महिला कबड्डीमा पदकनजिक पुगेसँगै इरानलाई हराउने नेपालको विश्वास

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपालले हानझाओमा जारी १९औं एशियाली खेलकुदको महिला कबड्डीमा सोमवार बंगलादेशमाथि जित निकाल्दै काँस्य पदकको सम्भावना नजिक पुगेको छ ।

चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको समूह ‘बी’ को पहिलो खेलमा नेपालले सोमवार बंगलादेशमाथि ३७–२४ अंकले जित निकाल्दै जारी एसियाली खेलकुदमा पहिलो पदकको सम्भावनानजिक पुगेको हो । तीन राष्ट्र रहेको यस समूहमा नेपाल र बंगलादेशसहित इरान छ । इरानले बंगलादेशलाई हराए नेपाल सेमिफाइनलमा पुग्दै कम्तीमा कांस्य पदक सुनिश्चित गर्नेछ । आगामी बुधवार बंगलादेश र इरान प्रतिष्पर्धा गर्नेछन् । त्यसअघि नेपालले मंगलवार नै इरानसँग खेल्दैछ । इरान गत संस्करणको एशियाली खेलकुदमा च्याम्पियन हो ।

सन् २०१० को ग्वान्झाउ एसियाली खेलकुदमा कांस्य जितेको इरानले इन्चोन एसियाडमा रजत प्राप्त गर्न सफल भएको थियो । त्यसैले यस पटक पनि इरानलाई बलियो दाबेदारका रूपमा हेरिएको छ । यद्यपि, नेपाली महिला टोली इरानबिरुद्ध पनि जित निकाल्नमा आशावादी देखिएका छन् । बंगलादेशसँगको जितले उनीहरूमा आत्मविश्वास बढेको छ । नेपाली महिला राष्ट्रिय कबड्डी टोलीकी कप्तान मेनुका राजवंशीले पहिल्यैदेखि नै बंगलादेशमाथि जित निकाल्न सक्छौं भन्नेमा आशावादी रहेकाले सबै खेलाडी मनोबलका साथ खेलेको बताइन् ।

बंगलादेशलाई जित्ने बितिक्कै इतिहास बनाउँछौं भन्ने योजनाअनुरूप नतिजा पनि आएको उनी बताउँछिन् । महिला कबड्डी टोलीलाई जुन विश्वास गरेर एशियाली खेलकुदमा सहभागी गराइएको थियो त्यसमा आफूहरू सफल देखिएकोमा उनी खुसी देखिइन् । एशियाली खेलकुदका लागि नेपालले भारतको हरियाणामा प्रशिक्षण पाएका थियो । त्यहाँ नेपाली महिला कबड्डी टोलीले ६÷७ वटा मैत्रीपूर्ण खेलको अवसर पनि पायो । सोही तयारी र मैत्रीपूर्ण खेलले आफूहरूमा आत्मबल बढेको कप्तान मेनुकाको भनाइ छ ।

टोलीकी कप्तान मेनुकाले कबड्डी खेल्न थालेको १४÷१५ वर्ष भइसकेको छ । यसबीच उनले यो खेलबाट करियरकै सबैभन्दा ठूलो खुसी सोमवार पाइन् । महिला कबड्डीमा जम्मा सात राष्ट्र सहभागी छन् । समूह ‘ए’ मा भारत, थाइल्यान्ड, दक्षिण कोरिया र चाइनिज ताइपेईं छन् । मेणुका राजवंशीको कप्तानीमा रहेको नेपाली टोलीले मंगलवार इरान बिरुद्ध प्रतिष्र्धा गर्नेछ । एशियाली खेलकुदमा नेपालले महिला कबड्डीमा सहभागिता जनाएको यो नै पहिलो अवसर हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?