चार महिनामा घोडेपानी र पुनहिल घुम्न पुगे १२ हजारभन्दा बढी विदेशी पर्यटक

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । राउण्ड अन्नपूर्णको प्रमुख पर्यटकीय स्थल मानिएको म्याग्दीको घोडेपानी र पुनहिलमा पछिल्ला चार महिनामा १२ हजार भन्दा बढी विदेशी पर्यटकहरु आएका छन् । गत २०८० साउनदेखि मंसिरको पहिलो सातासम्म घोडेपानी र पुनहिल क्षेत्रमा १२ हजार ३ सय ६१ जना विदेशी पर्यटकहरुले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ ।

घोडेपानी अन्नपूर्ण चक्रिय पदमार्गमा आउने पर्यटकहरुको रोजाइँमा पर्ने गरेको छ । साउन महिनामा ९७६ जना, भदौमा ९९३ जना, असोजमा ३ हजार १११ जना, कात्तिकमा ५ हजार ७७९ जना र मंसिर १० गतेसम्म १ हजार ५०२ जनाले भ्रमण गरेको पर्यटन पर्यटक प्रहरी कार्यालय घोडेपानीका इन्चार्ज प्रहरी सहायक निरिक्षक तारा बुढा मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार, म्याग्दीको पोखरेबगर चित्रे हुँदै घोडेपानी र कास्कीको उल्लेरी, घान्द्रुक हुँदै आउने पर्यटकहरुको तथ्याङ्क कार्यालयले राख्दै आएको छ । पहिले विदेशी पर्यटकहरुको तथ्यांक मात्रै राख्ने गरिएकोमा पछिल्लो समय पैदलमार्ग हुँदै आउने आन्तरिक पर्यटकहरुको समेत तथ्यांक राख्ने गरिएको छ । घोडेपानीमा पर्यटनयाममा मासिक दुई देखि तीन हजारसम्म आन्तरिक पर्यटकहरुले समेत भ्रमण गर्छन् ।

घोडेपानीमा असोजदेखि मंसिरसम्म र फागुनेदखि जेठसम्म धेरै पर्यटकहरु आउने गर्छन् । विगतका वर्षको तुलनामा यस बर्ष पर्यटनयाममा कम संख्यामा विदेशी पर्यटकहरु आएको घोडेपानीका होटल व्यवसायी क्याप्टेन डमबहादुर गर्वुजा पुनले बताउनुभयो । ‘अन्नपूर्ण पदमार्गको क्षेत्रमा सडक पुग्न थालेको छ, पुराना पदमार्गहरु भत्किएका छन्, धुलो, धुवाको कारण विदेशी पर्यटकहरु आउनेक्रम घट्दो छ, केहि मात्रामा आन्तरिक पर्यटकहरुको चहलपहल भएपनि दिगो नहुँदा समस्या भएको छ ।’ होटल व्यवसायी गर्वुजाले भन्नुभयो ।

४३ घरधुरीको बसोबास रहेको घोडेपानीमा २४ वटा ठूला होटल रहेका छन् । अन्य घरमा पसल र खाजाघर सञ्चालनमा छन् । घोडेपानीका होटलमा दैनिक १ हजार २ सय जनासम्मलाई राख्न सक्ने क्षमता रहेको छ । समुद्री सतहदेखि ३ हजार २१० मिटर उचाईमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ ।

यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जनबढी हिमाल र दर्जनौँ हिमशिखरलाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृष्यहरुको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकहरुले घोडेपानी र पुनहिल क्षेत्रलाई आफ्नो रोजाइँमा राख्ने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?