेर राजतन्त्र फ्याँकेका हुन् । अहिले त्यही राजतन्त्र भनेर एकाथरी सडकमा छन् । चेतना नै नभएका मूर्खले राजतन्त्र मान्छन्,’ उहाँले भन्नुभयोे, ‘नागरिक सर्वोच्चता स्वीकार्न नसक्ने ? त्यो त चेतना हैन, मूर्खता हो ।’ उहाँले एकाथरी मरेको प्रेतका पछाडि नलीखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर लागेको भन्दै युवा संघ त्यसविरुद्ध सडकमा आएको भन्दै धन्यवाद दिनुभयो ।
व्यवस्था होइन, नेताहरूको आचार बदल्नुपर्छ : थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान व्यवस्थाको विकल्प खोज्न लागे फेरि अर्को जुनी खेर जाने टिप्प्णी गर्नुभएको छ । शुक्रबार कांग्रेस अर्घाखाँची पहिलो जिल्ला सम्मेलनमा महामन्त्री थापाले कसैको गल्तीको भारी व्यवस्थालाई बोकाउन नहुने बताउनुभएको हो । ‘गल्ती र कमजोरीहरू भएका छन् । सच्याउने हो । तर, यो गल्तीको भारी व्यवस्थालाई बोकाएर हुँदैन । हाम्रो आस्थालाई बोकाएर हुँदैन ।
समस्या जहाँ छ, त्यहीँ सुधार गर्नुपर्छ,’ उहाँले भन्नुभयो । प्रधानमन्त्री र भूपू प्रधानमन्त्रीहरू बैठक बसेर देश डुब्यो-डुब्यो भन्ने खालका छलफल गर्ने गरेको थापाले बताउनुभयो । नेपाली कांग्रेसले मुलुकको बिग्रिएको अवस्थालाई सम्हाल्ने भन्दै नबरालिन कार्यकर्तालाई उहाँको आग्रह छ । यस्तै, महामन्त्री थापाले ०५९ सालमा राजा ज्ञानेन्द्र शाहले नेताहरूलाई थुनेर देश चलाउँछु भन्दा काठमाडौंमा दीपावली भएको स्मरण गराउनुभयो । ‘नेताहरू भ्रष्ट भए थुन्नुपर्छ, महाराज आए भन्दै दीपावली भएको थियो,’ उहाँले भन्नुभयोे, ‘तर ०५९ मा दीपावली गर्ने जनता ०६२ को चैत पुग्दा नपुग्दै सडकमा आए । तीन वर्ष पनि थेगिएन तर नेपालको कति समय खेर गयो हेर्नुहोस् त ।’ राजा महेन्द्रले ०१७ सालमा बिपी कोइरालालाई थुनेर नेपालको ३० वर्ष खेर गएको महामन्त्री थापाले बताउनुभयो ।
शान्तिपूर्ण आन्दोलनमाथि धरपकड गर्नु अलोकतान्त्रिक कदम : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण ढंगले प्रदर्शन गर्नेमाथि सरकारले धरपकड गरेको बताउनुभएको छ । शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उहाँले शान्तिपूर्ण ढंगले हिँड्डुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने मौलिक हकविपरीत काठमाडौंमा सरकारले धरपकड गरेको बताउनुभएको छ । ‘शान्तिपूर्ण ढंगले हिँड्डुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हकविपरीत काठमाडौंमा भइरहेको धरपकड र नजरबन्द जस्ता घटनाहरू अलोकतान्त्रिक तथा जनताको मौलिक हकविरुद्धका काम हुन्,’ उहाँले लेख्नुभएको छ । लिङ्देनले धरपकड गरी कुनै पनि समस्याको समाधान ननिस्किने भएकाले सरकारले आफूलाई सच्याउनुपर्ने बताउनुभयो ।
यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा भएको प्रदर्शनमा राप्रपाका नेता कार्यकर्तालाई प्रशासनले निशानामा पारेर खोजीखोजी पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ । पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रदर्शनमा नभएकालाई समेत प्रशासनले खोजीखोजी पक्राउ गर्नु आपत्तिजनक र विडम्बनापूर्ण रहेको बताउनुभएको छ ।
