मधुसूदनप्रसाद घिमिरेको बिहानी हेर्दा

हिमालय टाइम्स
Read Time = 17 mins

✍️ तिलकप्रसाद लुइँटेल

उमेरले परिपक्व भएर पनि बालबालिकाका लागि उपयोगी साहित्य रचना गर्न सिपालु स्रष्टाको नाम मधुसूदनप्रसाद घिमिरे रहेछ । उहाँका धेरै कृतिहरू भइकन एउटा बालकविता संग्र्रहको नाम ‘बिहानी’ हो । कविको आफ्नै भनाइमा, ‘बालकको भविष्य सुन्दर होस् भन्ने शुद्ध भावनाबाट योभन्दा अघि केही बालसाहित्यको अक्षररूपी खुराक पहिला पनि पस्किसकेको हुँ ।’ लेखिएको हुनाले उहाँ निरन्तर लेखनमा हुनुहुन्छ भन्ने स्पष्ट हुन्छ । यस संग्र्रहभित्र जम्मा १९ वटा बालकविता समावेश छन् । कविताका सुरुमा भाव स्पष्ट गर्न सक्षम र सान्दर्भिक चित्रहरू छन् । कविताका हरफहरूले धेरै कुरा बताएका छन् र तिनलाई हरेक पद पद केलाएर लेख्न साध्य नहुने हुनाले केही कुरो चित्रको र यस पाठकलाई अति सान्दर्भिक अंश हरफहरूको मात्रै यहाँ चर्चा गरिएको छ ।

पहिलो कविता ‘फोहोर खाना खाने’ शीर्षकमा रहेको छ र यसमा सडक बालकलाई प्रष्ट चिनाउने चित्र छ । यद्यपि यस बेला पहिलेको जस्तो सडक बालबालिका देखिँदैनन् तापनि जुन समयमा, जहाँ, जति छन् उनीहरूका मनको व्यथा यस कविताले छर्लंग देखाएको छ । सबै सुस्पष्ट हुनका लागि पुस्तक नै पढ्दा राम्रो हुन्छ । बालकविता नै भए पनि धन र पहुँच नहुने सबैको अवस्थासँग मिल्दो कुरा कविताले यसरी बोल्छ,
कहाँ गए बालकको पढ्ने अधिकार ।
स्वच्छ खाना स्वस्थ हुने खोइ अधिकार ।।
दोस्रो कविता ‘उज्यालोले छाऊँ’ शीर्षकमा रहेको छ र यसमा किताब पढेर ज्ञानबुद्धिको उज्यालो पाउने तथा त्यही उज्यालो संसारलाई दिन रुचाउने विचार व्यक्त भएको चित्र छ । चित्रमा दुई बालबालिका किताब पल्टाएर पढ्न बसेका देखिन्छन् । पठनीय कुरो हरेक हरफमा छ तापनि ती स्वच्छ मन भएका र पढ्ने अवसर पाएका बालबालिका भन्छन् :
बालश्रम शोषणको मुक्तिगीत गाऊँ ।
कडा काम नगराऊ पढ्न लेख्न पाऊँ ।।
तेस्रो कविता ‘गरौं घरको काम’ शीर्षकमा रहेको छ र यसमा एउटी नानीले झ्याल पुछ्तै गरेको र उसलाई अर्को बाबुले सघाउँदै गरेको विचार व्यक्त भएको चित्र छ । चित्रमा दुई बालबालिका घरका आफूले सक्ने काममा लागेका देखिन्छन् । पठनीय कुरो हरेक हरफमा छ तापनि पढेलेखेर बेरोजगार बन्ने शिक्षा नीतिप्रति समाजलाई सचेत गराउँदै कविताले भन्छ,
कामकाज गर्नुपर्दा हामी एकै हुन्छौँ ।
पढ्न पाए छोरा छोरी उद्योग गर्न सक्छौँ ।।
चौथो कविता ‘साहुले आँखा तर्ने’ शीर्षकमा रहेको छ र यसमा पसलका साहुले हप्कीदप्की गरेर एउटा बालकलाई काम लगाएको विचार व्यक्त भएको चित्र छ । कवितामा राज्यले बालश्रम गराउन नपाउने नियम बनाए पनि व्यवहारमा पूर्णरूपले लागू हुन नसकेको कुरा संगेत भएको छ । पठनीय कुरो हरेक हरफमा छ तापनि समाजलाई सचेत गराउँदै कविताले भन्छ :
राति पनि काम लगाउँछन् दिनमा पनि काम ।
पेटका लागि काम गर्दा देख्नु छैन घाम ।।
पाँचौं कविता ‘सानो नानी’ शीर्षकमा रहेको छ र यसमा आमाले सानी नानीलाई पढाउँदै गरेको अवस्था व्यक्त भएको चित्र छ । कवितामा आमा नै सबैभन्दा पहिलो गुरु हुन् र उनैले सीप र शिक्षामा बानी बसाउँछिन् भन्ने कुरा संकेत भएको छ । सबैसँग यस्तै आमा होऊन् । सन्तान नभएका आमाले पनि र आमा नभएका सन्तानले पनि यस्तै व्यवहार पाउन मिल्ने अवस्था देख्न पाइयोस् भन्ने भावनामा सचेत गराउँदै कविताले भन्छ :
ज्ञानी नानी आमाले पाउनुभो ।
साजी सफा खाना नि ख्वाउनुभो ।।
छैटौं कविता ‘सुरी म्याउँ’ शीर्षकमा रहेको छ र यसमा बिरालोलाई कचौरामा खाने कुरा दिएको व्यक्त भएको चित्र छ । कवितामा बालबालिका र बिरालो आदि मानिसमा आश्रित प्राणी उस्तै हुन् र तिनीहरूप्रति सद्भाव राख्नुपर्छ । सृष्टिरक्षाका लागि यी सबैलाई मानिसले सहयोग भावना राखुन् भन्ने कुरामा सचेत गराउँदै कविताले भन्छ,
डर लाग्छ मलाई जुँगा नहल्लाऊ ।
चुप लागी सँगै खेलौं सँगै बसौं आऊ ।।
सातौं कविता ‘बिहानी’ शीर्षकमा रहेको छ र यसमा हिमाल, बोटबिरुवा, चराचुरुंगी र मानिसका घरहरू देखिएका छन् । समयको सम्मान गर्न आमाबाले सिकाएपछि त्यसै शिक्षाले अरू सबै खालका शिक्षाको जग बस्छ भन्ने कुरामा सचेत गराउँदै कविताका अंशले भन्छ :
बिहानी भो उठ नानी चरी नाच्दै आई ।
बच्चालाई चुच्चो भरी चारा खोजी ल्याई ।।
आठौं कविता ‘म छोरीको रहर’ शीर्षकमा रहेको छ र यसमा सानी नानी घरतिर आउँदै गरेको देखिएको छ । कवितामा लैंगिक चिन्नतभन्दा मानवीय चिन्तन उच्च छ र जीवनको उन्नतिमा सबैले अवसर पाएको हुनुपर्छ भन्ने विषयमा सचेत गराइएको छ :
धन होइन शिक्षा देऊ छोरा जस्तै ठानी ।
छोरी पनि हुन पाऊँ शिक्षित र ज्ञानी ।।
नवौं कविता ‘आमा’ शीर्षकमा रहेको छ र यसमा आमाका नजिकै घर र अर्कातिर फूल फुलेको देखिएको छ । आमा धर्ती हुन् र धर्ती आमा हुन् । अरूको ऋण तिर्न सके पनि धर्तीको र आमाको ऋण तिरेर कसैले सक्तैन । यसै विषयमा सचेत गराउँदै कवितामा भनिएको छ :
जन्म दिने माया दिने देवता सरी आमा ।
तिनै आमा जत्तिकै धरणी नि आमा ।।
दशौं कविता ‘किताब’ शीर्षकमा रहेको छ र यसमा सानी नानीका अगाडि टेबुलमा कविता भनेर लेखिएको किताब छ । नानीले कपीमा केही लेखिरहेको देखिएको छ । ज्ञानसीप हस्तान्तरण गर्ने प्राणी मान्छे नै हो र त्यसरी ज्ञानबुद्धि विनिमय गर्ने एउटा साधन किताब हो । किताबकपीको जतन गर्नुपर्छ भन्ने विषयमा संकेत गर्दै कवितामा भनिएको छ :
लेखौं पढौं जतनले किताब कापी नच्याती ।
कलम पेन्सिल नहराऊँ हराउनु नजाती ।।
एघारौं कविता ‘खाऊ भन्छिन् आमा’ शीर्षकमा रहेको छ र यसमा सानो बालकका अगाडि टेबुलमाथि भाँडामा खाने फलफूलहरू र गिलासमा खाने तरल पदार्थ देखिएको छ । बालकले एक हातमा केही खाने कुरा लिएको छ र अर्का हातले टेबुलमा भएका कुराहरू देखाएको छ । हिजोआजका बालच्चाहरू धेरैजसोको स्वभाव खान नमान्ने र पत्रु खाना रुचाउने भएको पाइन्छ । त्यसमा सचेत गराउँदै कम खर्चमा स्वस्थ खाना खानुपर्छ भन्ने कवितामा संकेत गरिएको छ :
केरा, अम्बा, नासपाती घरकरेसामा ।
ऋतुपिच्छे फल्ने चिज खाऊ भन्छिन् आमा ।।
बाह्रौं कविता ‘हाम्रा हिमाल’ शीर्षकमा रहेको छ र यसमा हिमालको चित्र रहेको छ । कवितामा धेरैवटा हिमालको नाम आएको छ । कविता पढेर बालबालिकाले नाम जान्न सक्ने अवसर यहाँ देखिन्छ । भूमि सुहाउँदो स्वभाव प्राणीको हुन्छ । उच्च भूमि भएका नेपालीको मन र विचार पनि उच्च नै हुनुपर्छ । हिमालहरूले विश्वमा नेपाल चिनिएको छ भने विचारले नेपाली चिनिनुपर्छ भन्ने कवितामा संकेत गरिएको छ :
नीलगिरी गौरीशंगर कञ्चनजंघा भनी ।
विश्वले नै चिनेको छ धवलागिरि पनि ।।
तेह्रौं कविता ‘नानीको बानी’ शीर्षकमा रहेको छ र यसमा घरको धारामा सानी नानीले दाँत माझँ्दै गरेको चित्र रहेको छ । आफ्नो स्याहार, आफन्तको ख्याल र आफ्ना सामानको हिफाजत गर्ने मानिस जीवनप्रति उत्साहित हुन्छ भन्ने भाव कवितामा देखिन्छ । त्यस्तो बानी विकासका लागि सानैदेखि प्रयास गर्नुपर्छ र सानैमा बसेको बानी सधैं रहन्छ भन्ने कवितामा संगेत गरिएको छ :
कपी कलम इरेजर जतन गर्न थाली ।
लेखपढ सकेपछि झोलाभित्र हाली ।।
चौधौं कविता ‘चाडबाड×’ शीर्षकमा रहेको छ र यसमा चाडबाड मनाउन दियोबत्ती बाल्दै गरेको चित्र रहेको छ । सनातन संस्कृतिका झलक चित्रमा र कवितामा उनै खालका चाडपर्वका नामहरू छन् । संस्कृति र चाडपर्व सबैतिर पालन हुन्छन् तर तिनका आचार र उपकरण भने आ–आफ्ना ठाउँअनुसार निश्चित भएका हुन्छन् । भूमिको प्रकृति सुहाउँदा यी चलनहरूले नै मानिसको स्थान, जाति र प्रकृतिको परिचय दिन्छ भन्ने भाव कवितामा देखिन्छ :
जन्म दिने आमालाई सम्झनका लागि ।
मातातीर्थ औँसी पनि छिटै आउँछ भाइ ।।
पन्ध्रौं कविता ‘मेरो नाम कुचो’ शीर्षकमा छ र यसमा घरको एउटा झ्याल र कुचाको चित्र रहेको छ । शब्दको धनी नेपाली भाषामा उस्तै वस्तु र साधनका पनि कामका आधारमा फरकफरक नाम छन् । सफा मन भएको मानिस ठाउँ र वस्तु सफा गर्ने तथा आफू पनि सफा हुने बानीको हुन्छ । साधनको सम्मान गर्दा आफूले पनि सम्मान पाइन्छ भन्ने भाव कवितामा देखिन्छ :
वरिपरि पिँढी आँगन सफा खरेटोले ।
जे जे नाम दिए पनि काम एउटै छ रे ।।
सोह्रौं कविता ‘ढिकी’ शीर्षकमा रहेको छ र यसमा ढिकीको चित्र रहेको छ । पुराना साधन हराए र अहिले नयाँ आए । यसलाई सामाजिक प्रगति मान्न सकिन्छ । सजिलो खोज्नु मानिसको स्वभाव हो । नयाँ वस्तुहरू प्रयोग गरे पनि पुराना वस्तुको परिचय सुरक्षित राख्न सकियो भने पुर्खाले कस्ता दुःख सुख निर्वाह गरेका रहेछन् भन्ने अनुमान गर्न सकिन्छ र नयाँ साधनको प्राप्ति नभएका अवसरमा पुराना साधनको प्रयोग गर्न सकिन्छ भन्ने भाव कवितामा देखिन्छ :
पुच्छरतिर मानिसले एक गोडाले थिच्ने ।
जति थिच्यो उफ्रिन्छु म अनि फेरि खस्ने ।।
सत्रौं कविता ‘बाँस’ शीर्षकमा रहेको छ र यसमा बाँसघारीको चित्र रहेको छ । सिपालु हातले एकै पदार्थलाई विविध रूप दिएर अनेकौं काममा प्रयोग गर्न सक्छ । मान्छे सीपको अधिकारी हो र सिक्न खोज्दा धेरै कुरा जान्न सक्छ भन्ने भाव कवितामा देखिन्छ :
घर बनाउँदा खट बन्छु दलिन डाँडा भाटा ।
काटेपछि चोया बन्छु सोली, डोका डाला ।।
अठारौं कविता ‘उरगल’ शीर्षकमा रहेको छ र यसमा हातले कुट्ने ओखलभित्र मुसल राखेको चित्र छ । कति लामो इतिहास पार गरेर मान्छे आजको सभ्यतामा आइपुगेछ भन्ने यसले देखाउँछ । यसलाई मनन गर्दा हिजो एक प्रकारको दुःख मानिसले खेपेको देखिन्छ भने आजको बदलिएको परिस्थिति पाइएको छ । भोलिको कस्तो आउला भनेर सचेत रहनुपर्ने भाव कवितामा देखिन्छ :
मलाई थिच्ने हाते मुसल त्यसलाई भन्छन् लुसी ।
मेरो नाम उरगल हो कुटाइ खान खुशी ।।
उन्नाईसौं र पुस्तकको अन्तिम कविताको शीर्षक ‘जाँतो’ हो । यसमा जाँतोकै चित्र छ । जाँतोमा यसको मानी र हातो पनि प्रष्ट देखिन्छन् । ढुंगो जस्तो कठोर वस्तुलाई धेरै दुःख गरेर हाम्रा पुर्खाले आफ्नो काममा लगाए । यसमा सीप र सावधानी कति चाहियो होला । कविताले यसै कुरामा बालबालिकाको ध्यान आकृष्ट गर्न खोजेको हुनुपर्छ । जाँतो शीर्षकको कवितामा पठनीय कुरा अनेकौं छन् तापनि एक अंश यस्तो देखिन्छ :
कोदो गहुँ चामल जस्ता खुराकिला अन्न ।
साना साना दाना खाई हामी बन्छौं टन्न ।।
सत्रौं कविता ‘बाँस’ बाहेक पन्ध्रौं कवितादेखि पुराना वस्तुको जानकारी यहाँबाट सुरु हुन्छ र जम्मा १९ पृष्ठमा पुस्तक समाप्त भएको छ । आवरणको पछिल्लो पृष्ठमा कृतिकारका प्रकाशित पाँच कृतिहरू, १६ बालसाहित्य, सम्बद्ध ६ संस्थाहरू, प्राप्त गरेका पाँच मानसम्मानहरू र चार शोधपत्रहरूको जानकारीसहितको परिचय दिएर कृति पूरा भएको छ । एक छिनको बैठानमा कृति पढिसकिन्छ तर यस पठनले बालबालिकालाई आजीवन सुन्दर शिक्षा दिन्छ । बिहानीले पाठकलाई स्नेह अर्पण गर्न सकोस् । त्यही नै उसको सफलता हुनेछ । कृतिकार मधुसूदन घिमिरेबाट अरू पनि विभिन्न उमेर समूहका पाठकलाई सुन्दर कृतिहरू आऊन् भन्ने शुभकामना छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?