बागलुङ जिल्ला बागलुङ नगरपालिका-९ तित्याङ स्थायी घर हुनुभएकी उत्साह घिमिरे काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन दर्शकमाझ पस्किरहनुभएको छ । स्नातकोत्तर उत्तीर्ण गर्नुभएकी घिमिरेले मोडलिङ क्षेत्रमा आफूलाई स्थापित गर्नुभएको छ । लोकप्रिय गायिका स्वरूपा रसाइली र लक्ष्मी विश्वकर्माको स्वर एवं वरिष्ठ संगीतकार बिबि अनुरागीको संगीतमा रहेको गीत ‘रमझम’ एल्बमबाट मोडलिङ क्षेत्रमा प्रवेश गर्नुभएकी घिमिरेले थुप्रै गीतका भिडियोमा आफ्नो कला पस्किनुभएको छ । उहाँले अहिलेसम्म तीन दर्जनभन्दा बढी म्युजिक भिडियोहरूमा अभिनय गर्नुभएको छ । थुप्रै मान-सम्मान र अवार्ड प्राप्त गर्न सफल हुनुभएकी उहाँ एउटा राम्रो कलाकार हुनका लागि आफूमा क्षमता हुनुपर्ने धारणा राख्नुहुन्छ । जुनसुकै क्षेत्रमा पनि सफलता प्राप्त गर्नका लागि जिम्मेवार, अनुशासन, इमानदारीता र कामप्रतिको लगाव मुख्य कुरा रहने उहाँ बताउनुहुन्छ । जस्तोसुकै भूमिकामा पनि न्याय गरेर अभिनय गर्न सक्ने क्षमता हुनुभएकी उहाँ नृत्यमा पनि त्यत्तिकै पारंगत हुनुहुन्छ । नेपाली कला क्षेत्रमा आफ्नै पहिचान बनाउँदै अघि बढिरहनुभएकी उत्साह घिमिरेसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
हाल के गर्दै हुनुहुन्छ ?
गीतसंगीत क्षेत्रमा नै क्रियाशील छु, म्युजिक भिडियोहरूमा काम गरिरहेकी छु । यसका अलावा पढाइलाई पनि अगाडि बढाइरहेकी छु, त्यही हो अरू त्यस्तो केही छैन ।
यो क्षेत्रमा कसरी आउनुभयो, कति भयो आएको ?
यो क्षेत्रमा म सानै उमेरदेखि प्रवेश गरेकी हुँ । गाउँमा हुँदा त्यहाँ हुने हरेक सांगीतिक गतिविधिमा सामेल हुने गर्थेँ । नाच्न भनेपछि म हुरुक्कै हुन्थेँ । विभिन्नि प्रतियोगितामा भाग लिने गर्थेँ । पछि २०६७ सालमा आदरणीय लोकप्रिय गायिका स्वरूपा रसाइली र लक्ष्मी विश्वकर्माको आवाज एवं वरिष्ठ संगीतकार बिबी अनुरागीको संगीतमा रहेको गीत ‘रमझम’ एल्बमबाट मोडलिङ क्षेत्रमा मेरो प्रवेश भएको हो । खासगरी मेरा आदरणीय मामा बिबी अनुरागी त्यसैगरी सानिमा स्वरूपा रसाइली यसै क्षेत्रमा भएकाले उहाँहरूको प्रेरणाका कारण मलाई यस क्षेत्रमा आउन अझै सहज भयो र भइरहेको छ । निरन्तर उहाँहरूकै छत्रछायाँ रहिरहेको छु ।
पहिलोपटक कोसँग काम गर्नुभएको थियो ?
पहिलोपटक आदरणीय मामा संगीतकार बिबी अनुरागी र आदरणीय सानिमा गायिका स्वरूपा रसाइलीसँग उहाँहरूकै सिर्जनामा जोडिएर उहाँहरूसँगै भयो मेरो पहिलो काम ।
अहिले म्युजिक भिडियो त्यति बनिरहेका छैनन्, कत्तिको गाह्रो भइरहेको छ ?