सडकमा प्रदर्शनमा ओर्लिएकालाई घरमै नजरबन्द गर्ने, पक्राउ गर्ने र सडकपेटीमा हिँडेका नागरिकलाई बिनाकारण गिरफ्तार गर्ने काम अलोकतान्त्रिक भएको विज्ञप्तिमा उल्लेख छ । ‘यस्ता गतिविधि संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार र सामाजिक न्यायको सिद्धान्तविपरीत छ । दमन र धरपकड समस्याको समाधान होइन र हुनै सक्दैन,’ विज्ञप्तिमा भनिएको छ । गिरफ्तार गरिएका सबैको बिनाशर्त अविलम्ब रिहाइ गर्नसमेत पार्टीले माग गरेको छ ।
ढाका टोपी र दौरा सुरुवाल लगाएका व्यक्ति प्रहरीको निशानामा
अभियान्ता दुर्गा प्रसाईंले सुरु गरेको आन्दोलनविरुद्ध सरकार कठोर रूपमा उत्रिएको छ । पहिलो दिनको प्रदर्शन नै झडपमा परिणत भएपछि शुक्रबार दोस्रो दिन प्रदर्शन नै हुन नदिने रबैयामा सरकार प्रस्तुत भएको हो । शुक्रबार तीनकुनेबाट प्रदर्शन सुरु गर्ने तयारमा आन्दोलनकारीहरू रहेकोमा प्रहरीले बिहानैदेखि धरपकड सुरु गर्यो । त्यसक्रममा प्रहरीले सडकमा हिँड्ने सर्वसाधारणलाई समेत मनपरी ढंगले पक्राउ गरेको थियो । तीनकुने आसपासमा दुई/तीनजना हिँडेको देखेपछि पक्राउ गर्ने हर्कतमा प्रहरी उत्रिएको थियो । अझै ढाका टोपी र दौरा सुरुवाल लगाएकाहरू प्रहरीका लागि असहृय जस्तै बनेका थिए ।
चिया खान बसेकादेखि काम विशेषले सपरिवार हिँडेकाहरू पनि प्रहरीको कब्जामा परेका थिए । बाटोमा हिँड्नेहरूको अनावश्यक शरीर छाम्ने, केरकार गर्ने जस्ता व्यवहार पनि प्रहरीले देखायो । हचुवाको भरमा मनपरी समात्ने र लैजाने गरेकोमा सर्वसाधारणहरू आक्रोशित र अचम्मित बनेका थिए ।
पूर्वराजा शाह झापामा, आज हजारौँ मोटरसाइकलले स्कर्टिङ गर्ने
शनिबार बिर्तामोडमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रममा सहभागी बन्न पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार अपराहृन झापा पुग्नुभएको छ । उहाँ भद्रपुर विमानस्थलमा अवतरण हुँदा ठूलो संख्यामा राजतन्त्र पक्षधरहरूले उहाँको स्वागत गरेका थिए । बिर्तामोडस्थित इकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण शनिबार पूर्वराजा शाहले गर्ने कार्यक्रम छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको यस कार्यक्रमलाई सफल बनाउन भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन करिब १० दिनदेखि झापामै हुनुहुन्छ । शनिबार धुलाबारीस्थित निम्जा खोलाबाट उहाँको स्वागत ¥याली सहभागी हुनेछन् । पूर्वराजा शाहसहितको ¥यालीलाई करिब आठ हजार मोटरसाइकलले स्कर्टिङ गर्ने कार्यक्रम छ । स्थानीय आयोजकका अनुसार पूर्वराजा शाहले बिर्तामोडमा ४५ मिनेट पैदल हिँडेर सर्वसाधारण भेट गर्नेसमेत कार्यक्रम छ । कार्यक्रममा ५० हजारको सहभागिता रहने आयोजकले दाबी गरेका छन् ।
सर्वोच्चले माग्यो काठमाडौंमा निषेधित क्षेत्र घोषणा गर्नुको कारण
सर्वोच्च अदालतले सरकारसँग काठमाडौंका विभिन्न ठाउँमा निषेधित क्षेत्र घोषणा गर्नुको कारण देखाउन आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले सो आदेश जारी गरेको हो । सर्वोच्चले रिट निवेदकको मागबमोजिम किन आदेश दिनु नपर्ने हो ? भन्दै जवाफ मागेको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले गत मंसिर ५ गते माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो । सो घोषणाविरुद्ध अभिवक्ता स्वागत नेपालले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । उहाँले स्थानीय प्रशासनको निर्णय रोक्न भन्दै अन्तरिम आदेश हुनुपर्ने माग गर्नुभएको थियो । अधिवक्ता नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच