पुरन साह/हिटा
जनकपुरधाम । सत्तारूढ नेपाली कांग्रेस मधेश प्रदेशको बिहीबारदेखि धनुषाधाममा सुरु भएको प्रथम सम्मेलनको उद्घाटनका क्रममै किचलो देखिएको छ । प्रदेश सभापति कृष्ण यादवले एकलौटी रूपमा पेलेर अघि बढेको भन्दै डा. शेखर कोइराला पक्षले सम्मेलनको उद्घाटन सत्र नै बहिष्कार गरेको छ । सभापति यावदविरुद्ध कोइराला पक्ष उत्रिरहँदा सम्मेलनको उद्घाटनमा आसनग्रहणका क्रममा पनि विवाद भएको छ । मर्यादाक्रमलाई लिएर विवाद हुँदा कोइराला पक्षले उद्घाटन सत्र नै बहिष्कार गरेको हो ।
केन्द्रीय सभापति शेरबहादुर देउवाको विरोध गर्दै उद्घाटनस्थलमै कोइराला पक्षले पम्प्लेटसहित प्रदर्शन गरेका थिए । आसनग्रहणका क्रममा कोइराला पक्षका नेताहरूले बहिष्कार गरिरहँदा अर्का नेता विमलेन्द्र निधि पनि मञ्चमा बस्न मान्नुभएन । उहाँको नाम पटक-पटक उद्घोषकले लिए पनि निधि आसनग्रहणको मर्यादाक्रमलाई लिएर असन्तुष्ट भएर मञ्चमा जानुभएन । कतिपयले निधि कोइराला समूहतर्फ जान सक्ने संकेत त गरेको होइन भन्ने गाइँगुइँ गरिरहेका थिए भने कतिपयले कार्यक्रम स्थल जनकपुरधाम भए पनि नेता निधि र धनुषा सभापति योगेन्द्र पजियारलाई मञ्चमा प्राथमिकता दिन नसक्नु भूल भएको टिप्पणी गरिरहेका थिए । कोइराला पक्षका नेता रञ्जित कर्णले मधेश प्रदेश कार्यसमितिको सम्मेलनमा वरिष्ठ नेता डा. कोइरालालाई विभिन्न बहाना बनाई बेवास्ता गरिएको भन्दै आपत्ति जनाउनुभएको थियो । यसअघि बुधबार प्रदेशका आठ नेताले मर्यादाक्रमलाई लिएर ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।
स्थानीय तिरहुतीयागाछी मैदानमा आयोजित सम्मेलनको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्रीहरू सहभागी हुनुहुन्थ्यो ।
मधेश प्रदेशका आठ जिल्लाका ८२५ जना प्रतिनिधिको सहभागिता रहेको सम्मेलनमा प्रदेश समितिको राजनीतिक, सांगठनिक, आर्थिक प्रतिवेदनमाथि छलफल गरिने प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिनुभयो । सम्मेलन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विविध सवालमाथि गम्भीर छलफल गरी महत्वपूर्ण सन्देश प्रवाह गर्न सफल हुने विश्वास मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहनुभएका सभापति यादवले बताउनुभयो । आज (शुक्रबार)सम्म चल्ने सम्मेलनमा आठवटै जिल्लाका प्रतिनिधि सहभागी छन् ।
कांग्रेसभित्रको अन्तर्घात अन्त्य गरौँ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको अन्तर्घात अन्त्य गरेर कांग्रेसलाई भोलिका दिनमा भरसक ठूलो पार्टी बनाउन आहृवान गर्नुभएको छ । बिहीबार कांग्रेसको मधेश अधिवेशनमा सम्बोधन गर्दै उहाँले अहिलेको समानुपातिक र समावेशी प्रणालीका कारण कसैको पनि बहुमत आउने सम्भावना धेरै कम रहेको बताउनुभयो । ‘अहिले नेपाली कांग्रेस पहिलो पार्टी भएको छ । कांग्रेसले बहुमत ल्याउन सकोस्,’ उहाँले भन्नुभयो । अहिले कांग्रेस जसरी सबैभन्दा ठूलो पार्टी छ, आगामी दिनमा पनि ठूलो पार्टीको रूपमा स्थापित गर्न जनकपुर र मधेश प्रदेशबाटै अगाडि बढ्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । सभापति देउवाले नेपाली राजनीतिलाई बलियो बनाउन कांग्रेस लागिरहेको पनि बताउनुभयो ।
अर्को चुनावमा कांग्रेसले हँसिया हथौडा बोक्दैन : महामन्त्री थापा
मधेश अधिवेशनमा सम्बोधन गर्दै महामन्त्री गगन थापाले कांग्रेसले अर्को चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने दोहोर्याउनुभएको छ । ‘लेखेर राख्नुहोस्, कांग्रेसले अर्को चुनावमा कुनै पनि दलको छाता ओड्नेवाला छैन । कांग्रेसले अर्को चुनावमा साइकल चलाउनेवाला छैन । हँसिया हथौडा बोक्नेवाला छैन । कांग्रेसले केवल रूख हेर्नेवाला छ । रूखमा छाप लगाउनेवाला छ । गाछीमा छाप लगाउने कांग्रेस बनाउनुपर्ने छ,’ उहाँले भन्नुभयो । थापाले २०८४ आउन चार वर्ष बाँकी रहेकाले त्यसको चिन्ता लिनु नपर्ने बताउनुभयो । तर, कांग्रेसले आफूले जितेका पालिका, प्रदेश सरकार तथा संघीय सरकारबाट काम गरेर देखाउनुपर्ने बताउनुभयो । थापाले आज जनता कुशासनले रिसाइरहेको बेलामा जनतालाई पछाडि फर्काउनुपर्छ भन्नेहरू चाहिँ गणतन्त्र खारेज गरौँ भनिरहेको भन्दै कटाक्ष गर्नुभयो । जनताले हरेक दिन बिहान उठ्दै गर्दा नयाँ नयाँ काण्ड सुन्ने गरेको तर जनतालाई पछाडि फर्काउन चाहनेहरूले त्यसैलाई देखाएर गणतन्त्र खारेज गर्नुपर्छ भन्ने गरेको बताउनुभयो ।
यस्तै, सम्मेलनमा उपसभापति धनराज गुरुङले मधेशलाई माथि उठाउनुपर्ने बताउनुभयो । मिसन ०८४ होइन मिसन सुशासन बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । ‘सरकारले सुशासनको अभियान चलाएको छ । अब भ्रष्टाचारका फाइल खोल्दै जाने हो । सबै कुरामा विरोध गरेर हुँदैन,’ कानुनमन्त्रीसमेत रहनुभएका गुरुङले भन्नुभयो । मन्त्री गुरुङले संघीयतासम्बन्धी कानुन चाँडै बनाउने बताउनुभयो । ‘संघीयतासम्बन्धी कानुन बनाउँछु । हिउँदे अधिवेशन ढिलो हुने अवस्थामा अध्यादेश ल्याउँछु । संघीयतासम्बन्धी कानुन बन्छ, बन्छ,’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच