प्रतिस्थापन बजेट लोककल्याणकारी छ : मुख्यमन्त्री कार्की

हिमालय टाइम्स
Read Time = 2 mins

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभामा पेस भएको प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने बताउनुभएको छ ।

विधेयकका सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सभाहलमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले विशेष परिस्थितिमा नयाँ बजेट आएको स्पष्ट पार्नुभयो । जनताका घरदैलोसम्म पुर्याउने लक्ष्यका साथ योजना र बजेटको व्यवस्था गरेको जनाउँदै मुख्यमन्त्री कार्कीले भन्नुभयो, “प्रदेशमा १० वर्षमुनिका बालबालिकाको उपचार बजेट पारित भएकै दिनदेखि निःशुल्क उपचार हुन्छ ।”

उहाँले सांस्कृतिक एकता र सद्भावलाई ध्यानमा राखी ल्याएको यो बजेटले सुनसरी र इनरुवा सडकको स्तरोन्नति गर्ने, केशल्या करिडोरलाई व्यवस्थित गर्ने जनाउँदै बजेट भौतिक र मानव विकासमा केन्द्रित छ भन्नुभयो ।

उहाँले शैलेजा हृदय केन्द्र अस्पताल निर्माण र महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्ने बजेटको विशेषता रहेको उल्लेख गर्दै प्रदेशको राजधानी आउनसम्मका सबै बाटोलाई व्यवस्थित गर्ने दाबी गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले विराटनगरको रानीबाट सुनसरीको दुहबीसम्म ‘बाइपास’ बाटो निर्माण गर्ने जनाउँदै राजस्व बढाउन लोक कल्याणकारीका योजना सञ्चालन हुने बताउनुभयो ।

उहाँले बजेट अध्यादेशबाट आए पनि सबैको मन छुने गरी ल्याएको र यसले आम नागरिकको आवश्यकता र चाहनालाई पूरा गर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो “बजेट पूर्णरूपमा कार्यान्वयन हुन्छ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?