-नृपेन्द्र बहादुर मल्ल
मुगु । सरकार बैदेशिक दात्री निकाय सबैले विद्यालय शिक्षा र पुर्वाधार सुधारका लागि लगानी बढाउदै गरेको बताउँदै गर्दा दुर्गम जिल्लाहरुमा रहेका विद्यालयहरुका विद्यार्थी तथा शिक्षक शौच गर्न अझै झाडी तिर जान्छन् भन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ ।
अचम्म पनि किन नलागोस् २०७६ असोज १३ गते खुल्ला दिशा मुक्तका मानक पूरा गर्ने नेपाल दक्षिण एशिया कै पहिलो देश भएको भन्दै नेपाललाई खुल्ला दिशा मुक्त देश तामझामका साथ घोषणा गरियो भने मुगु जिल्लालाई पनि खुल्ला दिसा मुक्त्त जिल्ला भनेर लाखौं बजेट खर्च गर्दै २०७५ जेठ २८ गते घोषणा गरिएको थियो ।
अझै पनि गाउँघर र विद्यालय तिर कसैलाई दिसापिसाव लागे पाखा, झाडी जङल तिर जानू पर्ने अवस्था छ भने किन र कसरी, कस्को स्वार्थका लागि देशलाई नै खुल्ला दिशा मुक्त घोषणा गरियो प्रश्न अनुत्तरित छ ।
दुर्गम तथा विकट बस्तिमा भएको भए कुनै कारण दिन सकिन्थ्यो तर सरकारी तथा दातृनिकाय,स्थानिय सरकारको आँखै अगाडि सधैँ देखिरहने जिल्ला सदरमुकाम गमगढीको शिर र पुच्छारमा अवस्थित २ वटा विद्यालयका शिक्षक तथा विद्यार्थी अझै पनि दिशा पिसाव गर्न झाडी तिर जाने गर्छन् भन्दा जो कोहीलाई अचम्म लाग्छ ।
छायानाथ रारा नगरपालिका वडा नं. ५ माथितुममा रहेको श्री नव आदर्श आधारभुत विद्यालय र सोही पालिका वडा नं. १३ रुगा गाउँमा रहेको मालिका आधारभुत विद्यालयमा शौचालय नहुँदा अझै पनि शौच गर्न त्यहाँका विद्यार्थी र शिक्षक झाडी तिर जाने गरेका हुन् ।
यी दुई विद्यालय सदरमुकाम नजिक सरकारहरुको नजरमा पर्न सक्ने ठाउमा भएकाले प्रतिनिधि अवस्थाका रुपमा यी विद्यालय लिइएको हो । सरकार तथा गैरसरकारी निकायका नजर नपुग्ने दुर्गम, विकट बस्तिहरुमा रहेका विद्यालयहरुको अवस्था झन कस्ताे होला ?
मुगु जिल्लामा विद्यालय सरसफाइ तथा स्वच्छताका लागि विद्यालयहरुमा लाखौंको लगानीमा शौचालय बनाउने एनजिओहरु छन् । ती एनजिओहरुले कता लागानी गरे त्यो पनि सोचनिय विषय बनेको छ । नाम नछाप्ने सर्तमा एक शिक्षक भन्छन् 'मुगुमा विद्यालय भवन ३०/४० लाखका बन्छन् । शौचालय ६०/६५ लाखका विद्यालयमा शौचालय बनाउने एनजिओ स्थानिय सामान वाहेक सबै आफै ल्याउछन् । के कति ती सामानको परेको हो विल विद्यालयले देख्नै पाउदैनन् ।' उनी भन्छन्, 'स्थानीय सरकार एनजिओ सबै कमिसनमा छन् जुन विद्यालयमा कमिसन आउँछ पावरवाला छन् उतै भौतिक संरचना बनाउँछन् । निरीह र पावर पहुच नपुग्ने विद्यालयका शिक्षिक, विद्यार्थी चुहिने भवनमा बसेर पढ्न पढाउन र दिशा पिसाव लागे झाडी चाहार्न बाध्य छन् ।'
नव आदर्श आधारभुत विद्यालयका शिक्षक विनोद कुमार मल्ल भन्नुहुन्छ: विद्यालयमा शौचालय र पानीको लागि सहयोग माग्न नपुगेको कुनै संस्था, सरकारी निकाय बाकी छैनन् । शौच गर्न बालबालिका झाडी तिर जाँदा लडेर हात खुट्टा भाचिएका, चिप्लिएर चोटपटक लागेका कयौँ घटनाहरु छन् ।
'हामी शिक्षकहरु शौच गर्न तुम गाउँका स्थानीयहरुका शौचालयमा जान्छौँ ।' उहाँले भन्नुभयो- 'गत वर्ष छायानाथ रारा नगरपालिकाले २ कोठे विद्यालय भवन बनाइदियो यो बर्ष खानेपानी र शौचालय बनाइ दिन्छौँ भनेर नगरप्रमुखले भन्नू भएको छ हेरौँ ।'
उता मालिका आधारभुत विद्यालय रुगामा पनि एक शौचालय थियो तर २०७९ असोजमा परेको पानीले पहिरो आउँदा शौचालय लग्यो । त्यस यता धेरै निकायमा शौचालय बनाइ दिन आग्रह गरेपनि कतै सुनुवाइ भएन । दिसा पिसाव लाग्दा झाडी,जङ्गल र गाउँलेका नीजि शौचालय जानू बाहेक अर्को विकल्प छैन । विद्यालयका प्राध्यापक चन्द्रबहादुर शाहीले समस्या सुनाउनु भयो ।
सोही विद्यालय कक्षा ५ मा अध्ययनरत अक्कल लावडले दिशा पिसाव लागे घर वा झाडी तिर जाने गरेकाे बताउनु भयाे । झाडी तिर जाँदा डर लाग्ने गरेको र आफू एक चोटि दिशा गर्न झाडीमा जाँदा चिप्लिएर टाउकोमा चोट लागेको उहाँले सुनाउनु भयाे ।
कक्षा ४ मा अध्यनरत छात्र राजन रावतले दिशा पिसाव गर्न बाहिर जाँदा पढाइ छुट्ने गरेकाे बताउनु हुन्छ । सर्प, किराको डर लाग्ने बताउँदै उहाँले आफु पनि कती चोटि दिशा पिसाव गर्न जाँदा लडेर चोट लागेको बताउनु भयाे ।
रुगाको विद्यालयमा १८५ विद्यार्थी अध्यनरत छन् । छाडा शौच गर्दा वातावरण प्रदुषित हुनुका साथै सरुवा रोग फैलने सम्भावना हुन्छ ।
समुदायलाई सकारात्मक शिक्षा दिनु पर्ने विद्यालय कै शिक्षक विद्यार्थीले छाडा खुल्ला ठाउँमा शौच गर्नु पर्दा लज्जित हुनु परेको शिक्षकहरु बताउँछन् ।
नगरपालिका मातहतका ४५ विद्यालयहरु मध्य केही विद्यालयमा नयाँ भवन बनाउँदा, बाढी पहिरो आउँदा तथा भएका शौचालय जिर्ण हुँदा शौचालय विहिन हुनु परेको नगरपालिकालाई अवगत छ । चालू वर्ष मै त्यस्ता विद्यालयमा छात्र छात्रा मैत्री शौचालय बनाउने योजना नगरपालिकाले बनाएको छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पशुपती शाहिले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच