लालुपाते सहकारी प्रकरण : अभियोग पत्र दर्ता, कसले कति ऋण तिर्न बाँकी ?

फाइल तस्वीर

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 7 mins

खोटाङ । खोटाङको दिक्तेलबजारमा अवस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक तथा ऋणीविरुद्ध ठगी सम्बन्धी कसूरमा अभियोग पत्र दर्ता भएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ३२ बमोजिम बुधबार खोटाङ जिल्ला अदालतमा जिल्ला सरकारी वकीलको कार्यालयले अभियोग पत्र दर्ता गराएको हो ।

सहरकारीका तत्कालिन अध्यक्ष मृतक अनिल जोशीसहित उनको ५ जना परिवार, २ जना कर्मचारी, सहकारी सञ्चालन समिति ८ जना नयाँ सदस्य, पूरानो कार्य समितिका ६ जना सदस्य र १४ जना ऋणीसहित ३५ जनालाई प्रतिवादी बनाउँदै अभियोग पत्र दर्ता भएको छ ।
बचतकर्ता पदम कुमारी सैंजु समेत २६५ जनाको जाहेरीमा सहकारी सञ्चालक समिति र ठूला ऋणी गरी ३५ जनालाई प्रतिवादी बनाईएको छ । प्रतिवादीहरुमध्ये हिरासतमा रहेका ९ जनाको बिहीबारबाट बयान सुरु भएको खोटाङ जिल्ला अदालतका श्रेस्तेदार सिताराम खड्काले बताउनुभयो ।

९ जनाको बयान सकेपछि सरकारी वकील र प्रतिवादीका वकीलबिच बहस हुनेछ । त्यसपछि उनीहरुलाई थुनामा राख्ने, तारिखमा छोड्ने अथवा धरौटी लिने भन्नेमा निर्णय हुनेछ । अन्य २६ जना फरार सूचिमा रहेको र उनीहरु आफै अदालतमा हाजिर नभएमा पक्राउ गरी ल्याईने श्रेस्तेदार खड्काले बताउनुभयो ।

दिक्तेलमा २०७२ सालमा स्थापना भएको सहरकारीका अध्यक्ष अनिल जोशीको कोभिड–१९ सङ्क्रमणका कारण २०७८ वैशाख–१५ गते पोखरामा निधन भएपछि २०७८ वैशाख–१६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प भएको थियो ।

तत्कालिन अध्यक्षको निधनपछि बचतकर्ताहरुले आफूहरुको बचत फिर्ता माग्न थालेपछि सहकारीको बचत तत्कालिन मृतक अध्यक्ष जोशी र प्रबन्धक निर्देशक रुकु जोशीले अपचलन गरेको बाहिर आएको थियो। बचत अपचलन भएको थाहा भएपछि बचतकर्ताले दिक्तेलबजारमा दुई पटक विरोध -याली निकालेको थियो

कसले कति ऋण तिर्न बाँकी ?

सहकारीका तत्कालिन अध्यक्ष मृतक जोशी र प्रबन्धक निर्देशक रुकु जोशीको हस्ताक्षर गर्दै सहकारी ऐन २०७४ को दफा १२५ खण्ड(घ) विपरीत विभिन्न व्यक्तिहरुलाई कर्जा लगानी गरेको अभियोग पत्रमा देखिन्छ ।

कर्जा लगेका तर, नतिर्नेमा सहकारीकै तत्कालिन अध्यक्ष जोशी छन् । जोशीले १ करोड ११ लाख ६७ हजार २०४, राम श्रेष्ठ र सहकारी अध्यक्ष मृतक जोशी संयुक्तमा ५६ लाख ४७ हजार ९८३, लोकेन्द्र प्रकाश राजभण्डारी ९८ लाख ९५ हजार २६०, गगन बहादुर खत्रीले ३ लाख ६२ हजार १०० रुपैयाँ ऋण तिर्न बाँकी देखिन्छ ।

यस्तै, रविन्द्र कुमार वजिमय ६ लाख १५ हजार ४३६, हरीप्रसाद जोशी २ लाख १७ हजार ५६९, सरोज÷चित्रकला श्रेष्ठ ३ लाख ३ हजार १७८, लक्ष्मण बन्जारा ५ लाख ४४ हजार ५६६, ईश्वर श्रेष्ठ २६ लाख ५६ हजार ३६३, नबिन गिरी ३ लाख ९२ हजार २९३, जसुदा पौडेल ३९ लाख ३२ हजार १९३ र सुनिल जोशीले ९ लाख ९१ हजार ८७४ रुपैयाँ ऋण तिर्न बाँकी छ । ऋणीहरुले २५ हजारदेखि ९९ लाखसम्म ऋण लगेको पाईएको छ ।

सहकारीले १४ ठूला ऋणीलाई ४ करोड ८७ लाख २१ हजार ३६२ रुपैयाँ ऋण लगानी गरेकोमा १ करोड ७ लाख १० हजार ३३६ रुपैयाँ ऋण उठेको र अब ३ करोड ८० लाख ११ हजार २६ रुपैयाँ उठ्न बाँकी देखिन्छ । सहकारीसँग निक्षेप ४ करोड ४७ लाख ५७ हजार २२१, जगेडा कोष १९ लाख ५८ हजार ४९२ रुपैयाँ र २४ लाख ८६ हजार ५६४ रुपैयाँ संस्थागत कोष रहेको छ ।

कारागारमा रहेको १६ रोपनी जमिन सहकारीको स्वामित्वमा छ । सहकारीले नै हलेसीमा ४८ लाखमा खरीद गरेको ६ रोपनी ३ आना १ पैसा १ दाम जग्गा सहकारीका तत्कालिन अध्यक्ष जोशीका भाई सुनिल जोशीको नाममा छ । त्यो जग्गा सहकारीले आफनो नाममा ल्याउन कानूनी बाटो खोजिरहेको छ ।

सहकारीविरुद्ध २६५ जना बचतकर्ताले ४ करोड ४० लाख ६१ हजार १८ रुपैयाँ बिगो मागदाबी गरेका छन् । बचतकर्ताले सहकारीमा ८०० देखि ५५ लाखसम्म पैसा बचत गरेका छन् ।

सहकारीको सम्पूर्ण कारोवार चेकमाफर्त सहकारी अध्यक्ष मृतक जोशी र प्रबन्धक रुकुकोे हस्ताक्षरबाट भएको देखिन्छ । अध्यक्ष र प्रबन्धक दुई जनाले बचत अपचलन गर्दा त्यसका वारेमा किन जानकारी नलिएको र अनुगमन नगरेको भन्ने सञ्चालक समितिलाई आरोप छ । सञ्चालक समिति कसैले पनि पैसा नलगेको देखिएको अभियोग पत्रमा उल्लेख छ ।

बचतकर्ताले दिएको जाहेरीको आधारमा प्रहरीले अध्यक्ष जोशीका भाई सुनिल जोशी र सुनिलका श्रीमती रविना श्रेष्ठ, प्रबन्धक रुकु जोशी, सहकारीका उपाध्यक्ष अर्जुन चौलागाईँ, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई पक्राउ गरेको थियो ।

सहरकारीबाट लगेको ऋण तीनदिन भित्र तिर्न प्रहरीले सूचना समेत जारी गरेको थियो । सूचना जारी गरेपछि ईन्द्र कसजुले ३१ हजार, कमल गिरीले १० लाख, नवराज थापाले १ लाख ५० हजार, राजन सैंजुले १ लाख ३५ हजार र निकिता राईले २ लाख ऋण तिरेका थिए ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?