नेपाली नागरिक विदेशका विभिन्न ठाउँसम्म फैलिन पुगेका छन् । यसलाई एक प्रकारले मानवीय क्रियाकलापको निरन्तरता नै हो भन्ने पनि मान्न सकिएला । हुन त हो, मानिस स्वभावैले घुमन्ते प्राणी हो । यही कारणले त मानिस अहिले जुन ठाउँमा बसिरहेका छन् तिनका पुर्खाहरू बारे खोजी गर्ने हो भने ती त्यस ठाउँका बासिन्दा थिएनन्, अन्यत्र कतैबाट आएका थिए । अवसरको खोजी गर्ने क्रममा आफू बसिरहेको ठाउँभन्दा अर्को ठाउँमा सरेर बस्ने स्वभावले गर्दा अरू-अरू ठाउँमा उसका सन्तानदरसन्तान पुग्ने गर्छन् । यो बसाइँ सराइको प्रक्रिया भयो । बसाइँ सर्ने कारणमा कि बढी विपन्नता कि बढी सम्पन्नता मूलकारणका रूपमा देखापर्न आउँछन् तर यतिमात्र कारणले मानिस बसाइँ सर्ने होइन ।
आफू बसिरहेको ठाउँमा खोलो, पहिरोलगायत प्राकृतिक प्रकोप भएर, आफ्नै नराम्रा व्यवहार र समाजले स्वीकार गर्न नसक्ने काममा संलग्न भएर, शत्रुहरूले लखेटेर, द्वन्द्वको चपेटामा परेर जस्ता अनेकौं कारणले मानिस आफ्नो थातथलो छोडेर अर्को ठाउँमा सर्न सक्छ तर सम्पन्ता र विपन्नता नै यसका प्रमुख कारण देखापर्दै आएका छन् । हाल हाम्रो देशबाट अरू देशमा जानेहरूको लर्को दिनप्रतिदिन बढिरहेको छ तर यस्तो लर्को बसाइँसराइको चाहिँ होइन । श्रम गर्न अरू देशमा जानेहरूको लर्को हो त्यो । केही पश्चिमी देशहरूमा चाहिँ पढ्न र डिभी परेका नेपालीहरू जाने गरका छन् । रहँदा बस्ता त्यसरी जानेहरू त्यतैका बासिन्दा बन्न सक्छन्, अधिकांश बनेका पनि छन् ।
तिनका केही पुस्ता त्यसै बितेपछि तिनीहरू त्यही देशका नागरिक बन्न पुग्छन् । ती भने अन्तर्राष्ट्रिय रूपमा बसाइँ सरेका मानिन्छन् । अन्ततः तिनको राष्ट्रियता र राष्ट्र परिवर्तन हुनपुग्छ । यस्ता दृष्टान्त अनेकौं छन् । भारत र नेपालबाट गएका केही व्यक्तिहरू अमेरिका र बेलायतका सिनेटर तथा प्रधानमन्त्री बनेका छन् तर हाम्रोजस्तो गरिब तथा अविकसित देशबाट धेरैजसो नागरिक रोजगारीको अवसरको खोजीमा अर्को देश जाने गरेका छन् । अशिक्षा, गरिबी, बाध्यता, काममा दक्षता नहुनुजस्ता कारणले विदेशमा गएर पनि तल्लोस्तरका, मजदुरीलगायत काम गर्नुपर्ने बाध्यता छ । रोजगारीकै खोजीकै क्रममा विश्वका प्रायः सबै देशमा नेपालीहरू पुगेका छन् ।
अफ्रिकी महादेशका विभिन्न मुलुकदेखि राजनीतिक रूपमा अर्को देशको नागरिकलाई निधेष र तिनको आवश्यकता नठानिएका मुलुकहरूमा बाहेक नेपालीहरू सबै देशमै पुगेका छन् । ती ठाउँहरूमा नेपालीहरू सबैले सम्मानित र मर्यादित पेशा र व्यवसाय गर्न पाएका छैनन् । केही सीमित औंलामा गन्न सकिने एनआरएनएबाहेक सबैको अवस्था राम्रो छैन । दलालको प्रलोभनमा परेर लाखौं पैसा खर्च गरेर अलपत्र परेकाको संख्या त्यत्तिकै छ । नेपालीहरू बेलायती र भारतीय सेनामा संलग्न हुनथालेको भने प्रथम विश्वयुद्धभन्दा पहिलेदेखि हो । त्यसबेला नेपालीहरूको स्थान मर्यादित थियो, पछि विदेश जाने नेपालीहरूको संख्या बढ्दै गयो र जस्तोतस्तो काममा संलग्न हुन थालेपछि भने नेपालीहरू हेपिने वर्गमा पर्दै गएका छन् ।
पछिल्लो समयमा विश्वमा प्रजातान्त्रीकरणको लहर आएपछि विश्वको विशाल राष्ट्र सोभियत संघ पनि दर्जन जति राज्यमा विभाजित हुन पुग्यो । पेरेस्त्रोइका र ग्यास्तोनोस्त लागू भएपछि रुस विभाजित भयो । रुसबाटै विभाजित भएर बनेको राष्ट्र युक्रेनमाथि रुसले हमला गरेपछि यी दुई देशबीच लामै समयदेखि युद्ध भइरहेको छ । नियमसंगत रूपमा दुवै देशका सरकारबीच सम्झौता भएर नेपालीहरूलाई हाम्रो देशले भारत र बेलायतबाहेक अन्यत्र कतै पठाएको छैन तर दलालहरूको विभिन्न प्रलोभनमा परी केही नेपालीहरू रुसी सेनामा समेत भर्ना हुन पुगेका छन् । यस युद्धमा परेर केही नेपालीहरूले ज्यानसमेत गुमाएका छन् ।
यसरी ज्यान गुमाउनेहरूले भरतीय र बेलायती सेनामा रहेर ज्यान गुमाउँदाको जस्तो आर्थिक सहयोग पनि पाउँदैनन् । किनकि, सेवा वैधानिक नमानिएपछि सुविधा पाउने कुनै सम्भावनै भएन । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई यस सम्बन्धमा सजग गराइसकेको छ । सरकालाई जानकारी नभएको हुन सक्छ । किनभने त्यसरी नेपालीहरूलाई त्यहाँ पठाउनेले सरकरालाई जानकारी गराउने सम्भावना नै थिएन । यस्तो अवस्थामा आयोगले भनेझै रुस-युक्रेन युद्धमा फसेका नेपालीहरूको यथासम्भव उद्धार गर्नु आवश्यक छ । नेपालीहरूलाई त्यहाँसम्म पुर्याउने गैरकानुनी बाटो पहिचान गरी त्यस्तो बाटो बन्द गर्नु आवश्यक छ । यसो गरिएन भने त्यहाँ जाने र ज्यान गुमाउने नेपालीहरूको संख्या दिनप्रतिदिन अझै बढ्दै जाने कुरा निश्चित छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच