काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन अहिले यताउता नहुने दाबी गर्नुभएको छ । सोमबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सम्पादकहरूसँगको कुराकानीका क्रममा प्रधानमन्त्री प्रचण्डले अहिलेको गठबन्धन विशेष परिस्थितिमा निर्माण भएको जिकिर गर्दै भन्नुभयो, ‘हल्ला भइरहन्छन्, अहिलेको गठबन्धन यताउता हुँदैन । केही असन्तुष्टि भए मिलाइन्छ ।’ प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनभित्र कुनै समस्या नरहेको र बाँकी चार वर्षको कार्यकालसम्म कायम रहने दाबीसमेत गर्नुभयो ।
अर्थतन्त्र सुधारका लागि ‘फाइनल टच’ को तयारीमा
प्रधानमन्त्री प्रचण्डले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार ‘फाइनल टच’ को तयारीमा रहेको जानकारी दिनुभएको छ । आफ्नो नेतृत्वको सरकारले देशमा विद्यमान विभिन्न समस्या सुधारका काम गरिरहेको दाबी गर्दै उहाँले वित्तीय संकट सामना गर्न सरोकारवालासँग छलफल गरिएको र केही निष्कर्ष निकालिएको जानकारी दिनुभएको हो । अर्थतन्त्रका कारण सरकार संकटमा नरहेको तर व्यवहारमा केही समस्या देखिएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । व्यापार व्यवसायको स्थिति खराब रहेको, सटरहरू बन्द हुँदै गएको अवस्थालाई अन्त्य गर्नका लागि सरकारले चाँडै विशेष कदम चाल्ने उहाँले प्रष्ट पार्नुभयो ।
बैंकमा ब्याज खाएर बस्ने अवस्थाको अन्त्य गर्ने दाबी
सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले बैंकमा ब्याज खाएर बस्ने अवस्था अन्त्य हुने बताउनुभएको छ । सरकारले सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने तयारी गरिरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘बैंकमा ब्याज खाएर बस्ने अवस्था अन्त्य गर्ने सामाजिक सरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने तयारी छ । मैले योगदानकर्तालाई सेयर दिने विषयमा सोचिरहेको छु । एनआरएनएका साथीहरूले पनि यस्तो सुझाव दिएका छन् । देशभित्र र बाहिरका श्रमिक आबद्ध भइरहेका छन् ।’ सामाजिक सुरक्षा कोषमा ७० देखि ८० खर्ब जम्मा भइसकेको छ ।
सामाजिक सञ्जाल बन्द नहुने
प्रधानमन्त्री प्रचण्डले टिकटक बाहेकका अन्य सामाजिक सञ्जाल अहिले केही नहुने बताउनुभएको छ । टिकटक प्रतिबन्ध गर्ने निर्णय भए पनि अन्य सामाजिक सञ्जालको हकमा नियमनका लागि विधेयक ल्याउने तयारीमा रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘अन्य सामाजिक सञ्जाल केही हुँदैन । नियमनका लागि विधेयक आउँदै छ । टिकटकबारे पनि पुनर्विचार हुन्छ ।’ साथै, उहाँले अन्य सामाजिक सञ्जाल पनि नियमन गर्नुपर्ने राय आएमा आफू तयार भएको स्पष्ट पार्नुभयो । टिकटकबारे हरेकजसो राजनीतिक दलका बैठकमा कुरा हुने गरेको र सबैभन्दा बढी प्रतिपक्षी दलबाट कुरा आउने गरेको सुनाउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘कांग्रेस सभापति पनि कहिले बन्द गर्ने ? भनेर हरेक दिन सोध्ने मलाई पनि केही गर्नुपर्छ भन्ने त लागिरहेकै थियो परिवार समाज सबैतिर हैरान देखिन्थ्यो सबै खुसी नै देख्छु एउटा तरंग आएको छ । बन्द गरिहाल्नुपर्ने थियो र गरियो ।’
कोप-२८ मा पर्वतीय मुलुकको नेता बनेको दाबी
प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनसम्बन्धी संयुुक्त राष्ट्रसंघीय सम्मेलन कोप-२८ मा नेपालको प्रस्तुतले सहभागी सबै मुलुकको कान ठाडा भएको बताउनुभएको छ । जलवायुसम्बन्धी संयुक्त राष्ट्रसंघको विश्व सम्मेलन कोप-२८ मा नेपाल पर्वतीय मुलुकको नेता बनेको जानकारी दिँदै भन्नुभयो, ‘नेपाल पर्वतीय मुलुकको नेता बनेको छ । कोप २८ मा नेपालको प्रस्तुतिले सबैका कान ठाडा भएका छन् ।
सम्मेलनपछि नेपालले आर्थिक लाभ पाउने निश्चित भएको छ । ठूलै उपलब्धि हुुँदै छ । ऐतिहासिक सफलता मिल्दै छ । हामीले छुट्टै गोलमेच गरेपछि पनि हस्तक्षेपकारी उपस्थिति भयो ।’ प्रधानमन्त्री प्रचण्ड कोप-२८ सम्मेलनमा भाग लिएर आइतबार साँझ मात्रै स्वदेश फर्किनुभएको थियो ।
अस्थायी आवास निर्माणका लागि एकमुष्ट ५० हजार दिने घोषणा
प्रधानमन्त्री प्रचण्डले जाजरकोट भूकम्पबाट घर भत्किएका परिवारलाई अस्थायी आवास निर्माणका लागि एकमुष्ट ५० हजार रुपैयाँ उपलब्ध गराइने घोषणा गर्नुभएको छ । अस्थायी आवास निर्माणमा रकम थोरै भएको गुनासो आइरहेको सन्दर्भमा उहाँले सरकारले एकमुष्ट ५० हजार रुपैयाँ उपलब्ध गराउने बताउनुभएको हो । भूकम्प प्रभावित क्षेत्रमा चिसोले मानिसको मृत्यु भएकोबारे पनि संख्या बढाइचढाइ हल्ला फैलाइएको उहाँको गुनासो छ । मृत्यु भएका भनिएका सबैको चिसोका कारण नभई कतिपयको कालगतिले मृत्यु भएको दाबी गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘जाजरकोटमा मृत्यु भएको भनिएका सबै चिसोले मरेका होइनन् । तीन/चारजना त कालगतिले मरेको भनिएको छ, मुख्यमन्त्रीसँग कुरा गर्दा त्यही भनेका छन् ।’ अस्थायी आवास बनाउन समस्या भएकाहरूको हकमा प्रहरी र सेनाले आवास बनाउनका लागि सहयोग गर्ने पनि उहाँले प्रष्ट पार्नुभयो ।
अराजकता सिर्जना गर्ने प्रसाईंको प्रयास असफल
प्रधानमन्त्री प्रचण्डले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले समाजमा अराजकता सिर्जना गर्न खोजेको प्रयास असफल भएको टिप्पणी गर्नुभएको छ । उहाँले अराजकता बढ्न नदिन र शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । प्रसाईंको आन्दोलनबारे प्रधानमन्त्री प्रचण्डले पहिलोपटक प्रतिक्रिया जनाउनुभएको हो । अहिलेको व्यवस्था परिवर्तन गरेर गरिबको ऋण मिनाहा गर्ने भन्दै प्रसाईंले मंसिर ७ देखि काठमाडौं केन्द्रित आन्दोलन गर्नुभएको थियो । तर, आन्दोलन तीन दिनमै शिथिल हुन पुगेको थियो ।
सरकारको सहमतिबिना एनसेलको सेयर किनबेच नहुने स्पष्टोक्ति
प्रधानमन्त्री प्रचण्डले सरकारको सहमतिबिना निजी कम्पनीको दूरसञ्चार सेवाप्रदायक संस्था एनसेलको सेयर किनबेच हुन नसक्ने दाबी गर्नुभएको छ । यसबारे सरकारले टिम नै बनाएर अध्ययन गरिरहेको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपाल सरकारको सहमतिबिना एनसेल किनबेच हुँदैन । टिम बनाएर सरकारले त्यसबारे अध्ययन गर्दै छ । म बाहिर भएका बेला किनबेचको डिल भएको रहेछ । त्यो प्रक्रिया अघि बढ्दैन । यो स्वाभाविक छैन । यो विषयमा सरकारको चासो रहेको छ । १३० अर्बको परियोजना ६ अर्बमा बेच्ने कुरा सुनिन्छ । क्रेता र बिक्रेता मिलिसक्यौँ भनेर हुँदैन । बेच्दैमा सरकारले मान्नुपर्छ भन्ने छैन । अध्ययन नगरी अघि नबढ्न भनेको छु ।’
विप्लवसहितका नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्ट
प्रधानमन्त्री प्रचण्डले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । सोमबार सिंहदरबारमा आयोजित केही सञ्चार माध्यमका सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले विप्लवसहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त गर्दै भन्नुभयो, ‘वारेन्ट जारी हुनुहुँदैन, उहाँहरू शान्ति प्रक्रियामा आइसक्नु भएको छ । थप थाहा छैन बुझ्दै छु ।’
नेपाल-भारत सीमा विवादबारे मोदीसँग छलफल
प्रधानमन्त्री प्रचण्डले हल्ला र बढी राजनीतिककरण गरेर सिमानाको समस्या समाधान नहुने बताउनुभएको छ । आपसी वार्ताको माध्यमबाट सीमा समस्या समाधान गर्ने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘सीमामा देखिएका समस्याका बारेमा मैले भारत भ्रमणमा पनि कुरा उठाएको थिएँ । भारतीय प्रधानमन्त्री मोदीसँग यस विषयमा कुराकानी भएको छ । उहाँले पनि हल्ला गरेर सीमाको समस्या समाधान हुने विषय होइन भन्नुभएको छ । बढी राजनीतिकरण गरेर सिमानाको विषय समाधान हुँदैन ।’ बंगलादेशसँगको सीमाको विवादलाई भारतले हल गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले नेपालले पनि आपसी वार्ताको माध्यमबाट सीमा विवाद मिलाउनुपर्ने बताउनुभयो । उहाँले अर्को महिना भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल भ्रमण गर्ने जानकारीसमेत दिनुभयो ।
विपिन जोशी छिट्टै रिहाइ हुने भनाइ
प्रधानमन्त्री प्रचण्डले इजरायलमाथि आक्रमणका क्रममा हमास समूहले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी सकुशल रहेको जानकारी दिँदै छिट्टै रिहाइ हुने बताउनुभएको छ । जोशी सकुशल रहेको र रिहाइ हुने सूचना पाएको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘विपिन जोशी सकुशल रहेको सूचना पाएका छौँ । उनी छिट्टै रिहाइ हुनेछन् । सरकार उनको सुरक्षाको लागि संवेदनशील भएर लागेको छ । सरकारले जोशीको रिहाइका लागि कूटनीतिक पहल गरिरहेको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच