एमाले सचिव भट्टराईलाई पहिचान पक्षधरले कालो झण्डा देखाए

हिमालय टाइम्स
Read Time = 3 mins

ताप्लेजुङ । नेकपा (एमाले) का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलाई पहिचान पक्षधरले ताप्लेजुङमा कालो झण्डा देखाएका छन् ।

एमाले जिल्ला कमिटीले आइतबार आयोजना गरेको चियापानमा सहभागी हुन कार्यक्रम स्थलतर्फ जानेक्रममा भट्टराईलाई पहिचान पक्षधरले कालो झण्डा देखाएका हुन् ।

नेता भट्टराईलाई कालो झण्डा देखाउँदै पहिचान पक्षधरले सदरमुकाम फुङ्लिङमा प्रदर्शनसमेत गरेका छन् । पहिचान बिरोधी भएकोभन्दै पहिचान पक्षधरले भट्टराई र प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बोविरुद्ध कालो झण्डासहित नाराबाजीसमेत गरेका थिए ।

प्रदेश १ को कोशी नामकरणमा हस्ताक्षर गरेकोभन्दै एमाले पोलिटव्युरो सदस्य तथा प्रदेशसभा सदस्य मेन्याङ्बोविरुद्ध पहिचान पक्षधरले प्रदर्शन गर्दैआएका छन् ।

एमाले जिल्ला कमिटीले दसैँ, तिहार, छठ, चासोक तङ्नाम, ल्होसारजस्ता चाडपर्वको अवसर पारेर आइतबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा सचिव भट्टराई उपस्थित हुनुभएको थियो । सोही बेला पहिचानवादीहरूले कालो झण्डा देखाएर कार्यक्रम अवरोध गर्न खोजेका थिए ।

कार्यक्रमस्थल अगाडि पहिचानवादीहरूले नारा जुलुस गरेपछि एमालेका कार्यकर्ता र पहिचानवादीबीच झडपसमेत भएको थियो । झडपका क्रममा ५ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

केहीबेर पछि अवस्था सामान्य भएको र चियापान कार्यक्रम सम्पन्न भएको एमाले पोलिटब्युरो सदस्य तथा कोशी प्रदेशसभा सदस्य मेन्याङ्वोले बताउनु भयो ।

कार्यक्रम सकेर काठमाडौं फर्कने बेला भट्टराई सवार गाडीमाथि ढुंगा प्रहार हुँदा गाडीको सिसा फुटेको बताइएको छ । बाटोमा लुकेर गाडीमाथि ढुंगा प्रहार भएको र ढुंगा हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?