प्रधानमन्त्रीको सचिवालयमाथि अमरेश कुमार सिंहले लगाएको आरोप छानबिन गर्न अनेरास्ववियुको माग

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीको सचिवालय अन्तर्गत उहाँकी छाेरी तथा स्वकीय सचिव गंगा दाहाललाई जोडेर लगाएको पछिल्लाे आरोप छानबिन गर्न माग गरेको छ ।

अनरोरास्ववियुका कार्यवाहक अध्यक्ष गोविन्द गिरीले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको परिवारकै सदस्यको भ्रष्टाचार, अनियमितता र कमिशन लेनदेनमा संलग्न रहेको भनाईप्रति घ्यानाकर्षण भएको जनाउनु भएको छ ।

‘सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममार्फत प्रधानमन्त्रीको स्वकीय सचिव गंगा दाहाललाई जोडेर विभिन्न व्यापारीसँग रकम बुझेको र त्यो सबै अडिओ तथा भिडिओ प्रमाण आफूसँग सुरक्षित रहेको र समय आएपछिसबै प्रमाण जनता र मिडियामा लिएर आउनेछु भन्ने प्रकृतिको अभिव्यक्तिले प्रधानमन्त्रीको सचिवालयमा रहेको जिम्मेवार तथा परिवारकै सदस्यको भ्रष्टाचार, अनियमितता र कमिशन लेनदेनमा संलग्न रहेको भनाई प्रति गम्भिर घ्यानाकर्षण भएको छ ।' विज्ञप्तिमा उल्लेख छ ।

देशको प्रधानमन्त्रीप्रति लक्षित यस्ता अभिव्यक्तिले पारिवारिक सम्बन्धलाई प्रयोग गरेर स्वयम् प्रधानमन्त्री, मन्त्री र सचिवालयामा नियुक्ति लिएका सदस्यहरु जनताको सेवामा होइन कमाउ धन्दामा रहेको र भ्रष्टाचार, अनियमिततामा संलग्न रहेको भन्ने कुराले समग्र राष्ट्रको शिर निहुराउने गरी लज्जाको विषय भएको अनेरास्ववियुले जनाएको छ ।

बालुवाटार र सिंहदरबारमा बसेर यस्ता गतिविधिमा संलग्न जो कोही भएपनि छानविनको दायरामा ल्याएर दोषीमाथि कडा कारबाही गर्न अनेरास्ववियुले माग गरेको छ ।

शक्तिको आडमा छानविन तथा अनुसन्धान प्रकृया अगाडि नबढाए र यस्ता गतिविधिउपर मुकदर्शक बनिरहे अनेरास्ववियुले भ्रष्टाचार, अनियमितता र कमिसनतन्त्रको भण्डाफोर गर्दै सरकारविरुद्ध कडा आन्दोलनका कार्यक्रमहरू गर्ने चेतावनी समेत दिएको छ ।

यता प्रधानमन्त्रीको सचिवालयले भने सांसद अमरेशकुमार सिंहले गरेको दाबी निराधार भएको दाबी गरेको छ।

सांसद सिंहले आइतबार बिहान सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री दाहालकी छोरीसमेत रहनु भएको गंगाले व्यापारीहरुसँग पैसा उठाएको र उपयुक्त समयमा त्यो सार्वजनिक गर्ने बताउनु भएको थियो ।

सिंहको यस्तो दाबीको प्रधानमन्त्रीको सचिवालयले खण्डन गर्दै उहाँलाई जनप्रतिनिधि भन्न लाज लाग्ने टिप्पणी गरेको थियो ।

सचिवालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘सत्य एकातर्फ छ, तर अमरेश सिंह जस्ता जनप्रतिनिधि भन्न नि लाज लाग्ने प्रतिनिधिको अर्कोतर्फ जुन निन्दनीय प्रलाप छ, त्यो पूर्णतः झुठ कपोलकल्पित र व्यक्तिको इज्जत र प्रतिष्ठामाथि गम्भीर आँच पुर्‍याउने एवं कानुनी राज्यमाथि नै चुनौती दिने प्रकृतिको छ।’

यस सन्दर्भमा विगत केही समयदेखि अराजनीतिक व्यक्ति र समूहले प्रधानमन्त्री र सचिवालयसँग अनुचित माग र बार्गेनिङ गर्ने र त्यस्तो स्वार्थ पूरा नभएपछि श्रृंखलावद्ध दुस्प्रचार गर्ने गरेको सचिवालले बताएको छ ।

प्रधानमन्त्रीको सचिवालयको विज्ञप्तिः

मा.अमरेश कुमार सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको परिवार र सचिवालयका विरुद्ध विद्वेषपूर्ण ढंगले अनर्गल, भ्रामक प्रचार र झुठको खेती गर्दै आएका छन्। उनको यो अस्वाभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुरू भएको तथ्य स्पष्ट नै छ।

उनको यो निन्दनीय आरोप र गतिविधिको घोर भर्त्सना गर्दै प्रचलित विधि र कानुनअनुसार उपचार खोज्न हामी सम्मानित प्रतिनिधिसभाको गम्भीर ध्यानाकर्षण गराउँछौं।

देशलाई ठग्ने उद्देश्यले बिक्री गरेको घटनालाई सरकारले गम्भीरतापूर्वक लिई अध्धयन र छानबिनको प्रक्रिया अघि बढाइसकेको सबैमा अवगत नै छ।

सम्माननीय प्रधानमन्त्रीज्यू कोप २८ मा भाग लिन दुबईमा रहेको बेला गरिएको यो किनबेचको प्रपञ्चलाई उहाँ नेपाल आउने बित्तिकै छानविन र कार्बाहीको प्रक्रिया अघि बढाइएको छ। छानविन समितिको अध्ययन र छानविनपछि सरकारले प्रचलित कानुनबमोजिम देशको स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर आवश्यक निर्णय लिने नै छ।

सत्य एकातर्फ छ, तर अमरेश सिंह जस्ता जनप्रतिनिधि भन्न नि लाज लाग्ने प्रतिनिधिको अर्कोतर्फ जुन निन्दनीय प्रलाप छ, त्यो पूर्णतस् झुठ कपोलकल्पित र व्यक्तिको इज्जयत र प्रतिष्ठामाथि गम्भीर आँच पुर्‍याउने एवं कानुनी राज्यमाथि नै चुनौती दिने प्रकृतिको छ।
यस सन्दर्भमा विगत केही समयदेखि अराजनीतिक व्यक्ति र समूहले प्रधानमन्त्री र सचिवालयसँग अनुचित माग र बार्गेनिङ गर्ने र त्यस्तो स्वार्थ पूरा नभएपछि श्रृंखलावद्ध दुस्प्रचार गर्ने गरेको कुरा पनि स्पष्ट गर्न चाहन्छौं।

सम्माननीय प्रधानमन्त्रीज्यूका सचिवालयका सदस्यहरू सबै प्रकारका कुप्रचार, आरोप र चुनौतीहरु सामना गर्न तयार छौँ। हामीलाई विश्वास छ, छानविन समितिले निर्धारित समयमा काम गर्ने छ, सत्य सबैसामु छलङ्ग हुनेछ, दोषी कोही छुट्ने छैनन् र कुप्रचार एवं भ्रमका सम्पूर्ण पर्दा च्यातिनेछन्। धन्यवाद।
-प्रम सचिवालय

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?