सिन्धुलीमा यसरी सुरू भयो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 5 mins

सिन्धुली । “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको मुख्य नारा रहेको छ ।

यहि नारा लेखिएको ब्यानरसहित शनिबार विहान सिन्धुलीको सदमुकाम सिन्धुलीमाढीमा अवस्थित लोकतान्त्रिक चोकमा जनप्रतिनिधि, सरकारी, गैरसरकारी संघसंस्थाका प्रमुख, प्रतिनिधि तथा कर्मचारीहरु, अधिकारकर्मी, सामाजिक अभिन्यताहरु र नागरिक समाज सँगसँगै देखिए ।

महिला, पुरुष र बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले हिंसा विरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै कमलामाई नगरपालिका, सिन्धुलीले आयोजना गरेको प्रभातफेरी (र्याली) मा सक्रिय सहभागिता जनाए ।

लोकतान्त्रिक चोकबाट सुरु भएको प्रभातफेरी गैरीबजार–बैंक रोड हुँदै २ नम्बर बजारको सिरानलाई परिक्रमा गरेर पुन सोही चोकमा फर्किएर कोणसभामा परिणत भयो ।

हिंसा विरुद्धको १६ दिने अभियानकी संयोजक तथा कनपा नगर उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षतामा सुरु भएको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन आज आमनागरिकलाई सचेतना दिन सन्देशसहतिको प्रभातफेरी गरिएको जानकारी दिनुभयो ।

उहाँले आजबाट १६ दिनसम्म नगरभित्रका सबै वडामा हिंसा विरुद्धका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न तय गरिएको कार्य योजना अनुरुप प्रभावकारी कार्यान्वयमा जोड दिन सम्बन्धि सबै सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।

हिंसा अन्त्य आफ्नो घरबाट सुरु गर्न उहाँले दिनुभयो । उहाँले भन्नुभयो, “हिंसारहित समाज निर्माणका लागि कानूनले दिएको सम्पूर्ण अधिकारलाई प्रत्याभूति दिलाई मानव अधिकारको रक्षा गर्न सबै आ–आफ्नो ठाउँबाट जुटौँ, हिंसा अन्त्य सबैले आ–आफ्नो घरबाट सुरु गरौँ ।”
जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता कार्कीले आजबाट सुरु भएको अभियान अन्र्तगत कनपासहित जिल्लाका ९ वटै पालिकामा विभिन्न सचेतना, सशक्तिकरण र सहयोगका कार्यक्रम हुने जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले लैङ्गिक हिंसा विरुद्ध १६ दिन लागेर मात्रै नपुग्ने भन्दै ३६५ दिननै सचेतना र सशक्तिकरणको माध्यमबाट प्रतिकार गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रत्यक महिला र बालबालिकालाई सुरक्षाको प्रत्याभूति दिलाउनलाई कानूनी सचेतनाको साथसाथै उहाँहरुको आर्थिक सशक्तिकरणको लागि पनि ध्यान दिनु पर्छ ।”

कानूनले निषेध गरेका विविध किसिमका विभेद, हिंसा, विकृति, विसंगति र अपमानका विरुद्ध घर, परिवार, समुदाय र सरोकारवालाहरु सबै जुट्न पर्ने उहाँको धारणा थियो ।

आज नोभेम्बर २५ बाट सुरु भएको लैङगिक हिंसा विरुद्धको अभियान डिसेम्बर १० सम्म सञ्चालन गरिने छ । यसको अवसरमा जिल्लामा सञ्चालित सरकारी, गैरसकारी सँघसँस्थाहरुले १६ दिनसम्म विभिन्न सचेतना र सशक्तिकरणमुलक कार्यक्रम लगायतका विविध गतिविधिहरु सञ्चालन गर्ने जनाएका छन् ।

तस्वीर : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान उद्धघाटनपछि कार्यक्रममा सहभागिहरु सामुहिक फोटो खिच्दै ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?