नमागिएको सल्लाह :
सुरक्षा अधिकारीले काबुबाहिरको परिस्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनलाई कानुनबमोजिम प्राप्त अधिकारबमोजिम बल प्रयोग गर्दा सधैँजसो विवादास्पद हुने गरेको छ । शक्ति प्रयोग गर्यो भने किन शक्ति प्रयोग गरेको भन्ने, गरेन भने कानुनबमोजिमको अधिकार प्रयोग नगरी परिस्थिति काबुबाहिर जाने अवस्था किन बन्यो भनेर आलोचित बन्नुपर्ने परिस्थिति रहेको छ ।
विगत केही महिना र केही दिनभित्र भएका घटनाको चर्चा गरौँ :
ललितपुर जिल्लाको बालकुमारी क्षेत्रमा वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने परीक्षामा सामेल हुन पाउनुपर्ने माग राखेर भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा सुरक्षा निकायले गरेको बलप्रयोगबाट दुईजना युवाको देहावसान भयो । यस घटनामा किन मृत्यु हुनेगरी बल प्रयोग भयो भन्ने सवालमा सर्वत्र आलोचना भयो । तत्पश्चात् सरकारले मृतकका परिवारलाई आर्थिक क्षतिपूर्ति दिने, मृतकको शव अन्तिम संस्कार गर्ने स्थानसम्म पुर्याइदिने र पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति बनाउने निर्णय गर्यो । छानविन समितिको प्रतिवेदन पनि आइसकेको छ, जुन सार्वजनिक भइसकेको छैन । सञ्चारमाध्यमले प्रवाह गरेको सूचनालाई आधार मान्दा यसको मुख्य कमजोरी मन्त्री प्रकाश ज्वाला, त्यो बाटो नगएको भए घटना हुने अवस्था बन्ने थिएन भन्ने रहेको छ ।
तालिम प्रशिक्षण, आवश्यक सामग्रीको अभाव र अपर्याप्तताको कारण बढी बल प्रयोग गर्ने अवस्था आइपर्दछ । भिड नियन्त्रण गर्ने अश्रुग्यास, रबर बुलेटलगायतका सामानको अभाव र अपर्याप्तताको कारण असामान्य अवस्थामा गोली चलाउनुपर्ने परिस्थितिको विकास हुन्छ ।
अर्को लघुवित्तको बढी ब्याजको पीडाले विरोधमा उत्रेको समूहको ठूलो संख्या संघीय संसद् भवनभित्र छिरेको घटनाको चर्चा भएको छ । त्यत्रो मजबुत सुरक्षा बन्दोबस्त भएको ठाउँमा ठूलै समूह संसद् भवनभित्र छिरेर नाराबाजी गर्ने परिस्थिति कसरी बन्यो भन्ने प्रश्न उठेको छ । सुरक्षा बन्दोबस्त गर्न नसकेका कारण त्यहाँ तैनाथ सुरक्षाटोलीको बदली भइसकेको छ । नयाँ सुरक्षादस्ता आएको छ । त्यहाँ सुरक्षा निकायले बल प्रयोग गरेको भए, त्यसको पनि आलोचना हुने थियो, राम्रै समाचार पनि बन्ने थियो । यस्ता धेरै घटना छन्, आजको विमर्श चाहिँ यी दुई घटनामा आधारित भएर गरिनेछ ।
यस्ता घटनामा के गर्ने भन्ने प्रश्न सुरक्षा अधिकारी र सुरक्षा निकायको टाउको दुखाइको विषय बनेको हुन सक्दछ । असल मनशायले बल प्रयोग गर्दा कतिपय सुरक्षा अधिकारी र सुरक्षा निकायमा कार्यरत अधिकृत तथा जवानहरू करबाहीमा परेका घटना धेरै छन् । सुरक्षा कारबाही गरेपछि विवादित नबनेका घटना चाहिँ बिरलै होलान् भन्न सकिन्छ । बल प्रयोगमा दोषी देखाइएकै कारण कतिपय होनहार अधिकारी, अधिकृत र जवानहरूको वृत्ति विकासमा नै बाधा परेको छ । समाजमा शान्ति सुरक्षा र अमनचैन कायम गर्ने मनशायले गरिएका सुरक्षा कारबाहीहरू किन सधैंजसो विवादास्पद बन्दछन्, यसले समाजमा र सुरक्षा निकायमा के कस्तो प्रभाव पर्ला, यसलाई कम विवादास्पद बनाउन के गर्नु पर्लाजस्ता विषयमा चर्चा गरिनेछ ।
बल प्रयोगमा विवाद किन हुन्छ ?
