गिट्टीले धानेको दैनिकी

हिमालय टाइम्स
Read Time = 6 mins
A A- A+

विवेक खड्का/हिटा
दाङ । राम्रो लगाउने, राम्रो खाने र यो चर्को गर्मीमा घरभित्रै बस्ने मन त कसलाई नहोला र । तर, सबैलाई त्यो सौभाग्य हुँदैन । जेठ महिनाको टन्टलापुर घाममा सेवार खोलाको छेउमा गिट्टी कुट्दै गर्दा भेटिनुभएका दाङको घोराही-१३ गिठेपानी निवासी गंगावीर घर्ती मगरलाई भने चर्काे घाम होस् या वर्षाको झरी केही प्रवाह छैन । सधैँ खोलामा ढुंगासँग जोडिनुपर्ने बाध्यता छ । गरिबीले साँझ बिहान खान पुग्दैन, पापी पेट पाल्नै पर्‍यो उहाँले भन्नुभयोे, अहिले यही जिउने सहारा बनेको यही खोला र ढुंगा हो ।

उमेरले ७३ वर्ष पुगिसक्नु भएका ती वृद्ध घामपानी नभनी दिनभर सेवार खोलामा गिट्टी कुटेर आफ्नो र परिवारको घरखर्च चलाउँदै आउनुभएको छ । बिहान ढुंगाहरू जम्मा गरेर आउँछु दिनभर तिनैलाई कुटेर गिट्टी बनाउँछु उहाँले भन्नुभयोे, गिट्टी कुट्दा हतौडाले कहिले हातमा चोट लाग्छ, कहिले औँलाहरूमा, हाम्रा दुःख हेर्ने को होला, उहाँको दुखेसो छ । उहाँ मात्रै होइन पछिल्लो समयमा घोराही उपमहानगर-पालिकाको वडा नं. १३ सेवार खोला आसपासका आर्थिक अवस्था कमजोर भएका स्थानीयवासी गिट्टी कुटेर जीवन निर्वाह गर्दै आइरहेका छन् । स्थानीयस्तरमा रोजगारीको अवसर नहुँदा र खेतीपाती गर्नलाई जग्गा जमिन नहुँदा दशक पहिलेदेखि स्थानीयहरूले दैनिक सेवार खोलाको किनारमा गिट्टी कुटेर आफ्नो जीविकोपार्जन गरिरहेका छन् ।

थुप्रै दुःख कष्ट मोलेर भए पनि खोला किनारमा गिट्टी कुटेर जीविकोपार्जन गर्नेको संख्या बढ्दै गएको छ । पहाडबाट तराईमा झरेको १० वर्षभन्दा बढी भयो त्यही बेलादेखि गिट्टी कुटेर घरपरिवारको खर्चको जोहो गरिरहेको लीलावती मगरले बताउनुभयो । न्यून आय भएका साना केटाकेटीदेखि ७५ वर्षसम्मका वृद्धवृद्धाहरू गिट्टी कुट्नकै लागि सेवारखोला आउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो– घरमा कमाउने कोही छैन, छोराहरू घरमा त्यसै बसेका छन् रोजगारी पाउँदैनन् घर गुजारा त चलाउनुप¥यो कहाँबाट ल्याउने त्यहिभएर दिनभर यही खोलामा गिट्टी कुट्छौँ अनि साँझ बिहानका लागि चामल दाल किनेर लैजान्छौँ ।

अहिले सेवारखोलको किनारमा करिब १५/२० परिवारका ५० भन्दा बढी स्थानीय महिला, पुरुष, केटाकेटी र वृद्धवृद्धाहरूको रोजगार चलेको छ । यद्यपि, सुरक्षा, स्वास्थ्य र आवश्यक पर्ने औजारको अभावले उनीहरूलाई निकै कठिनाइ भइरहेको छ । उनीहरूले आफूले कुटेर बनाएको गिट्टी एक ट्याक्टर बराबर तीन हजार पाँच सयमा बिक्री गर्ने गर्दछन् । क्रसर नचलेको बेला केही महँगोमा जाने गरे पनि क्रसर चल्दा भाउ निकै घट्ने गर्दा मिहिनेत धेरै लाग्ने गरेको सेवारगाउँकै स्थानीय महिला चन्द्रकली पुनले बताउनुभयो ।

आँखासमेत राम्रोसँग देख्न नसक्ने ७० वर्षीया वृद्धा लालमाया बुढाले आफू आठ वर्षदेखि सोही खोलामा गिट्टी कुटेर गुजारा चलाइरहेको बताउनुभयो । उहाँले घरमा कमाउने कोही नहुँदा केटाकेटीहरूको पालनपोषण, शिक्षादीक्षा, स्वास्थ्य सबै खर्च चलाउन हम्मे–हम्मे परेपछि घर गुजारा चलाउनकै लागि गिट्टी कुट्न सुरु गरेको बताउनुभयो । अहिलेसम्म भत्ताको कागज बन्न नसक्दा सरकारको एक पैसा पनि आफूले नपाएको गुनासो उहाँको छ ।

चाडपर्वका बेला वा अत्यावश्यक काम पर्दाबाहेक वर्षैभरि खोलामै बिताउने ठकुल्लाले हातमा लागेको चोटका दाग देखाउँदै भन्नुभयो । यो काम असाध्यै जोखिमपूर्ण छ तर के गर्नु बाध्यता छ । वर्षापछिको समयमा अलि धेरै ढुंगा भेटिने भए पनि त्यत्तिकै बढी कष्टपूर्ण हुन्छ ।

उहाँले थप्नुभयो, हाम्रा दुःख हामीसँगै छन् कसले सुन्छ, पत्रकार भन्ने धेरैपटक आए हाम्रा दुःख हेरेर गए तर चुनावका बेला देखिने नेता भने कोही आएनन् । आफूहरूले गिट्टी कुट्न सुरु गरेदेखि अहिलेसम्म थुप्रै सरकार फेरिए पनि कसैले आफ्ना बारेमा नसोचेको उनीहरूको गुनासो छ । स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूले त आफ्ना समस्याहरूको समाधान गर्छन् भन्ने ठूलो आशा बोकेको भए पनि चुनाव जितेपछि कोही फर्केर नआएको बुढाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?