पुरातात्विक सम्पदाको जिर्णोद्वारमै आत्मसन्तुष्टि

हिमालय टाइम्स
Read Time = 8 mins

नवराज सिवाकोटी, दोलखा । बौद्ध धर्मसँग सम्बन्धित लहरे माने अनि मानेहरु दोलखाका हिमाली क्षेत्रमा प्रशस्तै छन् । स्थानीय ढुङ्गा माटो प्रयोग गरी बनाईएका यस्ता सम्पदाहरु २०७२ सालको आम विनाशकारी भूकम्पमा परी ध्वस्त भए ।

पूननिर्माण कालमा पनि ठूला ठूला सम्पदाहरु पूनर्निमाणको प्राथमिकतामा परे । तर,  भगवान बुद्धको नाममा पूर्खाले निर्माण गरी समर्पण गरेका माने, लहरे माने आदिमा शिलामा कुदिएका बौद्ध धर्मसँग सम्बन्धित देवताका आकृतिहरु, चक्र, बज्र, कालचक्रलगायतका आकृतिहरु र सम्बोटा लिपिमा बौद्ध मन्त्र लेखिएका शिलाहरु यत्र–तत्र छरिएको देख्दा बिगु गाउँपालिका वडा नम्बर ७ विगुका आङनिमा शेर्पाको मन कुँडियो ।

केही वर्षसम्म त सायद पूनर्निमाण हुन्छ कि भन्ने आशा थियो । तर, कसैको दृष्टि नपरेपछि अब पनि पूर्खाको धरोहरहरु नजोगाउने हो भने मासिएर जान्छन् भन्ने लागे पछि अब सम्पदा जोगाउन लाग्नु पर्छ भन्ने आवाज उनको अन्तर मनबाट आयो । सानै स्तरबाट भए पनि कामको सुरुवात गर्नुपर्छ भन्ने लागेपछि आफूले पहिले आफ्नै परिवार र आफन्तसँग सल्लाह गरे । अमेरिकामा रहेका आफन्तहरुबाट केही आर्थिक सहयोग मिल्ने आश्वासनपछि शेर्पाको लहरेमाने जिर्णोद्वार अभियान गत वर्ष अर्थात २०७९ सालबाट सुरु भयो । जुन, अहिले निरन्तर जारी छ । बौद्ध धर्मको महत्वपूर्ण स्थल विगुबाटै लहरेमाने अनि मानेको उद्धार गर्नुपर्छ भन्दै स्थानीयहरुसँग सल्लाह गरे ।

स्थानीयहरु पनि श्रमदान गर्न सकारात्मक भएपछि पूनर्निमाण सुरु भयो । बिगु र आसपासका क्षेत्रमा मात्रै ५४ वटा माने तथा लहरेमाने रहेकोमा गत वर्षदेखि हालसम्ममा २१ वटाको पूनिर्निमाण सम्पन्न भइसकेको छ । माने तथा लहरेमानेमा सिमेन्टको प्रयोग गर्ने चलन छैन । लहरेमाने सामान्यतयाः माने निर्माण गर्दा माटो तथा ढुङ्गाको प्रयोग गरिन्छ । लहरेमाने अनि मानेहरुको पूनर्निमाण सँगै छरिएका सम्पदाहरु यथास्थानमा संरक्षित हुन पुगेका छन् । बौद्धधर्मसँग सम्बन्धित चिन्ह, देवताका आकृतिहरु, सम्बोटा लिपिमा लेखिएका बौद्ध मन्त्रहरु कुँदिएका शिलालेख सुरक्षित भएका छन् ।

सानो प्रयासले लोप हुन लागेका सम्पदाहरु पूनः उठेकोमा आफूलाई आत्मसन्तुष्टि मिलेको शेर्पाले कुराकानीका क्रममा बताउनुभयो । अहिलेसम्म सम्पदा संरक्षण कार्यमा १० लाख बढी खर्च भएको उहाँले बताउनुभयो । बिगु गउँपालिकाका आठवटै वडाहरुमा गरी सरकारका तीन तह तथा अन्य कुनै निकायको ध्यान नपुगेका करिब १२५ माने, लहरेमाने, भूमेथान तथा मन्दिर जस्ता सम्पदा रहेको उहाँको भनाई रहेको छ ।

सम्पदा पूनर्निमाणको कार्यलाइ जारी राख्ने योजना शेर्पाको रहेको छ । आफ्नो कार्यलाई स्थानीय वासिन्दाले साथ दिएको उहाँको अनुभव छ । लहरेमाने अनि माने मात्र होइन् । बिगु गाउँपालिका भित्रका उपेक्षामा परेका भूमेथान र मन्दिरको पनि जिर्णोद्वार गर्ने योजनामा शेर्पा हुनुहुन्छ ।

आफन्तहरुको सहयोग अनि सद्भाव तथा स्थानीयको सहयोग रहिरहेमा बिगु गाउँपालिका भित्रका उपेक्षित स्थानीय सम्पदाको आगामी ३।४ वर्षभित्र जिर्णोद्वार सम्पन्न गर्ने शेर्पाको लक्ष्य छ । शेर्पा सम्पदा निर्माणमा आफू पनि श्रमदान गर्नुहुन्छ स्थानीयलाई पनि श्रमदान गर्ने प्रेरित गर्नुहुन्छ । स्थानीयलेहरुले सम्पदाको महत्व बुझेर आफ्नो अभियानमा श्रम गरिरहेको उहाँको भनाई छ ।

माध्यमिक तहसम्मको अध्ययन गर्नु भएका शेर्पाले व्यावसायिक रुपमा चौंरीपालन देखि, गलैंचा कारखाना खोल्ने तथा रियल स्टेटसम्मको व्यवसाय गर्नुभयो । तर, यो क्रममा आफूले व्यवसायलाई जहिले पनि साध्यको रुपमा नलिई जीवन गुजाराको साधनको रुपमा मात्र लिएको शेर्पा बताउनुहुन्छ ।

राजनीतिमा समेत शक्रिय शेर्पा तेह्रौं महाधिवेशनमा नेपाली काँग्रेसको महासमिति प्रतिनिधि बन्नुभयो । गत स्थानिय निर्वाचनमा बिगु गाउँपालिकाबाट उपाध्यक्षको प्रयासी भई पराजित हुनुभयो । राजनीति वा कुनै पेशामा लाग्दा पनि आफूले पदलाई महत्व नदिई समाजसेवाको साधनको रुपमा मात्र लिएको शेर्पा बताउनुहुन्छ । हाल उहाँ शेर्पा संघको उपाध्यक्ष समेत हुनुहुन्छ । पुराना सम्पदाको पूनर्निर्माण पछि बिगु गाउँपालिका आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तब्य बन्ने उहाँको विश्वास छ । यसबाट स्थानीयको आर्थिक अवस्थामा समेत सुधार हुने उहाँको अपेक्षा छ ।

पूरानो सभ्यताको जगमा नै अहिलेको सभ्यता विकसित भएकोले प्राचीन सम्पदाहरु भावी पुस्ताका लागि सुरक्षित राख्नु वर्तमान पुस्ताको दायित्व हो भन्ने आफूलाई लागेकाले सम्पदा संरक्षण अभियानमा आफू लागेको शेपाको भनाई छ । व्यवसाय, राजनीति अन्य कुरा भन्दा सम्पदा संरक्षण गर्दा जति आत्म सन्तुष्टि अन्यत्रबाट नमिलेको शेर्पाको अनुभव छ । पूनर्निर्माण गरेको लहरेमाने तथा माने(स्तुपा)हरुको यसै वर्ष बौद्ध परम्पराअनुसार उद्घाटन गर्ने योजना रहेको शेर्पाले कुराकानीका क्रममा सुनाउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?