उपत्यकाको विकास एकै पटक हुनुपर्छ : बालेन्द्र साह (भिडियाेसहित)

हिमालय टाइम्स
Read Time = 4 mins

ललितपुर । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको विकास एकै पटक हुनुपर्ने बताउनुभएको छ ।

सोमवार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्ने बताउनु भयो ।

उहाँले उपत्यकाको विकास एकैपटक गर्नका लागि संघीय र स्थानीय कानून बाझिएका कारण असहज भएको बताउनु भयो । उहाँले संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भइरहेकाले फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानूनको बाधा अड्चन फुकाइदिन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गर्नुभयो । उहाँले काठमाडौंको खोला अतिक्रमणमा सरकारले आवश्यक पहल गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका दुई वटा एक आपसमा परस्पर सम्बन्ध भएका महानगरपाकिला हुन् । काठमाडौं एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन, ललितपुर एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन । काठमाडौं उपत्यका बाहिरका मानिसहरुलाई काठमाडौं उपत्यका एउटै हो जस्तो लाग्छ । ललितपुर आएपनि काठमाडौं जस्तो लाग्छ, काठमाडौं गएपनि ललितपुर जस्तो लाग्छ । त्यसैले सम्पूर्ण उपत्यकाको विकास एकै पटक हुनुपर्छ । कोही पहिलो, दोस्रो, तेस्रो भन्दा पनि एकैपटक सबै पालिकाहरु अघि बढ्नुपर्छ । त्यो बढ्न, मेयर, उपमेयर बसेर छलफल गर्दा पनि सक्छौँ तर केही कुराहरु संघीय कानून र स्थानीय कानूनमा बाझिएका छन् । जस्तै फोहोर व्यवस्थापन बञ्चरे डाँडामा गर्दै आएका छौँ । त्यसलाई स्थानीय सरकार आफैँले गर्नेकुरालाई बाधा अड्चन परेको छ, कानूनी बाधा अड्चन फुकाइदिनुहुन सम्माननीयज्युलाई आग्रह र अनुरोध गरेँ । जसकारण उपत्यकाको फोहोर व्यवस्थापन ५ होइन, ५० होइन सयौँ वर्षका लागि दीर्घकालीन होस् भन्ने चाहना छ । काठमाडौंमा खोला अतिक्रमण छ, ललितपुरमा छैन, काठमाडौंमा फुटपाथ अतिक्रमण छैन, ललितपुरमा छ, एकदिन सबै फुक्छ । कुनै अतिक्रमण स्थानीय तहले रोक्न सक्छौँ तर खोला अतिक्रमण सम्माननीय ज्युले चाहनुभयो भने अर्को कार्यक्रममा जान लाग्ने समयजतिमा समाधान हुन्छ । ५ मिनेटदेखि एक घण्टामा मात्रै सकिन्छ । त्यो मेयरहरुले मात्रै सक्दैन । ललितपुरसँगै काठमाडौं पनि बराबर उज्यालो होस् । हामीले गर्ने काम हाम्रो कर्तव्य हो । त्यसैअनुसार बुझ्नुपर्छ ।’

प्रमुख साहले काठमाडौं महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले तीन तहकै सरकारले आवश्यक छलफल र समन्वय गरी अघि बढ्ने हो भने उपत्यकाको विकास चाँडो हुने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?