
दमक । झापाको दमक १० सेतुमारीमा इन्द्रेणी कप नकआउट फुटबल प्रतियोगिता २०८० आयोजना हुने भएको छ । स्थानीय इन्द्रेणी युवा क्लबको आयोजनामा मंसिर २७ गतेदेखि पुस ३ गतेसम्म सेतुमारी खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष सुवास सुवेदीले दमकमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
दमक १० को पर्यटकीयस्थल इन्द्रेणी ताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिँदै अध्यक्ष सुवेदीले भन्नुभयो, ‘मानव स्वास्थ्य सचेतना, खेलकुद क्षेत्रको विकास, युवा पुस्तालाई लागूऔषधको कुलतबाट जोगाउने र स्थानीय पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेर प्रतियोगिता आयोजना गर्न लागेका हौँ ।’ प्रतियोगिताका लागि टाइटल स्पोन्सर खोजी गरिएको सुवेदीको भनाइ थियो । ‘हामीले दुई लाख सहयोग गर्ने दाताको नाम यस प्रतियोगिताको सुरुमा उल्लेख गर्ने निर्णय गरेका छौँ । टाइटल स्पोन्सरको खोजी जारी छ,’ उहाँले भन्नुभयो ।
दमक १० मा इन्द्रेणी युवा क्लबले इन्द्रेणी ताल संरक्षणलगायत विविध सामाजिक कार्य गर्दै आएको जानकारी दिँदै दमक १० का वडाध्यक्ष राजेन्द्र भण्डारीले युवा पुस्तालाई खेलकुदको क्षेत्रमा आकर्षित गर्ने र प्रोत्साहित गर्ने कार्यमा वडा कार्यालयले सक्दो सहयोग गर्ने बताउनुभयो । ‘क्लबका माध्यमबाट स्थानीय युवा साथीहरूको सामाजिक योगदानमा हामी वडाका तर्फबाट उत्साह थप्न तयार छौँ,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै स्थानीय सामाजिक व्यक्तित्व रोहित राई र क्लबका संस्थापक अध्यक्ष नगेन्द्रमणि न्यौपानेले प्रतियोगितामा सबैले आ-आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । चार लाख ९५ हजार खर्च हुने अनुमान गरिएको प्रतियोगितामा झापा र मोरङका गरी स्थानीयस्तरका १२ वटा टिमले सहभागिता जनाउनेछन् ।
प्रतियोगिता सम्पन्न गर्न दमक नगरपालिकाले एक लाख, वडा नम्बर १० कार्यालयले ५० हजार सहयोग गर्ने बताइएको छ । क्लबले देउसीभैलो खेलेर जम्मा गरेको ६० हजार ६२२ सहित दुई लाख २० हजार अन्य दाताबाट सहयोग प्राप्त गरिने अनुमान गरिएको प्रतियोगितामा सहभागी टिम शुल्कबापत ६६ हजार संकलन भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
प्रतियोगिताको प्रथम पुरस्कारबापतको ५० हजार स्वर्गीय मुगाधन राई, स्वर्गीय श्रीमती कृष्णकुमारी राई र मार्सल आर्टका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय राष्ट्र राईको स्मृतिमा रोहित राईले उपलब्ध गराउनुभएको छ ।
त्यस्तै, दोस्रो पुरस्कारका लागि पुरुषोत्तम भट्टराईले ३० हजार उपलब्ध गराउनुभएको छ भने अनुशासित टिमको पुरस्कारका लागि १५ हजार स्वर्गीय मुगाधन राई, स्वर्गीय श्रीमती कृष्णकुमारी राई र मार्सल आर्टका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय राष्ट्र राईको स्मृतिमा रञ्जन राईले उपलब्ध गराउने बताइएको छ । ट्रफी, मेडल तथा अन्य सामग्री काठमाडौंमा पि क्युब जर्सी पसल सञ्चालन गर्दै आउनुभएका इन्द्रेणी युवा क्लबका सदस्य प्रेम बस्नेतले सौजन्य गर्नुभएको छ ।
प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः नगद राशि ५० हजार र ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा सहभागीमध्ये अनुशासित खेल खेल्ने टिमलाई नगद १५ हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
व्यक्तिगततर्फ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्स, अधिक गोलकर्ता र प्लेयर अफ दी म्याचलाई ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको उद्घाटनमा स्थानीय राजनीतिक दल र सञ्चारकर्मीबीच मैत्रीपूर्ण खेल आयोजना गरिने क्लबले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच