यस्तो दुर्नियतिको कारक को !

हालका दिनहरूमा गाउँहरू युवाविहीन बनिरहेका छन् । यस्तो दुर्नियति देशमा कसरी भित्रिएको हो भन्ने विषयलाई गम्भीरतापूर्वक हेरेर समाधानका उपायहरूको अवलम्बन गर्नुपर्ने हुन्छ । गाउँघरका कृषिका काम गर्न सक्ने भनेका युवा नै हुन्, कृषिका लागि हलो, कोदालो चलाउनुपर्ने हुन्छ । त्यसका लागि सक्षम जनशक्तिको आवश्यकता पर्दछ र त्यस्तो जनशक्ति भनेको युवहरू नै हुन सक्छन् । त्यसका साथै पशुपालन होस् वा वनजंगलबाट दाउरा-घाँस ल्याउने काम होस् त्यो पनि बाललबालिका र वृद्धबाट सम्भव हुन सक्दैन, युवाकै आवश्यकता पर्दछ । अन्य विकास निर्माणका कामका लागि आवश्यक जनशक्ति भनेको युवा हुन् । अहिले जसरी गाउँघर युवाविहीन बनिरहेको छ त्यसले गर्दा यी कृषि, पशुपालन, निर्माणलगायत काममा बाधा परिरहेको छ ।

यसो त युवा भन्नाले १८ वर्षमाथिमा व्यक्तिहरूलाई लिइने हुँदा तिनको समेत पलायनले शिक्षा क्षेत्रसमेत प्रभावित भइरहेको छ । तिनीहरू आफ्नो गाउँबाट सम्भावना खोज्दै शहरतिर जान्छन् कि त वैदेशिक रोजगारीमा जाने गर्छन् । योग्यता र क्षमता नभएका त्यस्ता व्यक्ति जहाँ गए पनि आफ्नो श्रम सस्तोमा बेच्न बाध्य हुन्छन् । दक्ष र अर्धदक्षहरूले अलिक बढी मूल्यमा आफ्नो श्रम बेच्न पाए पनि अदक्षहरूले भने जसरीतसरी काम पाउनुलाई नै ठूलो कुरा मान्नुपर्ने भएका कारण तिनले खासै धेरै कमाउन सक्दैनन्, कसैकसैले जेनतेन आफ्नो र परिवारको गुजारा हुनेसम्मको काम पाउँछन् भने कतिले घर फर्किने भाडासम्म जोहो गर्न नसकिरहेका उदाहरण देखिएकै छन् ।

आफ्नै देशको शहरी क्षेत्रमा जानेहरूले पनि ठेला ठेल्ने, रिक्सा चलाउनेलगायत साना काममै चित्त बुझाउनुपर्ने हुन्छ । तर, जे जस्तो काम गर्नुपरे पनि आफ्नो गाउँघरमा युवाहरू बस्न चाहँदैन् । शहरी क्षेत्रतिर पलायन हुने र केही संख्यामा विदेश जाने प्रचलन पहिलेदेखिकै हो तर ठूलो संख्यामा गाउँ छोडेर भाग्ने क्रम भने माओवादीको सस्शत्र विद्रोहदेखि सुरु भएको हो । बुढाबुढी र केटाकेटीबाट उनीहरूको क्रान्ति सम्भव थिएन । युवाहरू राजीखुशीले क्रान्तिमा भाग लिन जाने भनेको थोरै नै हुन्थे । त्यस कारण तिनलाई बाध्य बनाएर क्रान्तिमा सहभागी गराइन्थ्यो । व्यापक रूपमा युवाहरू त्यही बेलादेखि गाउँघरबाट पलायन हुन थाले । गाउँघरका पाखारेखा बाँझै रहे, विकास निर्माणका काममा समेत सहभागिता कम भयो ।

स्थानीय तहमै आपसी श्रमदानबाट हुने बाटो, कुलो, पैनी, पुलपुलेसा निर्माणका काम हुन छोडे । मेला, पर्मलगायत कामसमेत प्रभावित भए । गाउँबाट हिँडेकामध्ये केही वैदेशिक रोजगारीमा जानसके भने कतिपयले शहरी क्षेत्रमा सानातिना काम गरेर बस्नुपर्‍यो । गाउँघरमा तिनका छोराछोरी र तिनलाई हेरेर बस्ने बुढाबुढीमात्रै बाँकी रहे । गाउँका खरबारी, कान्ला-करेसा जंगलमा परिणत भए र जंगली जनावरको संख्या उल्लेख्य वृद्धि भयो । तिनै बुढाबुढी र केटाकेटीले गरेको सीमिति खेती जंगली जनावरबाट जोगाउन मुस्किल हुँदै गयो । तर, मओवादी शान्ति प्रक्रियामा आएपछि पनि गाउँघरबाट पलायन भएका गाउँ फर्किन चाहेनन् ।

शहरी क्षेत्रमा बसोवास गर्ने बानी परिसकेका कारण र शहरमा केही अवसर पाएका अवसरविहीन गाउँघरमा फर्किने कुरै भएन । त्यसले गर्दा शहरी क्षेत्रहरू झनै भरिँदै गए, गाउँहरू रित्तिँदै गए । यस्तो अवस्थामा सरकारले युवालाई गाउँमै राख्न वा गाउँ छोडेकाहरूलाई गाउँ फर्काउन गाउँघरमा पनि अवसरको सिर्जना गर्नुपर्छ । गाउँगाउँमा सिंहदरबार भनेर ल्याइएको वर्तमान संघीय राज्य प्रणालीले भनेजस्तो गर्न सकेको छैन । शहर केन्द्रित विकास तथा अवसरलाई गाउँसम्म पुर्‍याउन सरकारले नयाँ-नयाँ खालका योजना र अवसर सिर्जना गर्ने हो भने अहिले शहरमा बसिरहेका गाउँका युवाहरू त्यतै फर्किने सम्भावनालाई नकार्न मिल्दैन । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तीनवटैले यस्तो प्रयास भने गर्नै पर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?