नेतृत्वमा रहेका नेताहरूको संघीयताप्रतिको चिन्ता हालका दिनहरूमा निरन्तर अभिव्यक्त हुँदै आइरहेको छ । यसको अन्तर्य के हो भन्ने सम्बन्धमा जनस्तरमा विमर्श हुनेगरेको छ । उहाँहरूले गर्ने गरेका चिन्ता प्रणालीप्रतिको चिन्तन र चिन्ता होइन यो केबल स्वार्थको चिन्तामात्र हो भन्ने धेरैलाई लागेको छ । यस व्यवस्थाका विरुद्धमा कतैबाट कुनै प्रकारको खतरा भएको जस्तो बाहिर देखिएको छैन, भित्री रूपमा उहाँहरूलाई त्यस्तो संकेत प्राप्त भएको भए फरक कुरा हो । नत्र पटक-पटक यही विषयको पुनरावृत्ति गरेर अभिव्यक्ति आइरहनु औचित्यपूर्ण होइन । एकजना दुर्गा प्रसाईको चेतावनीदेखि नै सरकार र दलका शीर्षनेताहरू आत्तिनु, अतालिनुपर्ने कारण छैन ।
भएभरको राज्यशक्तिको प्रयोग गरेर उक्त आन्दोलन दबाउने काम सरकारले गररिहेको छ । सुरुका दिनमा आन्दोलनले गति लिन खोजेको थियो तर त्यो विस्तारै आफैं निष्तेज बन्दै जाने पक्का थियो तर सरकारले कर्कलामाथि बञ्चरो चलायो । प्रसाईको फतरफतर अझै बन्द भएको चाहिँ छैन । एउटा कुरा के चाहिँ निश्चित हो भने यदि उक्त आन्दोलनले राम्रो नेतृत्व पाएको भए सरकारलाई आन्दोलन दबाउन सजिलो हुने थिएन, त्यो पक्का हो । एकजना गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई वा गिरिजाप्रसाद कोइराला जत्तिका नेता पाएको भए आन्दोलन सफल बन्नसक्थ्यो वा सफलताको निकटमा पुग्नेथियो ।
राम्रो नेतृत्व नपाएकै कारण उक्त आन्दोलन बीचैमा तुहियो । यसो भन्नुपर्ने कारण के हो भने जनता अझै पनि व्यवस्थाको विकल्प खोज्ने बेला भइसकेको छैन भन्ने सोचाइमा छन् । किनभने यो व्यवस्था ल्याउन धेरै नेपाली जनताले बलिदानी दिएका छन् । त्यसकारण धेरै नेपालीहरूलाई यस राज्यप्रणाली वा संघीय गणतन्त्रको माया छ । केही मानिस सडकमा उत्रिएर यसको विरोध गरे । त्यसको पनि कारण छ । त्यो भनेको नेताहरूको भ्रष्टमनोवृत्ति, अकर्मन्यता र नातावाद कृपावाद हो । त्यसो नभएको भए दुर्गा प्रसाईका पछि लाग्नेहरूले ‘मुठ्ठीभर’ को संज्ञा पाउने थिएनन् । तर, सरकारले त्यसो भनेर तिनलाई कम आक्नु भने हुँदैन । त्योसो गर्यो भने सरकारको त्यो ठूलो भूल हुनेछ ।
पञ्चायतकालमा पञ्चहरूले उक्त प्रणालीलाई आफ्नै पितापुर्खाको बपौती नै ठानेका थिए । प्रजातन्त्रको माग गर्नेहरूलाई ‘मुठ्ठीभर’ ‘अराष्ट्रिय तत्व’ ‘भेडाको छाला ओडेका ब्वाँसाहरू’ भन्ने गर्थे । त्यसरी तिनलाई कमजोर देखेर हेप्ताहेप्दै अन्त्यमा आपूm अल्पमतमा परेको उनीहरूले पत्तै पाएनन् । प्रणाली जोगाउन वर्तमानका शीर्षनेताहरूले बैठक गर्ने, सामूहिक अभिव्यक्ति दिने, चिन्ता प्रकट गर्नेजस्ता कार्य गर्दै आएका छन् तर यो व्यवस्थाको भित्रैदेखिको तिन्ता हो वा आफ्नो पद, प्रष्तिठा र प्राप्तिको हो त्यो फरक विषय हो । यदि उहाँहरूबाट वर्तमान राज्य प्रणालीप्रति आत्मैदेखिको चिन्ता प्रकट भएको भए त्यो प्रणाली गयो भने आफ्नो सम्पूर्ण कुरा गुम्ने चिन्ता हो कि भन्ने नेपाली जनताले ठानिरहेका छन् ।
हाम्रा सम्मानित नेताहरूप्रति नकारात्मक सोचाइ राख्नु सर्वदा अनुचित हो तर नेताहरूबाट भएको ब्रहृमलुटको परिदृश्य सबैका सामु छर्लंग भएकाले प्रणालीप्रति होइन नेताहरूप्रति भने जनता वितृष्ण बनिसकेका छन् । यस अवस्थामा नेतृत्वले आफ्नो साख जोगाउन राज्यप्रणालीप्रतिको चिन्ता पटक–पटक व्यक्त गरेको हो भन्ने देखिन्छ । यदि यसो होइन भने नेपालको वर्तमान राज्यप्रणाली वा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कहीँकतैबाट कुनै प्रकारको खतराको संकेत उहाँहरूले प्राप्त गर्नुभएको हुनसक्छ । यदि यसो हो भने उहाँहरूले नेपाली जनताको साथ लिन सक्नुपर्छ र नेता जनता सबैको साझा प्रयासबाट यो प्रणाली जोगाउनुपर्छ । तर, यसको आसय नेपाली जनताले त्यसरी प्रणाली जोगाइदिनु भनेको नेताको प्रणालीमाथिको एकाधिकार जोगाइदिनु होइन ।
प्रणालीको विकल्प होइन नेताहरूको चाहिँ विकल्प जनताले खोज्न सक्छन्, खोजिरहेकै छन् । सधैं तिनै नेताहरूलाई पैँतालीस वर्षका छँदादेखि मत दिएको ती असी वर्षका हुँदासम्म तिनैलाई विजयी बताइरहँदा पद्धतिको विकास हुन नसकेको भनेर जनताले बुझेका छन् । यदि राज्यप्रणाली कमजोर भएको छ भने नेताकै कारणले भएको छ । जनता नेताको विकल्प खोज्दैछन् । त्यसको एउटा सानो प्रतिबिम्बन गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अनपेक्षित ढंगले प्राप्त गरेको मतलाई लिन सकिन्छ । आफ्नो जीवनको सम्पूर्ण समय प्रजातन्त्रकै लागि समर्पण गरेका नेताहरूले यसलाई नबुझ्ने वा बुझेर पनि नबुझेको जस्तो गर्ने हो भने चाहिँ वास्तवमै वर्तमान प्रणालीप्रति खतरा हुनसक्छ । त्यो खतरा अन्यत्रबाट होइन यसको विकल्प खोज्ने नेपाली जनताबाटै हुने हो भन्ने उहाँहरूले ठान्नुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच