समय यति कृतघ्न भइसकेको छ कि आजको समयले कृतज्ञता पनि मन पराउँदैन । समय गुरु द्रोणाचार्यको यस शृङ्खलामा आइपुग्दा द्वापरयुगदेखि सुरुभएको गुरु द्रोणाचार्य परम्परामा धेरै अवतार जन्म भइसकेका छन् । हरेक युगका द्रोणाचार्यहरूका आफ्नै आदर्श र दर्शनहरू थपिइरहेका छन् । हिजोका गुरु द्रोणाचार्य बागी स्वभावकै थिए । मनभरि द्रुपद अपमानको अग्निज्वाला बोकेर हस्तिनापुर राज्यका गुरु बन्न पुगेका उनको मनमा दन्किएको प्रतिशोधको आगो मत्थर पार्नकै निम्ति अर्जुन र एकलव्य निर्माण गर्न परेको तीतो सत्य हाम्रो शास्त्रीय आधार बनेर रहेको छ । द्रोणाचार्यको अस्तित्वलाई उज्वर पार्न एकातिर अर्जुनको श्रेष्ठधनुर्धरता र अर्कोतिर एकलव्यको गुरुनिष्ठता दुवैले मदत गरेको हो ।
एकलव्यको बुढीऔँलो नमागेका भए द्रोणाचार्य, द्रोणाचार्य बन्दैनथे । द्रोणाचार्यले औँला नमागेका भए एकलव्य, एकलव्य बन्दैनथे । कसले भन्छ धनु चलाउन नपाउँदैमा एकलव्यको क्षमता समाप्त भयो ? एकलव्य त्यसपछि बढी क्षमतावान् बनेर आफ्नो अस्तित्व उठाए । त्यति मात्र पनि कहाँ हो र ? कर्ण, दुर्योधन, दुशासन आदि धेरै शिष्य मिलेर द्रोणाचार्यको अस्तित्वलाई अग्लो पारेका हुन् । जति रहर द्रोणाचार्य बन्न हुन्छ त्यति नै रहर एकलव्य, कर्ण, दुर्योधन बन्न पनि लाग्नुपर्छ । गुरु त्यस्तो हुन्छ जसले सबै शिष्यसँग बुढी औँला माग्दैन अनि शिष्य त्यस्तो हुन्छ जो सबै एकलव्य हुँदैन । जीवनको मूल्यलाई यसरी पनि हेर्न जान्नुपर्छ ।
मैले उनलाई गुरु मानिरहेँ उनले मलाई मित्र ठानिरहे । म उनलाई मित्र मान्न तयार छैन उनी मलाई शिष्य मान्न तयार छैनन् । म उनलाई गुरु मानिरहन्छु र उनी मलाई शिष्य मान्दैमान्दैनन् । मैले मेरो राग बिर्सिएँ कि उनले आफ्नो अभिमान बचाएँ म भन्न सक्दिन ।
आजका मेरा गुरु द्रोणाचार्यसँग मैले बुढी औँलो गुरुदक्षिणा माग्न याचना गरिरहेको छु अनि आजका मेरा गुरु द्रोणाचार्य बुढी औँलो दक्षिणा लिन तयार छैनन् । मैले शिष्यत्वधर्म राम्ररी पालन गर्न सकिन कि द्रोणाचार्यले गुरुता निभाउन सकेनन् ? कुनै दिन समयले निर्णय सुनाउला । मेरा गुरु पनि बागी स्वभावका छन् । हाम्रा द्रोणाचार्यहरू जो प्रत्येक समयमा आफूभित्र आगो लिएर यात्राको साइत गर्छन् । आज मैले मानेका गुरु तिनै द्रोणाचार्यका पछिल्ला संस्करण हुन् । गुरु हुन अहङ्कार आवश्यक हो कि होइन भन्ने विषय निश्चय पनि बहसको विषय हो र गुरु निरहङ्कारी हुनुपर्छ भन्ने हाम्रो आदर्शलाई सधैँ चुनौती दिने सत्य पनि सायद यही हो ।
तर, प्रत्येक आदर्श राम्रो अर्थमा स्वाभिमान नराम्रो अर्थमा अहङ्कारका सामु निर्बल बनेकै इतिहास छ । केही समय लगानी गरेर उभ्याइएको यस सिसमहलमा एकजोडी बागी गुरु अनि अमान्य शिष्य तयार भएका छन् । त्यसैले त जसले ढुङ्गा हाने पनि झ¥यामझुरुम भएर जाने यस महलको आफ्नै मूल्य र महत्ता पनि रहँदै आएको छ । पाञ्चाल नरेश द्रुपद र गरिब ब्राहृमण द्रोणाचार्य पनि एउटा समयका मित्रहरू थिए । अपमानको विष घाँटीघाँटी आएपछि त्यही मित्रताको सम्बन्ध बल्किने घाउ बनेको कथा बेग्लै अर्थ राख्ने बनेर रहेको छ । यस घटनामा पनि त्यस्तो नहोस् भन्नेमा हामी सचेत छौँ, त्यसैले सम्बन्धको आदर्श बाँचिरहेको छ ।
मैले उनलाई गुरु मानिरहेँ उनले मलाई मित्र ठानिरहे । म उनलाई मित्र मान्न तयार छैन उनी मलाई शिष्य मान्न तयार छैनन् । म उनलाई गुरु मानिरहन्छु र उनी मलाई शिष्य मान्दैमान्दैनन् । मैले मेरो राग बिर्सिएँ कि उनले आफ्नो अभिमान बचाएँ म भन्न सक्दिन हामी अहिले पनि आफ्नै लय पछ्याउँदै हिँड्ने बागी चेतनाका अंशजस्तै छौँ । मेरा गुरुले मेरो शिष्यत्वमा सधैँ असहमति जाहेर गर्दै आइरहेका छन् तर म उही एकलव्य हुन लालायित छु आज पनि । आज पनि म गुरु द्रोणाचार्यलाई शिष्यत्वमा औँलो दिन तयार छु । कल्याणकारी भनिएको गणतन्त्रात्मक राज्यव्यवस्थामा पनि एकातिर गुरुलाई औँलो चढाउन तयार शिष्य छन् र अर्कोतिर औँलो लिन गुरु तयार छैनन् । अनौठो छ यो सम्बन्ध जहाँ गुरुशिष्यको अहङ्कार, जिद्दी र प्रतिशोधको आगो निभेको छैन ।
उनीगुरु हुने योग्यताकै प्रखर छन् र गुरु छन् । उनी जति पनि बोल्न सक्छन्, वाचाल छन् र मिलाएरै बोल्न सक्छन् । यथार्थको धेरै नजिक पुगेर बोल्ने उनको बानी धेरैलाई अमान्य छ । नब्रूयात् सत्यमप्रियम् भन्ने शास्त्र पढेका छन् तर त्यसलाई शास्त्रमै सजाउन चाहन्छन् उपयोग गर्न चाहँदैनन् । उनको तर्क छ हामी जसरी निखरा आएका छौँ हाम्रो चरित्रमा पनि त्यो निखरापन रहनैपर्छ । समाजले भन्छ तिमी नाङ्गै जन्मिएका भए पनि समाजले तिमीलाई परिधान लगाऊ भनेपछि तिमीले मान्नैपर्छ । तर, उनी त्यसपछि पनि जिद्दी गरिरहन मनपराउँछन् । उनले बिझाउने गरी कसैलाई सत्य कुरा बोलेर चित्त दुखाइदिन्छन् । त्यसो नगर्न समाजले भन्छ तर उनी फेरि पनि समाजको आज्ञालाई अवज्ञा गर्छन् ।
उनी बुद्धिले पूर्ण छन् तर उक्त बुद्धिलाई समाजको हितको निम्ति मात्रै उपयोग गर्ने विषयमा सहमत छैनन् । पहिला उनी यस्ता होइनन् समयले उनलाई यस्तो बनाएको हो भन्ने उनको निष्कर्ष छ । उनी यति मीठा छन् कि सबैले उनलाई मीठो मान्छन् र उनी यति टर्रा छन् कि मुखै पाछ्ने गरी कोक्याउँछन् । उनी अचानक आफ्नो मिठोपनमा कटुता घोलिदिन सक्छन् । कसैले यसो किन गरेको भनेर सोध्न खोज्यो भने उनी मन पराउँदैनन् । उनी आफूलाई आफ्नो निर्णयको राजा हुन मनपराएको कुरा गर्छन् । निश्चय पनि राजा हुने छुट सबैलाई छ ।
यताका केही समय मेरा गुरुका व्यवहार त्यति चित्तबुझ्दा छैनन् । उनी आफ्नो दृष्टिकोणमा स्पष्ट छु त भन्छन् तर उनी स्पष्ट छन् जस्तो लाग्दैन । आफ्ना निर्णयबाट सन्तुष्ट छु भन्छन् तर त्यस्तो पनि होजस्तो लाग्दैन । उनी प्रेमिल छन्, अतिशय स्नेहिल पनि छन् । उनले देख्ने प्रेमको सौन्दर्य अनि उनले गर्ने स्नेहको रूप अरू धेरैले देखेजस्तो मात्रै छैन । उनी हकी छन् कुनै पनि कुरा कसैको मुख नहेरी भनिदिन सक्छन् । उनी निर्भीक छन् कसैसँग डराउँदैनन् । उनी हठी छन् कसैका कुरा मान्दैनन् आफ्नै कुरा ठीक हुन् भन्ने मान्छन् । उनी अभिमानी पनि छन् आफूबाहेक अरू धेरैलाई स्वीकार गर्न चाहँदैनन् । उनी स्वाभिमानी छन् आफ्नो योग्यतामा गर्व गर्छन् ।
उनी प्रतिभावान् छन् आफ्नो प्रतिभाले धेरैलाई प्रभावित पार्छन् । उनी सामूहिक छन् समूहका निम्ति आफू रित्तिएको पत्तो पाउँदैनन् । उनी एक्ला छन् उनले आफ्नो साथमा कसैलाई राख्न चाहँदैनन् । उनी लोभी छन् लोभकै कारणले उनले नयाँ गति लिन सकेका छैनन् । र, उनी निर्लोभ छन् कसैको विशेष वस्तुमा उसको अनुराग छैन । उनी अनुरागी पनि छन् उनले रागलाई जित्न सकेका छैनन् । उनको उदारता र उनको अनुदारता दुवै टिप्पणी गर्न लायक छन् । उनी हठात् निर्णय गर्छन् र फुर्सदमा पश्चाताप गर्छन् । उनी कुण्ठित छन् अहिले उनी आफैँले सल्काएको कुण्ठाको आगोमा जलिरहेका छन् ।
प्रतिभा पलायनको गम्भीर मोडमा उभिएको यस समयमा म मेरा बागी गुरुलाई हृदयदेखि सम्झिरहेको छु । विश्वासको पछिल्लो रूप हेर्नुपरे मेरा गुरुको अनुहार हेर्न र यथार्थको चहकिलो सत्य हेर्नुपरे मेरै गुरुको प्रतिबिम्ब हेर भन्ने मेरो आदर्शलाई चेतावनी दिएर उभिएको उनको निराशाको प्रतिकृति मलाई सैहृय छैन ।
उनी आवेगी छन् आवेगको बेलामा आफैँले गरेका निर्णयहरूले उनलाई फुर्सदमा पोल्छन् । यति धेरै बैगुन छन् उनीसँग तर त्यत्तिकै गुणका खानी नै हुन् । नरिवलको जटाभित्र सुरक्षित बसेका निर्मल जल हुन् उनी । अनन्त प्राण भर्नसक्ने सामथ्र्य छ उनीसँग । कसैले उनलाई नाभीमा कस्तुरी बोकेर वनवन चाहार्ने मृगको संज्ञा दिन्छन् । आत्मबोधी पाठको उनले पारायण नै गरेका भए पनि सबै पाठभेद उनले पढ्न भ्याएका छैनन् भन्ने धेरैको बुझाइ छ । तर, जुन पाठ उनले पढ्न भ्याएका छैनन् त्यही पाठ नै उनले पढ्नुपर्ने पाठ थियो भन्ने धेरैको ठहर छ ।
मैले उनलाई कहिल्यै आफूबाट पर राख्न सक्दिन । उनलाई मैले मेरो जीवनको बागी गुरु मानेको छु । उनी मेरा हरेक निर्णयमा प्रतिबिम्ब भएर उभिन्छन् प्रतिकार गर्छन्, असहमति जनाउँछन्, आक्रोश व्यक्त गछनर््, असन्तुष्टि जाहेर गर्छन् तर म उनलाई पछ्याउन छोड्दिन । म जतिखेर शिष्य थिएँ उनी त्यतिखेरैका गुरु हुन् त्यसपछि म पनि अरू धेरैको गुरु भएँ । जीवनलाई जताबाट हेर्दा पनि सकारात्मक देख्ने अभ्यास हुनुपथ्र्यो हामीमा त्यसो हुन सकेन । सायद हामीले अलि बढ्तै राम्रा सपना देख्यौँ जुन सपना पूरा हुनसक्ने खालका थिएनन् । हामीले केही निरस मुडमा जीवनलाई परिचालन गर्ने बाटो लिएजस्तो लाग्थ्यो । निरस हुँदाहुँदै हामी निराश हुन थाल्यौँ ।
उनी मनभरि सुन्दर सपना लिएर हिँडेका यायावर थिए कुनै दिन । ती सपना पूरा भएका भए उनको मात्रै होइन हामी धेरैका दिन सुन्दर हुनेथिए । उनीभित्रको हठले पूर्णता पाएको भए उनी यो देशको कायापलट गर्ने निर्णायक भएका हुन्थे । मेरा गुरु आज पनि निशाना लगाउन खप्पिस छन् । उनले जे जाने हिजैदेखि त्यही कुरा जाने । शब्दशिल्पी उनी शब्दका अचुक वाण उठाएर मर्माहत हुनेगरी प्रहार गर्छन् । तर, समयको छाला यति चाम्रो भइसकेको छ कि उनका वाण फर्केर उनकै ठोक्रामा ठोकिन पुग्छन् समयलाई कुनै प्रहारले छुँदैन ।
अहिले उनी अहङ्कारले थिल्थिलो पारेर पछारेका पहराजस्ता देखिन्छन् अथवा आत्मग्लानिमा पग्लेका धमिलो नदी जस्ता देखिन्छन् । उनलाई आफ्नै अभिमानले, आफ्नै जिद्दीले अनि आफ्नै निर्णयले धोका दिएका छन् । अब फर्केर जाने बाटो बिस्तरिइसकेको छ । प्रतिभा पलायनको गम्भीर मोडमा उभिएको यस समयमा म मेरा बागी गुरुलाई हृदयदेखि सम्झिरहेको छु । विश्वासको पछिल्लो रूप हेर्नु परे मेरा गुरुको अनुहार हेर्न र यथार्थको चहकिलो सत्य हेर्नु परे मेरै गुरुको प्रतिबिम्ब हेर भन्ने मेरो आदर्शलाई नै चेतावनी दिएर उभिएको उनको निराशाको प्रतिकृति मलाई अहिले सहृय छैन ।
प्रिय सञ्चेतना ! तिमीले दिनसक्ने कुनै कुरा छ भने मेरो गुरुको विश्वासमा प्राण भरिदेऊ । बहुविकल्पी चेतनाको सम्भावनालाई स्वीकार गर्ने शक्ति देऊ । हामीले देखेको संसारभन्दा पर पनि अर्को संसार भएको, हाम्रा आँखाका नानीभन्दा पनि चम्किला नानी भएको, हाम्रो मूल्यभन्दा पनि मूल्यवान् कुनै हृदय छ भने त्यो मेरै गुरुको छ भनेर अभिमान गरिरहन पाऊँ । आफ्नै आँखाले छामेको आकाशलाई मात्र विराट् देख्ने आँखामा दिव्यदृष्टि देऊ । बादलपारिको देशमा पनि हाम्राजस्तै कुमारी सपनाहरू खेलिरहेका छन् । प्रिय सञ्चेतना ! म बुढीऔँलो दिन तयार छु मेरा गुरु बुढीऔँलो उपहार लिन तयार होऊन् !!
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच