पाल्पामा गैरआवासीय नेपालीले पाए नागरिकता

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 4 mins

पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले मंगलबार पहिलो पटक तानसेन नगरपालिका –४ सिल्खानटोलका १९ वर्षीय फेलिक्स बज्राचार्यलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

प्रजिअ बास्तोलाले पहिलो पटक बज्राचार्यलाई नागरिकता प्रदान गर्दै जिल्लामा गैरआवासीय नागरिकता वितरण कार्यान्वयनको सुरुआत गर्नुभएको छ । प्रशासन कार्यालय पाल्पाले यही मंसिर १० गते बज्राचार्यको नाममा नागरिकता जारी गरेको थियो ।

बज्राचार्य विगत १८ वर्षदेखि आमा फ्रेडीरिके बुर्केट र बुवा सुमेध रत्न बज्राचार्यसँग जर्मनको कोनिगस्विन्टरामा बस्दै आउनुभएको छ । नेपालको संविधानमा भएको व्यवस्था अनुसार नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० को अनुसूचि (८) को (ग) अन्तर्गत नागरिकता ऐन, २०६३ को दफा ७ (क) बमोजिम शर्त तथा अवस्था पुरा गरेकाले उहाँलाई नागरिकता प्रदान गरिएको हो । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको हातबाट जिल्लामै पहिलो गैरआवासीय नागरिकता लिन पाउँदा असाध्यै हर्षित भएको बज्राचार्यको भनाई छ । उहाँले नागरिकता दिएकोमा जिल्ला प्रशासन कार्यालय पाल्पा र नेपाल सरकारलाई धन्यवाद समेत दिनुभयो ।

नेपालको नागरिकता ऐन २०६३ को तेस्रो संशोधन अन्तर्गत नेपाल नागरिकता नियमावली, २०८० जारी भएसँगै जिल्लामा पहिलो पटक गैर आवासीय नेपालीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलले बताउनुभयो । उहाँका अनुसार नागरिकता प्राप्त गरेसँगै बज्राचार्यले राजनीतिकबाहेकका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउनु हुने छ । प्रजिअ बास्तोलाले भन्नुभयो ‘विदेशमा नेपालीपनको महसुस गर्न पाउन र आर्थिक कुटनीतिक अन्तर्गत नेपालमा विदेशी लगानी भित्र्याउन गैरआवसीय नेपालीले पनि लगानीको वातावरण सिर्जना गर्न पाउन भन्ने उद्देश्यले गैरआवसीय नेपालीलाई नागरिकता दिन थालिएको हो ।’ बज्राचार्यलाई तानसेन नगरपालिका –४ का वडा अध्यक्ष हेन्तराज शाक्य, तानसेन –६ का वडा अध्यक्ष सागरमान महर्जन, पाल्पा उद्योग वाणिज्य संघका सचिव विदुर घिमिरे, जेसिसका अर्जुन कार्की लगायतका व्यक्तिहरुको उपस्थितीमा नागरिकता प्रदान गरिएको थियो ।

गैरआवासीय नेपालीले लामो समयदेखि नेपाली नागरिकता दिनुपर्ने माग गर्दै आएका थिए । उनीहरूकै मागलाई सम्बोधन गर्दै संविधान जारी भएको लामो समयपछि नेपाल नागरिकता ऐन, २०६३ संशोधन गरी नागरिकता प्रदान गर्ने व्यवस्था मिलाइएको हो । नेपाल नागरिकता नियमावली गत असोज ४ गते राजपत्रमा प्रकाशित भएको थियो । उक्त नियमावली प्रकाशित भएसँगै गैरआवासीय नेपालीलाई नागरिकता लिन बाटो खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?