काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा पारित हुने विश्वास व्यक्त गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित १५औँ मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन समारोहमा बोल्दै उहाँले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले त्यसलाई टुंग्याउने गरी छलफललाई अघि बढाएकाले संसद्को आगामी अधिवेशनबाट पारित हुने बताउनुभयो । सभामुख घिमिरेले संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐनहरू निर्माणका लागि आफूले असहमत राजनीतिक शक्ति, नेतृत्व र पक्षसँगको छलफललाई अघि बढाएको र त्यसलाई टुंगो लगाउने विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको दाबीसमेत गर्नुभयो । उहाँले भन्नुभयोे, ‘अब अहिले त्यो संसद्को कानुन तथा न्याय समितिमा छलफल भएर पनि करिब टुंगिन लागेको छ । यसलाई टुंग्याउने अधिकार जनताको सार्वभौमसत्ता सम्पन्न माननीय सदस्यज्यूहरू रहनुभएको प्रतिनिधिसभा र राष्ट्रियसभाबाट यसलाई टुंग्याउने अधिकार उहाँहरूले राख्नुहुन्छ । उहाँहरूले यसको गरिमालाई बुझ्नुभएको छ । र, बुझेर छलफल गरिरहनु भएको छ । मलाई विश्वास छ, संसद्को आगामी अधिवेशनमा टुंग्याउने काममा उहाँहरूले सफलता हासिल गर्नुहुनेछ । र, त्यसलाई सफलतापूर्वक टुंग्याइसकेपछि हामीले एउटा उपलब्धि हासिल गर्नेछौँ ।’ त्यस अवसरमा सभामुख घिमिरेले मानव अधिकारसँग सम्बन्धित कानुन निर्माणमा पनि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष माननीय तपबहादुर मगरले लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक-अर्काका परिपूरक रहेकाले सबैले सामूहिक रूपमा लोकतन्त्र, मानव अधिकार र कानुनको शासनको पक्षमा काम गर्नुपर्ने बताउनुभयो । देशका विभिन्न स्थानमा महिला, बालबालिका तथा अपांगता भएका व्यक्तिहरूमाथि हिंसा बढिरहेको उल्लेख गर्दै उहाँले सबै नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हकमाथि आँच आउन नदिन सरकार नागरिकको सुरक्षामा प्रतिबद्ध रहनुपर्ने बताउनुभयो । उद्घाटन समारोहमा बोल्दै वरिष्ठ मानव अधिकारकर्मी चरण प्रसाईंले लोकतन्त्र स्थापनापछिका वर्षहरूमा पनि मानव अधिकार संकटमा परिरहेको, नागरिक अधिकारका विषयहरू संकुचित भइरहेको र संक्रमणकाल अझै नसकिएको भन्दै यस्तो महाभेलाले मानव अधिकारको रक्षाका निम्ति सामूहिक पहल गर्न बल पुर्याउने धारणा राख्नुभयो । यसैगरी, एन्जिओ फेडरेसनका अध्यक्ष रामप्रसाद सुवेदीले पनि मानव अधिकार विश्वव्यापी चासोको विषय भएको र यसको बारेमा सबैमा सचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।
दीपक सोनीको संयोजकत्वमा भएको उक्त समारोहमा विभिन्न पुरस्कारबाट महत्वपूर्ण व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच