‘प्लस टु’ सञ्चालनका लागि विद्यालयले सुरु गर्यो चन्दा संकलन अभियान

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीको एक सामुदायिक विद्यालयमा प्लस टु(१०+२) कक्षा सञ्चालनका लागि चन्दा संकलन अभियान गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–२, पिपलधारास्थित गणेश माध्यमिक विद्यालयले १२ तहसम्मको कक्षा सञ्चालन गर्न चन्दा संकलन अभियान सुरु गरेको हो ।

सरकारबाट दरबन्दी नपाएसँगै पिपलधाराका विद्यार्थीहरु कक्षा १० उत्तीर्ण गरेपछि प्लस टु तहको अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यतालाई रोक्न विद्यालयले यस्तो योजना ल्याएको हो । हाल विद्यालयमा तल्लो तहमा कार्यरत माथिल्लो योग्यता भएका शिक्षकबाट १०+२ कक्षा सञ्चालन गरिएको छ । कक्षा– १० सम्म अध्यापन गर्न पनि शिक्षकको अभाव रहेको प्रधानाध्यापक कृष्ण बहादुर जिसीले बताउनुभयो ।

यस विद्यालयमा माध्यमिक तहमा दुईवटा राहत र एउटा दरबन्दी गरी तीन ओटा, निम्न माध्यमिकमा चार, प्राथमिक तहमा पाँच, बालविकासको एक र विद्यालय कर्मचारी दुई गरी कुल १५ दरबन्दी रहेको छ । त्यसबाहेक विद्यालयले माध्यमिक र प्राथमिक तहमा एक÷एक जना शिक्षक निजि स्रोतबाट शिक्षक राखेको छ ।

२०७५ फागुन १४ मा तत्कालीन वडाध्यक्ष नविन जिसीको संयोजकत्वमा ‘आर्थिक संकलन समिति अभियान’ नै बनाएर विद्यालयका लागि चन्दा संकलन अभियान सुरु गरिएसँगै २०७६ बाट कक्षा ११ सुरु भएको हो । यस विद्यालयमा हाल कक्षा– ११ मा ३१ र १२ मा २७ जना विद्यार्थी रहेका छन् ।

यहाँ शिक्षाशास्त्र संकायतर्फ अङ्गे्रजी, अर्थशास्त्र र नेपाली बिषय अध्यापन हुने गरेको छ भने व्यवस्थापन संकायतर्फ व्यवसायिक अध्ययन, वित्त शास्त्र, लेखाशास्त्र र अर्थशास्त्र अध्यापन हुँदै आएको छ । पूर्व वडाध्यक्ष समेत रहनुभएका ‘आर्थिक संकलन समिति अभियान’ का संयोजक जिसीले एक करोडभन्दा बढी रकम संकलन गर्ने लक्ष्य रहेको बताउनुभयो । संकलित रकम बैंकमा राख्ने र त्यसैको व्याजबाट विद्यालयमा १०+२ सञ्चालन गर्ने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?