
काठमाडौं । नेपाल सितोरियो कराँते संघ, जिल्ला प्रमुख डोजो, लगनखेलको आयोजनामा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता माघ १८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल एपिएफ क्लब) गरी १० टिमका २१० खेलाडीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराउनुभयो । प्रत्येक टिमले २१ खेलाडी सहभागी गराउन पाउनेछन् ।
एकल र टिम कातासहित पुरुषमा नौ र महिलामा आठ गरी जम्मा १७ स्पर्धामा खेल हुनेछ । टिम च्याम्पियनले एक लाख तथा उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । पुरुष/महिलामा उत्कृष्ट हुने खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने जनाइएको छ ।
आयोजक र गोदावरी नगरपालिकाबीच चार संस्करण प्रायोजन गर्ने पूर्वसहमति बमोजिम तेस्रो संस्करणका लागि पनि मंगलबारै सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आयोजकका अध्यक्ष श्रेष्ठ र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार मुख्य प्रायोजक गोदावरी नगरपालिकाले १५ लाख सहयोग गर्नेछ ।
आयोजकका अनुसार सातदोबाटोस्थित कराँते हलमा हुने तीनदिने प्रतियोगिता सञ्चालन गर्न करिब ५५ लाख रुपैयाँ खर्च हुनेछ । प्रतियोगिताका परिकल्पनाकार एवं बागमती प्रदेशका सांसद मिनकृष्ण महर्जनले प्रतियोगिता नेपालकै स्तरीय प्रतियोगितामध्येको एक भएकाले सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच