पुरन साह/हिटा
जनकपुरधाम । त्रेता युगमा मार्ग शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज (आइतबार) देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदै छ । यसैगरी, मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विशेष विधिपूर्वक मनाइँदै छ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनक नन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् ।
त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभएको थियो । शिव धनुषलाई भाँचेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । सीतालाई छोरी-बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।
त्रेता युगमा माता सीता र भगवान् श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्षजस्तै यो वर्ष पनि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सव आयोजना गरिएको छ । विवाह पञ्चमी महोत्सवअन्तर्गत शुक्रबार माता सीताको मटकोर विधिको तयारी गरिएको थियो ।
शनिबार ऐतिहासिक गंगासागर पोखरीमा सीताको मटकोर गरिएको थियो । विवाह महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रंगभूमिमा पुर्याइन्छ । त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ ।
रंगभूमिमा स्वयंवर भएपछि सीता-रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको डोला शोभा यात्रामा मिथिला क्षेत्रसँगै विभिन्न स्थानलगायत भारतीय श्रद्धालुहरू समेत सहभागी हुने गर्छन् । त्रेतायुगको झझल्को दिने उक्त विवाहमा नेपाल-भारतका लाखौँ श्रद्धालु सहभागी छन् ।
महोत्सवको पाँचौँ दिन शनिबार सन्ध्या मटकोर गरिएको थियो भने आज अपराहृन सीता स्वयंवर तथा रात्रिमा राम र सीताबीच मिथिला परम्पराअनुसार विवाह हुनेछ ।
मंसिर २६ गतेबाट विधिवत सुरु भएको सीताराम विवाह पञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेको छ । शनिबार पाँचौँदिन मटकोर भएपछि आज (आइतबार) छैटौँ दिन राम र जानकीको विवाह र सोमबार राम कलेवा गरी विवाह पञ्चमी महोत्सव विधिवत सम्पन्न हुनेछ ।
अन्नबाट ११ हजार वर्ग फिटको सीता-रामको प्रतिमा निर्माण
त्रेता युगमा भएको राम सीताको विवाहको सम्झानामा जनकपुरमा मनाइने विवाह पञ्चमी महोत्सवको अवसरमा प्रतिमा निर्माण गरिएको छ । प्रतिमा अवलोकनका लागि सर्वसाधारणको घुइँचो लाग्न थालेको थियो । रंगभूमि मैदानको उत्तर-पूर्व कुनामा अन्नबाट सीता-रामको प्रतिमा निर्माण गरिएको थियो । प्रतिमाको लम्बाइ १२० फिट र चौडाइ साढे ९१ फिट रहेको छ । यसमा ११ प्रकारका करिब ७० क्विन्टल अन्न प्रयोग हुने गरिएको छ । प्रतिमा निर्माण दुई नेपालीसहित १० कालिगढले काम गरेका थिए ।
भारतको मध्यप्रदेशका सतिश गुजरले प्रतिमा निर्माणको नेतृत्व गर्नुभएको थियो । गुजरकै नेतृत्वमा गत वर्ष भारतको अयोध्यामा अन्नबाटै १० हजार ८०० वर्ग फिटको सीता-रामको प्रतिमा बनाइएको थियो । अन्नबाट निर्माण भएको सीता-रामको प्रतिमामा कुनै रंग प्रयोग गरिएको छैन । जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले ११ प्रकारको अन्नबाटै रंग संयोजन गरिएको जानकारी गराउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज साहले विवाह पञ्चमी भव्यताका साथ मनाउने गरिएकोमा प्रतिमाले झन् आकर्षण थपेको जिकिर गर्नुभयो । ‘कुनै समयमा यसै स्थानमा सीता र रामको स्वयम्बर आयोजना गरिएको थियो, अहिले यस स्थानमा प्रतिमा निर्माण गरिएको छ’, उहाँले भन्नुभयो, ‘यो सुखद संयोग बनेको छ ।’
भारतीय कलाकारले निर्माण गरेको सो प्रतिमाले नेपाल-भारतको साझा संस्कृतिलाई दर्शाइरहेको वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मिणाले बताउनुभयो । सो प्रतिमा बनाएर अन्नको दुरुपयोग गरिएको भन्दै आलोचना पनि भइरहेको छ । तर, प्रतिमा बनाउन प्रयोग गरिएको अन्न खेर नजाने निर्माण समितिले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच