सञ्चार मन्त्रालयका निकाय ‘सिरानीमा सुन राखेर नुन खोज्न हिँड्नेजस्ता’ : मन्त्री शर्मा

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मातहतका निकायको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित ‘गीतसंगीत र रेडियो नेपाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफू मातहतका निकाय ‘सिरानीमा सुन राखेर नुन खोज्न हिँड्नेजस्ता’ भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएकी मन्त्री शर्माले रेडियो नेपालसहितका सञ्चार मन्त्रालय मातहतका निकायमा सम्पती भएपनि त्यसको सदुपयोग गर्न नसकिएको बताउनु भयो ।

उहाँले रेडियो नेपालमा देखिएको समस्या तत्काल समाधान गर्न त्यसका व्यवस्थापनलाई निर्देशन दिनुभयो । मन्त्री शर्माले पुराना स्रष्टा र सर्जकहरुलाई सम्मान गर्ने कुरामा सरकारले कञ्जुस्याँई गर्न नहुने पनि पटकपटक दोहोर्‍याउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा सरकारी सञ्चार माध्यामहरु, निकायहरु, अरु पनि क्षेत्रहरु छन् रेडियो नेपाललाई मात्रै मैले भनिरहेको छैन । हामी सबै कस्ता भयौ भने सिरानीमा सुन राखेर नुन खोज्न हिँड्ने जस्ता हामी भयौं । सम्पती छ । तर सम्पतीलाई प्रयोग गर्न सकेका छैनौ वा हाम्रा केही ऐन, कानूनहरु बाधक छन ? हामीले यसलाई प्रयोग गर्न नसकेर अघि यहाँ भन्नुभयो । तलव खुवाउन पनि हारगुहार गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं । वास्तवमा यसलाई गहिरो ढंगले समिक्षा गर्न जरुरी छ । म आग्रह गर्न चाहन्छु-रेडियो नेपालका निर्देशकसहितको टिमले समस्याको ठिक ढंगले पहिचान गर्नुस् । हाम्रा यस्ता पाका, पुराना स्रष्टाहरुले यति धेरै गुनासो गर्ने स्थितिमा हामीले पुर्‍याउनु हुँदैन । उहाँहरुप्रतिको सम्मान राज्यले गर्न सक्नुपर्छ । त्यो सम्मान गर्ने सामथ्र्य हामीसँग छ भन्ने मलाई लाग्छ । तर हामीसँग सामर्थ्य छ, साधनस्रोत छ । सबै थोक छ । हुँदाहुँदै पनि किन हामीले गर्न सकिरहेका छैनौं ? हाम्रा कानून बाधक हुन भने कानूनी बाटो खोलौं । क्याबिनेटमा लगेर यसको समस्या समाधान गर्न हामी तयार छौं ।’

मन्त्री शर्माले रेडियो नेपालसहितका निकायहरुलाई प्रभावकारी बनाउन कानून बाधक भए सो समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको पनि बताउनु भयो । त्यस अवसरमा उहाँले पुराना स्रष्टा र सर्जकहरुलाई रोयल्टी दिने कुरामा सरकार गम्भिर रहेको समेत बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?