यतिबेला हाम्रो देश नै संकटमा छ । देशमा आर्थिक मन्दी चलिरहेको छ । यस्तो अवस्थामा हाम्रो नेपाली संगीत क्षेत्र पनि स्वभावैले संकटमा छ । पहिले जस्तो अहिले गीतसंगीतमा लगानी भइरहेको छैन, हुने वातावरण पनि छैन । लगानी गरे उठ्ने वातावरण पनि छैन, यसकारण लगानीकर्ता कम्पनी, निर्माताहरू लगानीबाट पछि सरेको स्थिति छ । हामी काम गर्नेलाई गीतसंगीतका लगानीकर्ताले लगानी नगरिदिएपछि अलि अप्ठ्येरो त हुने नै भयो । समस्या नै छ भनौं न ।
कलाकार आफैंमा राम्रो शब्द हो । कलाकार भनेकै कला भएको पात्र वा व्यक्ति भन्ने बुझाउँछ । यसका लागि सर्वप्रथम केही गर्न सक्ने, देखाउन सक्ने कला, प्रतिभा त हुनु नै पर्यो । एउटा राम्रो कलाकार हुनका लागि पहिलो कुरा आफूमा क्षमता हुनुपर्यो, कामप्रति जिम्मेवार, अनुशासन, इमानदारीता र लगाव हुनुपर्छ ।
अहिलेसम्म कति म्युजिक भिडियोमा काम गर्र्नुभयो, केहीको नाम लिनुपर्दा ?
अहिलेसम्म मैले तीन दर्जनभन्दा बढी म्युजिक भिडियोहरूमा काम गरिसकेकी छु । केहीको नाम लिनुपर्दा ‘रमझम तीज, मीठो सम्झना, मिठो बोली, बारीको फूल, नाच्छु बेपत्ता, आमाको छायाँ, जून बनेर आउनु तिमी, बलवान हुँ भन्थेँ, समय रोक्नै सकिनँ, सगरमाथाको देश, दशैँ आयो, ज्वाइँराजा, बागलुङ भकुण्डे, वर्ष दिन बितेको, आयो चेली माइती सम्झेर, यसपालिको तीज, स्वाँह, जोडी परेवा, उड्यो मालचरा, पानी गिलासमा, धादिङ गजुरी, ताली पिटेको, उहिले उहिलेको तीज भाग १ देखि २ सम्म, आमा, सुन्दर बजार कटेसी कुन्छा, पाल्पा तानसेन, मूलको पानी धारो तिरतिरे, तातो तातो चिया, जसलाई मैले, जिरे खुर्सानी, घिनघिन मादल, वनमा सिसौ छ, पोखरा जाँदा तनहुँमा जामुनेलगायत रहेका छन् ।
मोडलिङ क्षेत्रलाई कसरी हेर्नुभएको छ ?
यही क्षेत्रमै केही गर्छु, गर्नुपर्छ भन्ने मनभित्रैबाट चाहना भएको हुँदा यस क्षेत्रमा केही न केही योगदान गर्छु भनेरै यस क्षेत्रमा म काम गरिरहेकी छु । यो क्षेत्र चाहना र प्रतिभा भएकाहरूका लागि त्यसै महत्वपूर्ण हुने नै भयो । मेरो पनि यही क्षेत्रमा केही गर्ने सोच भएकाले यस क्षेत्रलाई मैले महत्वपूर्ण रूपमा लिएकी छु ।
कोसँग काम गर्ने इच्छा छ तपाईंको ?
यो क्षेत्रमा भएपछि काम सबैसँग गर्नुपर्छ, गरिएको पनि छ । हालसम्म योसँग गर्छु, त्योसँग गर्दैन भन्ने त छैन । म काम गर्ने मान्छे हो, भोलि यो काम गर्दै जाँदा जोसँग पनि गर्न सकिन्छ, अहिले योसँग नै गर्छु भनेर तोक्नुपर्छ भन्ने छैन ।
राम्रो कलाकार हुनलाई के कुरा चाहिन्छ भन्ने लाग्छ ?
कलाकार आफैंमा राम्रो शब्द हो । कलाकार भनेकै कला भएको पात्र वा व्यक्ति भन्ने बुझाउँछ । यसका लागि सर्वप्रथम केही गर्न सक्ने, देखाउन सक्ने कला, प्रतिभा त हुनु नै पर्यो । अब एउटा राम्रो कलाकार हुनका लागि पहिलो कुरा आफूमा क्षमता हुनुपर्यो, कामप्रति जिम्मेवार, अनुशासन, इमानदारीता र लगाव हुनुपर्छ जस्तो लाग्छ मेरो व्यक्तिगत विचारमा ।
यस क्षेत्रबाहेक तपाईंको रुचि कुन विषयमा छ ?
मान्छेसँग रुचिहरू विभिन्न हुन्छन् । यो रुचि भन्ने विषय यस्तो रहेछ कि समय, परिस्थिति र जिन्दगीका उतारचढावसँगै कुनै बेला फेरिन सक्ने, बदलिन सक्ने पनि हुँदारहेछन् । हुन्छन् पनि, मैले यसबाहेक त्यस्तो अरू विषयमा सोचेकी छैन, अब हेरौँ भोलिका दिनमा के हुन्छ, त्यो त समयले बताउला ।
जीवन के हो ?
जीवन एक शब्दमा भन्नुपर्दा जीवन नै हो तर जिन्दगीलाई मान्छेहरू आ–आफ्नो ढंगले परिभाषित गरिरहेका हुन्छन्, आफ्ना भोगाइअनुसार पनि गर्छन्, मैले बुझेको जीवन एउटा सुन्दर फूल हो, फूल फुल्छ सुन्दरता दिन्छ तर एक दिन ओइलाएर जान्छ । हो मानव जीवन पनि एक दिन ओइलाएर त जान्छ नै, यो अकाट्य कुरा हो । जीवन सुखदुःख, हाँसोआँसु र खुशीको साझा चौतारी हो । मैले जीवनलाई यसरी परिभाषित गरेकी छु ।
चलचित्रतर्फ पनि केही सोच्नुभएको छ कि ?
मोडलिङमै छु । मोडलिङ र चलचित्र अन्तरसम्बन्धित विषय भएकाले यी दुई विषयसँगै जोडिने कुरा स्वाभाविक जस्तो लाग्छ । फरक यति हो मोडलिङ क्षेत्रको दायरा सीमित छ भने चलचित्रको दायरा फराकिलो छ । त्यसैले सानो क्षेत्रबाट ठूलो क्षेत्रमा प्रवेश गर्न चाहनु वा चाहने त मानवीय स्वभाव नै हो । यो रहर, चाहना र इच्छा हुन्छ, ममा पनि नहुने भन्ने त भएन । चाहना त छ नै तर हेरौँ भोलि चलचित्रका लागि पनि काम गर्ने अवसर जुटेको खण्डमा काम गर्छु नै, एक्कासि ठूलो सपना देखेर पनि हुँदैन ।
यहाँले यो क्षेत्रमा लागेर थुप्रै अवार्ड र सम्मान प्राप्त गर्न पनि सफल हुनुभएको छ नि ?
हो, काम गर्दै जाँदा विभिन्न सम्मान र अवार्ड प्राप्त भएका छन् । संगीत क्षेत्रमा काम गर्दै जाने क्रममा मैले विभिन्न अवार्ड, सम्मान प्राप्त गरेकी छु । आठौं राप्ती म्युजिक अवार्ड, पब्लिक च्वाइस अवार्ड-२०७९, सर्वाेत्कृष्ट मोडल महिला तेस्रो नाट्यश्वरी अवार्ड-२०७९, सर्वाेत्कृष्ट मोडल महिला, चौथो एपिक म्युजिक अवार्ड-२०७९, सर्वाेत्कृष्ट मोडल महिला, प्रथम जय प्राप्ति म्युजिक अवार्डजस्ता अवार्ड प्राप्त भएका छन् । यस्तै सम्मानमा पुष्पाञ्जलि शरद मेला-२०७९, रामेछाप सांस्कृतिक कलाकार समाज-२०७९, एक्टिभ इन्टरनेसनल प्रालि-२०७९ प्राप्त भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच