भक्तिपुरमा आगलागीबाट घर जल्यो, एकजना घाइते

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरमा आगलागी भएको छ । आगलागीबाट भक्तिपुरका चन्देश्वर चौधरी कलवारले पसल समेत सञ्चालन गरेको घर जलेर नष्ट भएको छ । विद्युत् सर्ट भई आगलागी भएको पीडित परिवारले बताएका छन् ।

आगलागीबाट घर तथा घरमा रहेको सरसामग्री, किराना पसल, नगद, गरगहनालगायत सम्पूर्ण समान जलेर नष्ट हुँदा करिब ७० लाख बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलवासका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताउनुभयो ।

आगो निभाउने क्रममा घरधनी चन्देश्वरका छोरा १४ वर्षीय रामकुमार चौधरीको शरीरका विभिन्न भाग जलेर घाइते हुनुभएको छ । उहाँलाई बयलवासमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको छ । आगलागीपछि बेला बेलामा अचेत भइरहनुभएका घरधनी चन्देश्वरलाई पनि उपचारका लागि छोरासँगै काठमाडौँ लगिएको स्थानीयले बताएका छन् ।

आगलागीमा परेर चौधरीको घरमा पाहुना आएका चेलिबेटी र अन्य आफन्तको गरगहना समेत जलेको वडाध्यक्ष विश्वनाथ सहनी मलाहले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थी, गाउँले, प्रहरीलगायत भएर घर अघि नालामा जमेको पानी हालेर आगलागी निभाइएको थियो । त्यसपछि भने हरिवन र मलङ्गवा नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?