नेपालमा, देशको आर्थिक सामाजिक अवस्थाको स्तरभन्दा उपल्लो स्तरको खुलापन र राजनीतिक स्वतन्त्रताको अवस्था रहेको छ । समाजले अधिकारका कुरा ठूलो स्वरले गर्न जानेको छ, कर्तव्य पक्ष ओझेलमा परेको छ । यसको पछिल्लो उदाहरण हो–काठमाडांै शहरको सरसफाइको अवस्था । काठमाडौं महानगरपालिकाले मिहिनेत गरेर नगरको सरसफाइको अवस्था सुधार गरेको छ । तर, नागरिकहरू विनालज्जा आफूले उत्पादन गरेको फोहोर चिटिक्क परेको सडकमा फालिदिन्छन् ।
नबुझेका नागरिकको कुरा गरिएको होइन सुटटाई लगाएर विवाहभोजका लागि ठाटिएको, अमेरिका अष्ट्रेलियामा पटक-पटक तेल भिसामा गएर नेपाल फर्केर गफ लगाउने भलादमी पनि कारमा शयर गर्दै उसले खाने गरेको अम्बल, गुट्का आदिको प्लास्टिक, सफा गरिएको सडकमा फाल्नुमा आफू ठालू भएको ठान्दछ । सुरक्षा निकायको बल प्रयोगको घटनामा समाजको चेत बढी आलोचनात्मक रहेको छ । परिस्थितिको गम्भीरतालाई आँकलन नगरी गरिने आलोचनाले समाजको अनुशासन खल्बलिन्छ । सुरक्षा निकायको मनोबल कमजोर बन्दछ । परेको समयमा न्यूनतम बल प्रयोग नहुँदा ठूला घटना हुन सक्दछन् । यस्तो भएको पनि छ ।
यस्तो घटनाको विरोध गरेका कारण सस्तो लोकप्रियता आर्जन गर्न सजिलो हुन्छ जबकि विरोध ठूलो आलोचनाको विषय बन्न पुग्दछ । सञ्चारमाध्यम, नागरिक समाज, सामाजिक सञ्जालमा धेरै लाइक र कमेन्ट चाहनेहरूका लागि विरोध लोकप्रिय बाटो हो । सुरक्षा कारबाही गर्दा गरिने बल प्रयोगमा सुरक्षा अधिकारी र सुरक्षा निकायको कमजोरीका घटना धेरै छन् । बन्दुकलगायतका उपकरणसहित सुसज्जित सुरक्षा अधिकारी र अन्य निकायका सदस्यमा शक्तिको अहंकार भइहाल्छ । कसै कसैले त्यो अहंकारलाई बसमा राखेर कर्तव्य निर्वाह गरेका हुन्छन् भने कतिपय आफूमा निहित अल्पज्ञान र स्वभावगत कारण आफूलाई नियन्त्रणमा राख्न सक्दैनन् । बलको बढी प्रयोग भइदिन्छ र कारबाहीको भागिदार बन्नुपर्दछ ।
तालिम प्रशिक्षण, आवश्यक सामग्रीको अभाव र अपर्याप्तताका कारण पनि बढी बल प्रयोग गर्ने अवस्था आइपर्दछ । भिड नियन्त्रण गर्ने अश्रुग्यास, रबर बुलेटलगायतका सामानको अभाव र अपर्याप्तताको कारण असामान्य अवस्थामा गोली चलाउँनुपर्ने परिस्थितिको विकास हुन्छ । तालिमको कमजोरी र तनावको कारण हवाई फायर गरेको अवस्थामा झ्यालमा वा कौसीमा बसिरहेका नागरिकलाई गोली लागेका घटना छन् । केही साताअगाडि भएको बालकुमारी घटनामा अश्रुग्यास, रबर बुलेटलगायत सामग्रीको अपर्याप्तताका कारण गोली चलाउनुपर्ने अवस्था आएको भन्ने विषय सार्वजनिक भएको छ ।
सार्वजनिक भएको विषयमा सत्यता किन स्थापित हुनसक्दछ भने आन्तरिक सुरक्षाका लागि भिड नियन्त्रण गर्ने सामग्री खरिद राज्यको प्राथमिकतामा पर्दैन । यसले गर्दा परेको ठाउँमा न्यूनतम बलको प्रयोग गर्न सकिँदैन, फलस्वरूप ठूला घटना हुने परिस्थिति बन्दछ । जहाँसम्म संघीय संसदभित्र ब्याज पीडितहरू पसेको प्रसंग छ, त्यस घटनामा सुरक्षा कमजोरी त भएकै हो तर किन न्यूनतम बल पनि प्रयोग गरिएन ? सामान्य निगरानी र चनाखोपनसम्म पनि नहुनु ठूलै लापरबाही हो । सम्भावना छ-बालकुमारीमा भएको घटना आलोचित भएको र सुरक्षा बलका मानिसलाई कारबाही भएको, सुरक्षा अधिकारीलाई जिम्मेवारीविहीन बनाइएको घटनाबाट मनोवैज्ञानिक रूपमा त्रसित भएर यो घटना भएको होस् ।
विवादले समाजमा पार्ने प्रभाव :
सुरक्षा कायम गर्न गरिएका बल प्रयोग सबै उपयुक्त, सामयिक र अनिवार्य हुन्छन् भन्न सकिँदैन । धेरै कारणबाट सुरक्षा अधिकारीले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको घटना धेरै छन् । यस्तै घटनाको कारण सुरक्षा कारबाहीका सदावहार आलोचकहरूलाई बल पुगेको छ । यस्ता घटनाबाट पाठ सिकेर सुरक्षा कारबाही गर्ने निकायहरूले सावधानी र सचेततापूर्वक कारबाही गर्न आवश्यक छ ।
अर्को पक्ष छ-सदावहार आलोचनाको । जे जस्तो औचित्यपूर्ण बल प्रयोग भएको भए तापनि आलोचना भइरहँदा सुरक्षा जिम्मा लिएका अधिकारीहरू र सुरक्षा निकायमा अन्यौल र निराशाको परिस्थिति निर्माण हुन सक्दछ । यस्तो अवस्थामा समाज र समाजका जिम्मेवार अवयवहरूले सन्तुलित अवधारणा बनाउन जरुरी हुन्छ । यस्तो सन्तुलन जसमा सुरक्षा अधिकारीहरूले मनमौजी र अनुचित काम पनि नगरून् । समाजका जिम्मेवार अवयवहरूले औचित्यपूर्ण कारबाहीको समर्थन र सहयोग गरून् । कमसेकम विरोध नगरून् ।
समाजका जिम्मेवार अवयवहरू, सुरक्षा अधिकारीहरूले न्यूनतम क्षति हुने कारबाही नगर्दा हुनसक्ने भयावह परिस्थितिको आँकलन गर्न चुकिरहेका हुन्छन् । किनकि, दृश्यमा वर्तमानको घटना आएको हुन्छ । कुनै घटनामा बल प्रयोग गर्दा दुई जनाको मृत्यु भयो तर त्यो बल प्रयोग नगरेको भए दशजनाको मृत्यु हुन सक्ने अवस्था बन्ने आँकलन थियो भने यस्तो अवस्थामा बल प्रयोग औचित्यपूर्ण हुन सक्दछ । भिड नियन्त्रणका लागि बल प्रयोग गर्दा लाखको भिडलाई जीवनको क्षति नहुने गरी तितरबितर गर्न सकिन्छ ।
उदाहरणको लागि पहिलो मधेस आन्दोलनको क्रममा यो पंक्तिकार कुनै संवेदनशील मधेस प्रदेशको जिल्लाको प्रमुख जिल्ला अधिकारी रहँदा कर्फ्यू उल्लंघन गरेर हिंसामा उत्रेको उत्तेजक करिब साठी हजारको भिडलाई जीवनको क्षतिविना नै तितरवितर पारिएको थियो । महिनौंदेखिको अशान्ति त्यस घटनापछि शान्त भएको थियो । त्यस घटनापछि मधेस प्रदेशका सबै जिल्लामा आन्दोलन मत्थर भएको थियो ।
राज्यका निकायबाट भिड नियन्त्रणका लागि गरिने बल प्रयोग जनतासामु औचित्य पुष्टि गर्ने किसिमको हुनुपर्दछ । त्यति बल प्रयोग नभएको भए ठूलो धनजनको क्षति हुने परिस्थिति रहेको विषय स्थापित हुन सक्नुपर्दछ ।
त्यस घटनामा गोली नचलाई नहुने परिस्थिति थियो, गृहमन्त्रालय पनि बल प्रयोगको पक्षमा थिएन तर कार्यक्षेत्रमा खटिएका सुरक्षा अधिकारी, सुरक्षा निकायका अधिकृत जवान र सरकारी, निजी सम्पत्तिको सुरक्षाका लागि पनि बल प्रयोग गर्नुपर्ने अवस्था थियो । भिडको संख्या र उत्तेजनाको आँकलन गर्दा अश्रुग्यासलगायतका सामान्य बलबाट परिस्थिति नियन्त्रणमा आउने अवस्था थिएन । गोली चलाए तापनि संयमित भएर (सुतेर) लाइनिङ पोजिसन लिएर चलाएको कारण केही मानिस घाइते भए जीवनको क्षति भएन । घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लगेर उपचार गरियो । ठूलो क्षतिविना उत्तेजक परिस्थिति नियन्त्रणमा आयो ।
कसरी कम विवादास्पद बनाउने ?
बल प्रयोग सामान्यतः विवादरहित नहुने हुनाले कम विवादास्पद बनाउने भनिएको हो । यसका लागि आदेश दिने सुरक्षा अधिकारी, कार्यक्षेत्रमा खटिने सुरक्षाकर्मी, समाजका सबै अवयवहरूको पूर्वाग्रहरहित, समाजलाई अनुशासित र सभ्य बनाउने किसिमको साथ सहयोगको आवश्यकता पर्दछ । सुरक्षा निकायले विगतमा गरिएका बल प्रयोगका घटनामा भएको छानबिनको निष्कर्षका आधारमा आफूलाई सुधार गर्नुपर्दछ । घटना भएर नयाँ आयोग समिति बनाएर साधनस्रोतको अपव्यय गर्नुभन्दा पुराना अनुभवबाट पाठ सिकेर अघि बढ्नु श्रेयस्कर हुन्छ । बल प्रयोगका घटनामा उपल्लो निकायको आदेशभन्दा कार्यक्षेत्रमा खटिने कमाण्डर र स्थानीय सुरक्षा बलको प्रमुखको सल्लाह महत्वपूर्ण हुन्छ । टाढा रहेको नेतृत्वको आदेशमा चल्न थालियो भने समय बितिसकेको हुन्छ ।
स्थानीय सुरक्षा अधिकारीले घटनाको प्रकृतिलाई विश्लेषण गरेर गरेको बल प्रयोगलाई कम विवादास्पद बनाउन सकिन्छ । प्रदेश मातहतमा प्रहरी परिचालन हुने चर्चा चलिरहेको सन्दर्भमा दलगत आग्रहमा राज्यको बल प्रयोग होला कि भनेर चनाखो रहनुपर्ने अवस्था छ । घटना हुने सम्भावना भएको दिन जिल्ला सुरक्षा समितिका पदाधिकारी कमाण्ड सेन्टर खडा गरेर बसेको अवस्थामा सूचना संकलन, विश्लेषण र कार्यान्वयनमा प्रभावकारिता देखिन सक्छ । एकले अर्कालाई दोषारोपण गर्ने परिस्थिति पनि बन्दैन । सारांशमा, राज्यका निकायबाट भिड नियन्त्रणका लागि गरिने बल प्रयोग जनतासामु औचित्यपुष्टि गर्ने किसिमको हुनुपर्दछ ।
त्यति बल प्रयोग नभएको भए ठूलो धनजनको क्षति हुने परिस्थिति रहेको विषय स्थापित हुन सक्नुपर्दछ । सुरक्षा अधिकारीले आफूले विवेकको प्रयोग गरेर गरेको बल प्रयोगको विषयमा कतैबाट आलोचना भए पनि कमजोर बन्नु हुँदैन । किनकि, ठूलो क्षति रोक्नका लागि कम बलको प्रयोग गर्नुभन्ने आफ्नो अन्तरात्माको निर्णय थियो । संकटको समयमा विवेक नगुमाई गरेको आफ्नो अन्तरात्माको आवाज र निर्णयभन्दा ठूलो हाकिम अरू कोही पनि हुन सक्दैन । त्यस्तो निर्णय आग्रह पूर्वाग्रह प्रेरित नहोस् भन्नका लागि चनाखो भने रहनुपर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच