दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन छ : उपनेता तामाङ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङले दुर्गा प्रसाईंको आन्दोलनलाई पार्टीको नैतिक समर्थन रहेको बताउनुभएको छ ।

उहाँले व्यवसायी प्रसाईंले गर्नुभएको आन्दोलनमा राप्रपाका ६५ प्रतिशत कार्यकर्ताहरु सभागी भएको दाबीसमेत गर्नुभयो । उहाँले आफ्नो पार्टीले कार्यकर्तालाई जानु पनि र नजानु पनि नभनेको उल्लेख गर्दै कार्यकर्ताहरुले आफ्नो इच्छाअनुरुप आन्दोलनमा सहभागी भएको बताउनु भयो ।

उहाँले पार्टीका प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही व्यवसायी प्रसाईंले गर्नुभएको कार्यक्रममा गइ सम्बोधन गर्नुभएको र राप्रपाले नैतिक समर्थन गरेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले व्यवसायी प्रसाईंले राख्नुभएका विभिन्न मागमध्ये राजासहितको प्रजातन्त्र पुनःस्थापना र हिन्दु राज्य पुनःस्थापना तथा संघीयता खारेजको विषयमा आफूहरुको समर्थन रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दुर्गा प्रसाईंको आन्दोलनलाई हाम्रो नैतिक समर्थन हो । नैतिक समर्थन हामीले गरेका छौँ । पार्टीका कार्यकर्ताहरु त्यहाँ ६५ प्रतिशत भन्दा बढी नै उपस्थित हुनुहुन्छ । हाम्रो पार्टीले जाउ पनि भनेको छैन र नजाउ पनि भनेको छैन । त्यसकारण हाम्रो नैतिक समर्थन हो । नैतिक समर्थन भएपछि केके गर्नुपर्छ भन्नेकुरा कार्यकर्ताले जान्ने कुरा हो । हाम्रो प्रवक्ता संसदीय दलका प्रमुख सचेतक समेत गएर त्यहाँ आफ्ना कुरा राखेर आउनुभएको छ । उहाँका विविध प्रश्तावहरु छन्, उहाँका विविध माग छन् । हाम्रा राजासहितको प्रजातन्त्र पुनःस्थापना र हिन्दु राज्य पुनःस्थापना दुई विषय र संघीयता खारेजको विषयमा हाम्रो समर्थन छ । हाम्रो एजेण्डा बोकेर जसले यो हुनुपर्छ भन्छ, त्यसलाई हाम्रो नैतिक समर्थन रहन्छ । त्यसमा दुईमत छैन । दुर्गा प्रसाईंमात्रै होइन, जसले बोकेपनि हाम्रो समर्थन रहन्छ । हाम्रो अब २७ गते कैलालीमा आमसभा भइरहेको छ, २८ गते महेन्द्रनगरमा कार्यक्रम भइरहेको छ । २९ गते जनकपुरमा आमसभा हुन्छ । यो लगातार चलिरहन्छ । पुस २७ गतेबाट दिन तोकेर कार्यक्रमका घोषणा हुन्छन् । हाम्रो विचारमा सहमत सबैलाई आह्वान गर्दछौँ । सहकार्य गर्न आउनुस् ।’

नेता तामाङले राप्रपाको एजेण्डा बोकेर आउने सबैलाई राप्रपाले समर्थन गर्ने बताउनु भयो । उहाँले राप्रपाले मंसिर २७ गते कैलाली, २८ गते महेन्द्रनगर र २९ गते जनकपुरमा आमसभा गर्न लागेको बताउनु भयो । उहाँले पुस २७ गतेबाट राप्रपाले आफ्ना एजेण्डाअनुसारका विभिन्न कार्यक्रमहरु घोषणा गर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?