अन्तु डाँडामा पुग्ने पर्यटकको संख्या बढ्दै   

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 2 mins
इलाम । पूर्वी नेपालको पर्यटकीय क्षेत्र अन्तु भ्रमणका लागि पुग्न पर्यटकको संख्यामा वृद्धि आएको छ । अहिले अन्तुमा अहिले दैनिक ५ हजारसम्म पर्यटकहरु पुग्ने गरेका हुन् ।
होटल र होमस्टमा बसेका पर्यटकहरु सूर्यको पहिलो किरणको दृश्यावलोकन गर्न झिसमिसेमै उठेर अन्तुडाँडा तर्फ लम्कन्छन् । अन्तु, समाल्बुङ क्षेत्रका होटल होमस्टेमा रात कटाएका सयौँ पर्यटकको बिहानै अन्तुडाँडामा ताँती हुन्छ ।
ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्य अन्तुडाँडाबाट सूर्योदयको पहिलो किरणको दृश्यावलोकनबाट पर्यटक उत्साहित हुन्छन् । सूर्योदयसँगै कंचनजंघा, भारतीय पर्यटकीय सहर दार्जिलिङ, खसार्ङ, मिरिक नजिकै देखिन्छ । अन्तुमा हिउँद वर्षात नै पर्यटकको बाक्लो उपस्थित हुन्छ । अन्तु भ्रमणको मुख्य सिजन अशोज, कात्तिक, मंसिर, फागुन, चैत्र र बैशाख हो ।
अन्तुडाँडाबाट सूर्योदयको दृश्यावलोकनपछि पर्यटकहरुले चियाबारीको बीचमा रहेको अन्तु पोखरीमा भ्रमण गर्दै आएका छन् । अन्तुपोखरीमा पर्यटकहरुले डुङ्गा सयर गर्दै आएका छन् । सिजनमा दैनिक ५ हजारसम्म पर्यटक अन्तु पुग्ने गरेका छन् । पर्यटकहरुको सेवाका लागि ४३ वटा होमस्टे संचालनमा रहेको होटल ब्यबसायी रुद्र घिमिरेले बताउनुभयो ।
अन्तु यात्रा लागि झापाको चारआलीबाट सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल नजिकै रहेको पालटागीबाट पूर्वतर्फ लाग्नुपर्छ । मेचीराजमार्ग छोडेर १४ किलोमिटरको यात्रापछि अन्तुडाँडा पुगिन्छ । अन्तुमा नेपाल, भारत र भुटानका पर्यटकहरु भ्रमणका लागि पुग्ने गरेका छन् ।
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?